ad ad

राजनीति


भक्तपुरमा हारेपछि ढकालले भनेः सत्ताविरोधी गठबन्धन मुख्य कारण

भक्तपुरमा हारेपछि ढकालले भनेः सत्ताविरोधी गठबन्धन मुख्य कारण

नेपालखबर
मंसिर १५, २०७६ आइतबार ८:२४,

भक्तपुर क्षेत्र नम्बर १ ‘क’बाट प्रदेशसभाको सदस्य पदमा पराजित नेकपा उमेदवार देवीप्रसाद (डीपी) ढकालले सत्ताविरोधी गठबन्धन बनेका कारण प्रदेश सभामा आफू पराजित भएको दाबी गरेका छन्।

नेपालखबरसँग कुरा गर्दै उनले पटकपटक दोहोर्याउँदै भने, ‘अन्य सबै पार्टी एकातर्फ, हामीमात्रै एकातर्फ हुँदा प्रदेशसभा सिट गुमाउनुपर्याे।’

शनिबार भएको उपनिर्वाचनमा डिपी ढकाललाई २ हजार २ सय ४३ मतले पराजित गर्दै कांग्रेसका कृष्ण भँडेल प्रदेश सांसद विजयी भएका छन्। यसअघि २०७४ मंसिरमा भएको निर्वाचनमा तत्कालिन एमालेका हरिशरण लामिछानेले जितेको सो क्षेत्रमा उनको निधन भएपछि उपनिर्वाचन भएको हो। ढकालसँग नेपालखबरका लागि सागर न्यौपानेले गरेको कुराकानी

नेकपाले यसअघि जितेको क्षेत्रमा पराजित हुनुभयो नि?

यसका दुईवटा कारण छन्। पहिलो हामी एक्लै मैदानमा भयौं। विपक्षी पार्टीका साथीहरुले त्यहाँ प्रभाव पार्ने पार्टीसँग गठबन्धन बनाए। जसका कारण सबै एकातिर हामी एकातिर हुनपुग्यौं। दोस्रो, मौन अवधिका बेला विपक्षीहरुले व्यापक मात्रमा चलखेल गरे, जसलाई हामीले रोक्नसक्ने अबस्था नै थिएन।

कस्तो खालको चलखेल?

आर्थिकदेखि विभिन्न खालका चलखेल भएको सूचना आएका थिए। त्यहाँ विभिन्न पार्टीहरुले हाम्राविरुद्ध अनर्गल प्रचार गरे।

तर, यसअघि २८ सय भन्दा बढी मतअन्तरले जितेको ठाउँमा अहिले २२ सय भन्दा बढीमतले पराजित हुनुको कारण यतिमात्रै हो भनेर कसरी पत्याउने?

पार्टी एकता भद्रगोल छ। संगठन तलसम्म बन्न सकेको छैन। सबैलाई क्रियाशील बनाउन सकिएन। चुस्त राख्नुपर्ने संगठनलाई निर्देशन गर्ने र त्यसको पालना गराउने काम हुन सकेको छैन। यसले पनि मतपरिणामलाई असर गरेको हो।

अनि भक्तपुरमा ६ वर्षदेखि अलपत्र सडक योजनाले गर्दा त्यहाँका बासिन्दा नेकपाप्रति आक्रोशित छन् भन्ने प्रतिक्रियाहरु पनि सामाजिक सञ्जालमा आएका छन्, त्यो पनि कारण होला नि?

सडकका कारण हुँदै होइन। नगरकोट सडक क्षेत्रमा पर्ने स्थानबाट हामीलाई पहिलेको भन्दा बढी मत आएको छ। नगरकोटबाट पनि राम्रै मत पाएका छौं। तर, त्यहाँ राप्रपा संयुक्तको राम्रो उपस्थिति थियो। उसले नेपाली कांग्रेससँग गठबन्धन गर्याे, जसकारण २ सय मत नरहेको कांग्रेसका उम्मेदवारले ९ सयभन्दा बढी मत ल्याएका छन्। एउटै क्षेत्रबाट यति ठूलो संख्यामा थप मत आउनु कुनैपनि नतिजा उल्टाउन प्रयाप्त हुन्छ। अर्काे बागेश्वरी क्षेत्रबाट पनि हाम्रो यसअघिको मत भन्दा बढेको छ।

उम्मेदवारी चयनमा पुनर्विचार गर्न शीर्ष नेताहरुसमक्ष नै माग भएको थियो। उम्मेदवारकै कारण कार्यकर्तामा निराशा आएको हो कि होइन?

हाम्रो मूल नेतृत्व हामीसँगै थियो र छ। हामीले निर्वाचनको प्रचारका अन्तिम दिनसम्म शीर्ष नेताहरुसहित फिल्डमै गएर घरदैलो गरेका छौं। त्यसकारण उम्मेदवारीका विषयमा कोही पनि असन्तुष्ट हुनुहुन्न। सबै एकमत भएर लागेका छौं। हारको मुख्य कारण सत्ताविरोधी मनोविज्ञान हो। सत्तारुढ पार्टीका जो उम्मेदवार भएपनि हराउने भनेर विपक्षी पार्टी कांग्रेस लागेको र उसलाई साना पार्टीले सत्ताविरोधी मनोविज्ञानका कारण सबै मत उसैलाई हालेको देखिन्छ। हामीले हाम्रो विरुद्ध अपनाएको रवैया अध्ययन गरेर नयाँ रणनीति बनाउन सकेनौं। सत्तामा भएर हामीले सत्ताविरोधी मनोविज्ञानलाई सम्बोधन गर्न सकेनौं।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .