राजनीति


भक्तपुर प्रदेशसभामा नेकपा, कांग्रेस र नेमकिपाबीच त्रिपक्षीय भिडन्त

भक्तपुर प्रदेशसभामा नेकपा, कांग्रेस र नेमकिपाबीच त्रिपक्षीय भिडन्त

रमेश गिरी
कात्तिक २४, २०७६ आइतबार ६:४९,

आगामी मसिंर १४ गते भक्तपुर–१ प्रदेश सभा (क) मा हुने उपनिर्वाचनमा यसपटक पनि त्रिपक्षीय प्रतिस्पर्धा हुने भएको छ। सत्तापक्ष नेपाल कम्युनिष्ट पार्टी (नेकपा), प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र नेपाल मजदुर किसान पार्टीबीच त्रिपक्षीय प्रतिस्पर्धा हुने भएको छ।

गाविस हुदाँदेखि नै तत्कालीन एमालेको पकड रहेको यो क्षेत्रमा गत प्रदेशसभा निर्वाचनमा तत्कालीन नेकपा (एमाले)का उम्मेदवार हरिशरण लामिछाने विजयी भएका थिए। मष्तिस्कघातका कारण लामिछानेको निधन भएपछि यस क्षेत्रमा रिक्त रहेको प्रदेशसभा सदस्यमा उपनिर्वाचन हुने भएको हो।

प्रदेशसभाको गत निर्वाचनमा (एमाले)का उम्मेदवार लामिछानेले १२ हजार ७८९ मत ल्याएर विजयी भएका थिए भने निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका जीवन खत्रीले नौ हजार ९७७ मत ल्याउएका थिए। नेमकिपाका निरज लवजुले भने सात हजार १९ मत प्राप्त गरेका थिए।

यसपटकको उपनिर्वाचनमा नेकपाले युवानेता एवं पार्टी जिल्ला सचिव देवीप्रसाद (डीपी) ढकाललाई उम्मेदवार बनाएको छ। कांग्रेसले यसअघिको संविधानसभामा उम्मेदवारसमेत बनेका व्यवसायी कृष्णलाल भँडेल र नेमकिपाले पत्रकारितामा समेत सक्रिय रहेका युवानेता निरज लवजूलाई उम्मेदवार बनाएको छ।

नेकपाका उम्मेदवार ढकाललाई यसपटकको निर्वाचनमा पहिलाको जितलाई सुनिश्चित गर्नैपर्ने चुनौती छ। यसका लागि आफू तयार रहेको र नेकपा एक ढिक्का भएर अगाडि बढेकाले जस्तोसुकै चुनौतीलाई पन्छाएर जित सुनिश्चित गर्ने ढकाल बताउछन्।

‘समृद्ध नेपाल, सुखी नेपाली’ को नारालाई पूरा गर्न जनतासमक्ष घोषणापत्र लिएर चुनावी अभियानमा हामिएको बताउँदै ढकालले भने, ‘मेरो नाफाको जिन्दगी भक्तपुरका जनताको सुख र समृद्धिमा खर्च गर्छु, मुख्यरूपमा सङ्गठन र कार्यकर्ताको बल, जनताको विकासप्रतिको चाहना र नेकपाको समृद्ध भक्तपुर बनाउने अभियान नै विजयको मुख्य आधार हुनेछ।’

यसपटकको निर्वाचनमा जित्नैपर्ने पार्टी दबाब रहेका कांग्रेसका उम्मेदवार भँडेललाई विगतको तुलनामा पार्टीको मत बढाउनैपर्ने चुनौती रहेको छ। गत निर्वाचनमा आफ्नै पार्टीका मतदाताहरुले अन्तर्घात गरेका कारण पराजय भोग्नुपरेको दाबी गर्दै कांग्रेस उम्मेदवार भँडेलले यसपटक कुनै अन्तर्घात नहुने भएकाले जित सुनिश्चित रहेको दाबी गर्छन्। यसपटक राप्रपा संयुक्त समर्थन गर्नका लागि छलफल भइरहेको उनको भनाइ छ। राप्रपा संयुक्तको समर्थन रहे भारी मतान्तरले जित्ने उनको भनाइ छ।

