राजनीति


नयाँ प्रदेश प्रमुखको नियुक्तिले अरु दलसँगको सहकार्य बन्द हुँदैनः पौडेल

नयाँ प्रदेश प्रमुखको नियुक्तिले अरु दलसँगको सहकार्य बन्द हुँदैनः पौडेल

नेपालखबर
कात्तिक १८, २०७६ सोमबार १०:९,

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेल प्रदेश प्रमुखहरुलाई हटाउने सरकारको निर्णयलाई स्वभाविकै रुपमा लिनुपर्ने बताएका छन्।

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस लगायतका दलहरुले प्रदेश प्रमुखहरुलाई एकैसाथ हटाउने निर्णयप्रति आपत्ति जनाईरहेका बेला महासचिव पौडेलले भने सरकारको सो निर्णयलाई स्वभाविकै रुपमा लिनुपर्ने प्रतिक्रिया दिएका हुन्। उनले संवैधानिक प्रक्रिया अनुसारनै प्रदेश प्रमुखहरुको पदमुक्ति र नयाँ नियुक्तिको प्रक्रिया सुरु गर्दा अन्य दलहरुसँगको सहकार्यको बाटो बन्द हुन्छ भन्ने आफूलाई नलागेको पनि बताए।

सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले भने, ‘संवैधानिक व्यवस्था अनुरुपनै प्रदेश प्रमुखहरु पदमुक्त भएका छन र सरकारले मनोनयनको प्रक्रिया पनि अघि बढाएको छ, सरकारले संवैधानिक प्रक्रिया अनुसार सो काम गर्दाखेरी अन्य दलहरुको सरकारसँगको सहकार्यको बाटो बन्द हुन्छ भन्ने मलाई लाग्दैन।’ महासचिव पौडेलले लोकतन्त्रमा सरकारको विरोध गर्न पाईने भएकाले त्यसको आफूले सम्मान गर्ने पनि बताए।

महासचिव पौडेलले प्रदेश प्रमुख सरकारको प्रतिनिधिको रुपमा रहने भएकाले अघिल्लो सरकारले नियुक्ति गरेका प्रमुखहरुलाई हटाउने काम स्वभाविकै भएको तर्क पनि पटक पटक गरे। सरकारले आफ्नो स्पिरिटमा काम गर्ने गरी प्रदेश प्रमुखहरुको चयन प्रक्रिया अघि बढाएको महासचिव पौडेलको भनाई छ। शेरबहादुर देउवा नेतृत्वको सरकारको सिफारिसमा राष्ट्रपतिले नियुक्त गरेका प्रदेश प्रमुखहरुलाई गत आईतबार पदमुक्त गरिएको थियो।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad