बझाङको कालंगा हाइड्रो पावरको सुरुङभित्र फसेका मजदुरमध्ये तीनजनाको शव सशस्त्र प्रहरीले निकालेको छ। थप एक जनाको खोजी हुँदै गरेको प्रहरीले जनाएको छ।
बझाङ जिल्लाको बुङ्गल नगरपालिका–२ दाडिम दहबगरमा रहेको कालंगा जल विद्युत् को निर्माणाधीन इनलेट सुरुङभित्र चार जना कामदार आइतबार दिउँसोदेखि फसेका थिए। प्रहरी र स्थानीयले हिजैदेखि उद्धार प्रयास गरेपनि सफल हुन सकेनन्।
सशस्त्र प्रहरीका प्रवक्ता डीआईजी सुरज श्रेष्ठले सशस्त्रको विशेष उद्दार टोलीले सुरुङको ६ सय मिटर भित्रबाट तीनजनाको शव निकालेको नेपालखबरलाई बताए। उनले सुरुङमा फसेका थप एकको खोजी भइरहेको बताए। ‘केन्द्रले खटाएको उद्दार टोली सुरुङ भित्र पसेको हो,’ श्रेष्ठले भने ‘तीनजनाको शव बरामद भएको छ, थप एकको खोजी जारी छ।’
जिल्ला प्रहरी कार्यालयका अनुसार छ जना कामदारहरु तीनवटा ट्रयाक्टर र एउटा जिपसहित सुरुङमा काम गर्न गएकोमा दुई जना बाहिर निस्किए पनि अरु चार जना सुरुङबाट फर्किन सकेका थिएनन्।दैलेखका कर्णबहादुर शाही, महेन्द्र बहादुर शाही, अछामका महेन्द्र साउद र बझाङका शेरबहादुर धामी सुरुङभित्रै फसेका हुन्।
१५.३३ मेगावाट क्षमताको कालंगा गाड जलबिद्युत आयोजनाको अहिलेसम्म झण्डै ६५ प्रतिशत निर्माण सम्पन्न भईसकेको छ। १० वटा बैकं र अन्य निजि क्षेत्रका लगानीकर्ताहरुको १३ अर्वको लगानीमा निर्माणाधिन आयोजनाको ३ ठाउँमा संरचना निमार्ण भईरहेको छ।
कालंगा ग्रुप अफ कम्पनीजकाे आयाेजना रहेकाे साे हाइड्राे पावरका मुख्य लगानीकर्ताहरुमा उमेश श्रेष्ठ, राजेश श्रेष्ठ, शिवप्रसाद घिमिरे, खगेश्वर बाेहाेरा तिर्थराज चटाैत र विरेन्द्रबहादुर मल्ल रहेका छन्। कम्पनीकाे अध्यक्ष उमेश श्रेष्ठ हुन्। कांलगा सहित याे कम्पनीले शनिगाड, बुङगाल र बागथला हाइड्राेपावर समेत निर्माण गरिरहेकाे छ। यस्तै, एन्जेल इन्जिनियरिङ कन्सल्टेन्सी र एभरेष्ट इन्फ्रास्ट्रक्चर समेत यही कांलगा ग्रुप अफ कम्पनी अन्तर्गत संचालित छन्।

प्रतिक्रिया