विसं २०७० को संविधानसभा निर्वाचनमा भक्तपुर–१ बाट नेमकिपा अध्यक्ष नारायणमान बिजुक्छेसँग पराजित भएका भँडेललाई यसपटक भने नेकपा चुनौती बनेको छ। नेमकिपा आफ्नो प्रतिस्पर्धी नै नभएको उनी बताउछन्।

यता नेमकिपाले पनि आफ्नो पुरानो विरासत कायम गर्छौ भन्दै यसपटकको प्रदेशसभा निर्वाचनमा पहिलो पार्टी हुने दौडमा लागेको छ। भक्तपुरमा दशकौँदेखि पकड जमाएको नेमकिपा प्रदेश निर्वाचन क्षेत्रमा पनि पकड जमाउने कसरतमा छ।

यसअघिको प्रदेशसभा निर्वाचनमा पनि उम्मेदवार रहेर तेस्रो स्थानमा चित्त बुझाएको लवजूलाई नेमकिपाले यसपटक पुनः उम्मेदवार बनाएर चुनावी प्रतिस्पर्धामा ल्याएको छ। राष्ट्रियताको नारा लिएर सत्तामा बसिसकेका दलहरुको भण्डाफोर अभियान सञ्चालन गरेर मत माग्ने भन्दै प्रतिस्पर्धामा उत्रिएको नेमकिपाको भनाइ छ। अर्को उम्मेदवार नपाएर नभई पार्टीका युवा, जुझारु, बौद्धिक वर्गको उम्मेदवार भएकाले यसपटक पनि लवजूलाई नै दोहो¥याएको नेमकिपाको भनाइ छ।

नेमकिपाको पकड देखाउन पनि यसपटकको निर्वाचनमा जित्नैपर्ने बताउँदै लवजू ठूला शासक दलहरुबाट आजित भएका जनताले नेमकिपालाई समर्थन गर्ने भएकाले यसपटक जितेर देखाउने बताउछन्। जनताले वैकल्पिक शक्तिको खोजी गरेकाले त्यो शक्तिको रुपमा नेमकिपा उभिएको उनको भनाई थियो। जनताको हरेक दुःखसुखमा साथ रहँदै जनताको घरदैलोमा पुग्ने नेताको रुपमा आफू चिनिएकाले पनि यसपटक जित सुनिश्चित रहेको उनको दाबी छ।

विगतमा चौथो शक्तिका रुपमा रहेको राप्रपा (संयुक्त) को उम्मेदवार रामशरण लामिछानेको समानुपातिक बन्द सूचीमा समेत नाम रहेको भन्दै निर्वाचन आयोगले उम्मेदवारी रद्द गरेपछि यो निर्वाचनमा राप्रपा संयुक्तको उम्मेदवारी रहेन। त्यसैले पनि राप्रपा (संयुक्त) ले जसलाई समर्थन ग¥यो उसलाई सहज हुने आँकलन पनि गर्न थालिएको छ।

त्यसैगरी यस क्षेत्रमा उम्मेदवारी दिएका साझा पार्टीका सुरज प्रधान, राष्ट्रिय प्रजातन्त्र पार्टीका श्यामप्रसाद नेपाल, नेकपा मालेका सुदर्शन लामिछाने, नेपाली कांग्रेस (बीपी)का मधुसुदन न्यौपाने, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका मिङमार लामा, समाजवादी पार्टीका सुदर्शन कुमार पनि चुनाव प्रचार अभियानमा लागेका छन्। त्यस्तै स्वतन्त्र उम्मेदवारहरु सुजाता देउजा, अर्जुन कोजू, कृष्णराम पोतामाहा, राकेश सुवाल, संगीता पौडेल, उत्तम साखकर्मी, जीवन नेपाली, कृष्णप्रसाद ह्योगो, जीवनचन्द्र अधिकारी, सुमना कार्कीले उम्मेदवारी दिएका छन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad