राजनीति


केन्द्रीय पदाधिकारीका दाबेदार प्रदेशको उम्मेदवार बने, केवल २ मतले ‘कनिष्ठ’सँग हारे

केन्द्रीय पदाधिकारीका दाबेदार प्रदेशको उम्मेदवार बने, केवल २ मतले ‘कनिष्ठ’सँग हारे

फाइल तस्बिर


कृष्ण बहाब
मंसिर २०, २०७८ सोमबार १०:३६, विराटनगर

नेपाली कांग्रेस प्रदेश नम्बर १ को सभापति पदमा संस्थापन इतर समूहबाट राजीव कोइराला उठ्ने लगभग निश्चित भइसकेको थियो।

कांग्रेस प्रदेश १ संसदीय दलका नेतासमेत रहेका कोइराला वरिष्ठ नेता रामचन्द्र पौडेल समूहनिकट नेता हुन्। त्यसैले उनले इतर समूहबाट प्रदेश सभापति पदको आंकाक्षा राख्नु स्वाभाविकै थियो।

त्यसैअनुसार कोइरालाले आफ्नो चुनावी प्रचार पनि थाले।

तर एक्कासि उनकाे स्थानमा केन्द्रीय स्तरमा राजनीति गरिरहेका गुरुराज घिमिरेको चर्चा सुरु भयो।

देश संघीय संरचनामा गएपछि पहिलोपटक गठन गर्न भइरहेकाे प्रदेश समितिलाई कांग्रेसले धेरैवटा अधिकार दिएर शक्तिशाली बनाउने भएपछि केन्द्रीय स्तरका नेताहरूको पनि प्रदेश अधिवेशनप्रति ध्यान तानियो।

यसअघि घिमिरे केन्द्रीय पदाधिकारीमा भिड्ने साेचमा रहेकाे छनक पाएको पौडेल समूहलाई उनको व्यवस्थापन पनि गर्नु थियो। किनकि केन्द्रीय पदाधिकारीमा एक आकांक्षी घटाउन पाए पनि निकै सहज हुने सोच उसकाे थियो। 

यसैकारण अन्तिम समयमा पौडेल समूहले प्रदेश १ को सभापति पदमा घिमिरेलाई उम्मेदवार बनायो।

प्रदेश सभापतिको उम्मेदवारका रूपमा भोट माग्न थालिसकको कांग्रेस सुनसरी जिल्ला सभापतिसमेत रहेका राजीव कोइरालालाई भने मुख्यमन्त्री बनाउने आश्वासन दिएर ‘ब्याक’ गराइयो। 

अन्ततः उनको स्थानमा चुनाव लडेका गुरुराज घिमिरे संस्थापन पक्षका उम्मेदवार उद्धव थापासँग हारेका छन्। राजनीतिक दृष्टिले कनिष्ठ (जुनियर) मानिएका थापासँग केवल २ मतको फरकले घिमिरे हारेका हुन्।  

झापा जिल्लाका निवर्तमान कांग्रेस जिल्ला सभापति रहेका थापा पार्टीका केन्द्रीय सदस्य गुरु घिमिरेलाई हराउँदै प्रदेश १ का सभापति बनेका छन्। 

कांग्रेसको निर्वाचन समितिका अनुसार विजयी थापाले ८४४ मत प्राप्त गरे भने घिमिरेले ८४२ मत ल्याए। 

सुरुदेखि अग्रता लिइरहेका घिमिरेलाई अन्तिम परिणाम आउँदा भने मात्र २ मतले उछिन्दै थापा विजयी भए। 

कांग्रेसको प्रदेश १ अधिवेशन : अन्ततः २ मतले उद्धव थापाले जिते, गुरुराज घिमिरे हारे

को हुन् घिमिरे? 
नेविसंघको राजनीति गरेका गुरु घिमिरे २०५९ मा यसको केन्द्रीय सभापति बने। यसअघि २०५७ सालमा विश्वप्रकाश शर्मा यसका सभापति थिए। त्यसपछि लगत्तै २०५९ सालको नेविसंघको नवौं महाधिवेशनबाट घिमिरे सभापति बनेका थिए। 

२०६२र६३ सालको जनआन्दोलनमा उनले नेविसंघका तर्फबाट गणतन्त्रको नारा लगाउन नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए।

घिमिरे नेविसंघको सभापति हुँदा गगन थापा महामन्त्री थिए। १ पुस ०६० को साँझ गुरुराज घिमिरे, गगन थापा र पुरुषोत्तम आचार्यलाई राजद्रोहको अभियोग लगाइएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .