ad ad

लुम्बिनी


चट्याङको आवाजले अझै झस्काइरहन्छ

चट्याङको आवाजले अझै झस्काइरहन्छ

फाइल तस्बिर


नेपालखबर
भदौ १६, २०७९ बिहिबार १३:२७, देउखुरी

तीजको रौनक जताततै थियो। तीजमा माइती घर आएका तथा गाउँकै रहेका महिला दिदीबहिनी जम्मा भएर दिउँसो गाउँको सालडाँडामा पुगेर नाचगान गरेर बेलुकी घर फकिँदै गर्दा चट्याङले दुई किशोरीलाई एकै चिहान बनायो।

यही भदौ १३ गते मङ्गलबार (तीजको दिन) बेलुका घोराही–१२ गुरौँगाउँका १२ महिला, बालबालिका चट्याङमा परेका थिए।

मङ्गलबार साँझ साढे ५ बजे चट्याङ लागेर दुई जनाको ज्यान गयो। नौ जना घाइते भए। सोही घटनामा घाइते भएकाको मन अझैसम्म झस्किरहन्छ।

तीजको दिन रातो साडी लगाएर नाच्ने रहरसँगै दिदीबहिनी टिकटक बनाउँदै रमाइलो गरेको बेलाको दृश्य मोबाइलमा हरेर  टोलाउँदै आँशु पुछ्दै गरेकी घोराही–१२ गुरैकी जयन्ती घर्तीले भनिन्, ‘सँगै नाचेको भिडिओ टिकटकमा राख्ने रहर पूरा नहुँदै बहिनीलाई आँखा अगाडि गुमाउनुपर्यो, मनै थाम्नै सकिएको छैन।’ 

१६ वर्षीया बहिनी दीपा घर्तीले चट्याङमा परेर अकालमा ज्यान गुमाउनुपर्यो। आँखामा राखे पनि नबिझाउने बहिनी गुमाउँदा एक्लै भएको उनले बताइन्। यतिबेला गुरौँगाउँ नै शोकमा परेको छ।

दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको आकस्मिक कक्षमा यमकुमारी साह उपचाररत भेटिइन्। उनलाई चट्याङ लागेको करिब २४ घण्टा बितिसकेको छ। मङ्गलबार साँझ ५ बजे घटना भएको थियो। उपचारका लागि घोराही ल्याउँदा बुधबार साँझ ५ बजेको थियो।

गुरौँगाउँबाट उनीसहित नौ बिरामीलाई घोराहीबजार ल्याउन २४ घण्टा लाग्यो। यमकुमारीलाई चट्याङ लाग्दा आफूसँगै रमाइलो गर्न गएकी १९ वर्षीया छोरी मनीषा साहको घटनास्थलमै मृत्यु भयो।

आँखाअगाडि छोरी गुमाउनुपर्दा उनलाई सम्हालिन गाह्रो भएको छ। यमकुमारीका चार छोरी चट्याङमा परेकामा दुई महिनाकी छोरी जेनिसालाई पनि चट्याङले घाइते बनाएको छ।

‘नाचेर रमाइलो गर्ने भनेर सालडाँडाको नयाँ बस्तीमा दिउँसो २ बजेदखि नाच्न गएका थियौँ, ठूलो पानी पर्न थालेपछि साँझ ५ बजे घर फर्किने बेलामा अचानक चट्याङले हान्यो, हामी सबै ढल्यौँ, होस आउँदा नजिकै रहेकी छोरी जलेर प्राण त्यागिसकेकी थिइन्’, उनले भनिन्, ‘चट्याङको चपेटामा परेका सबै बेहोस भएका थियौं। अहिले शरीर थलिएको छ, खुट्टा सुन्निएका छन्। त्यो घटनाले मन स्थिर हुनसकेको छैन।

घाइतेलाई उपचारका लागि समयमै अस्पताल पुर्याउन सकिएन। त्यो ठाउँ भौगोलिक रूपमा विकट छ। सडक र सञ्चारको सुविधा छैन। घटना भएपछि गाउँलेका घरघरमा खबर गर्न हिँड्दाहिँड्दै थकाइ लागेको थियो। साँघुरो कच्ची बाटोका कारण डोको र कपडाको झोलुङ्गा बनाएर घाइतेलाई अस्पताल ल्याउनुपरेको सोही घटनामा परेकी घोराही–१२ की  बेलकुमारी घर्तीले बताइन्। 

‘घटना भएपछि आकुलव्याकुल गुरौँवासी रातभर सुत्न सकेनौँ। घाइतेलाई उपचारका लागि अस्पतालसम्म पुर्याउन पनि सकेनौं’, उनले भनिन्, ‘गाउँका युवा, बलिया सबै रोजीरोटी र कामको सिलसिलामा विदेशी भूमिमा गएका छन्। गाउँमा महिला, बालबालिका र ज्येष्ठ नागरिक मात्रै छौं।’

सोही वडाका वडाध्यक्ष द्रोर्ण बहकरीले आफ्नो वडाको पीडा देखेर निकै दुःखी भएको बताए। यसका लागि नगर कार्यपालिकाबाट दुर्गमका नागरिकको आधारभूत सेवाका लागि विशेष पहल गर्न लगाउने वचन दिए। ‘कहिले पनि त्यो ठाउँमा फोन लाग्दैन, बिजुली बत्तीको पनि व्यवस्था छैन, खानेपानीको समस्या पनि उस्तै छ’,  उनले भने, ‘अब कसरी हुन्छ गुरौँका नागरिकका लागि केही गरेरै छाड्नेछु।’

घाइते सबैको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ। बिरामीको उपचार गर्दा अस्पतालमा लाग्ने सबै खर्च घोराही उपमहानगरले बेहोर्ने नगरप्रमुख नरुलाल चौधरीले जानकारी दिए। ज्यान गुमाएकाहरूको परिवारलाई विपद् व्यवस्थापन समितिबाट रकमसहित राहतको व्यवस्था गरिने  उनले बताए। घाइतेलाई मानसिक पीडा धेरै छ। उपचारसँगै परामर्शको काम भइरहेको सम्बद्ध चिकित्सकले बताएका छन्। 

चट्याङले लागेर घाइते हुनेमा १५ वर्षीया निरुता साह, १५ वर्षीया जयन्ती घर्ती, १६ वर्षीया यामुसरी थापा, ३८ वर्षीया यमकुमारी साह रहेको दाङ जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक राजन गौतमले जानकारी दिए। 

यसैगरी सामान्य घाइते हुनेमा ४ वर्षकी जेनिशा साह, १४ वर्षीया अञ्जना घर्ती, १५ वर्षीया सावित्रा वली, ३८ वर्षीया बेलकुमारी घर्ती, ४२ वर्षीया मनकुमारी वली रहेको प्रहरी नायब उपरीक्षक राजन गौतमले जानकारी दिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .