राजनीति


फेरि सर्दै कांग्रेस महाधिवेशन, माघमा गर्ने तयारी

फेरि सर्दै कांग्रेस महाधिवेशन, माघमा गर्ने तयारी

केशव सावद
कात्तिक ३, २०७८ बुधबार १६:१५, काठमाडौँ

नेपाली कांग्रेसले १४ औं महाधिवेशनको कार्यतालिका फेरि परिमार्जन गर्नेे भएको छ। निर्धारित कार्यतालिकाअनुसार तल्लो तहका अधिवेशन सम्पन्न हुन नसकेपछि महाधिवेशन पनि सर्न लागेको हो।

गत साउन ३० गतेको केन्द्रीय कार्यसमिति बैठकले निर्धारण गरेको कार्यतालिकाअनुसार अधिवेशनहरु अगाडि बढेका छैनन्। त्यसैले कांग्रेसले अब आगामी माघमा महाधिवेशन गर्ने तयारी गरेको छ। 

सभापति शेरबहादुर देउवानिकट स्रोतले मंसिर दोस्रो साताभित्र ७७ वटै जिल्लाको अधिवेशन र मंसिर मसान्तसम्म प्रदेशको अधिवेशन गर्ने गरी अनौपचारिक छलफल भइरहेको जनाएको छ। 

‘मंसिर ९–१३ मा महाधिवेशन नहुने देखियो। अब महाधिवेशन गर्ने भनिएको मिति मंसिर ९–१३ भित्र सबै जिल्लाको, मंसिर मसान्तसम्म प्रदेशको सक्ने कि भन्ने छ,’ कांग्रेस स्रोतले भन्यो, ‘माघ पहिलो वा दोस्रो साता महाधिवेशन गर्ने खालको अनौपचारिक छलफल चलिरहेको छ। सुझाव पनि यही आइरहेको छ।’

देउवानिकट एक नेताले एक–दुई दिनमै पदाधिकारी र पूर्वपदाधिकारीहरुको बैठक बसेर छठ पर्वलगत्तै रोकिएका अधिवेशनहरु अगाडि बढाउनेगरी तालिका बनाइने पनि जानकारी दिए। ती नेताले तिहारलगत्तै केन्द्रीय कार्यसमिति बैठक बसेर महाधिवेशन कार्यतालिका परिमार्जन गरिने पनि जानकारी दिए। 

‘दसैँअगाडि विवादित १३ जिल्लाको वडा, पालिका र सबै हिमाली जिल्लाको अधिवेशन सक्ने भन्ने थियो,’ तीन नेताले भने, ‘५५÷५६ जिल्लामा वडा÷पालिका अधिवेशन भयो। २१ मध्ये १३ हिमाली जिल्लामा मात्र जिल्ला अधिवेशन भयो। अब छठलगत्तै अघि बढ्छ। आज–भोलि नै पदाधिकारी बैठक बसेर व्यवहारिक ढंगले कार्यतालिका बन्छ।’

कांग्रेस केन्द्रीय सदस्य मीनबहादुर विश्वकर्माले पनि कार्यतालिका परिमार्जनका बारेमा अनौपचारिक छलफल भइरहेको पुष्टि गरे। प्रवक्ता विश्वप्रकाश शर्माले अहिले स्थगित गरिएका अधिवेशनहरु तिहारपछि सुरु हुने जानकारी दिए।

‘चाँडै केन्द्रीय कार्यसमिति बैठक बस्छ। तिहारपछि अधिवेशन हुन्छ,’ उनले नेपालखबरसँग भने। 

क्रियाशील सदस्यता विवाद समाधान नहुँदा सप्तरी, सिरहा, सर्लाही, बारा, पर्सा, रौतहट, धनुषा, महोत्तरी, सुर्खेत, डोल्पा, कैलाली, रसुवा र बाँके गरी १३ जिल्लामा वडा अधिवेशन हुन सकेको छैन। 

जसमध्ये रसुवा, रौतहट र बाराको क्रियाशील सदस्यता सूचीसमेत सार्वजनिक हुन सकेको छैन। कांग्रेसले ६४ जिल्लाहरुमा मात्र अधिवेशन सुरु गरेको थियो। जसमध्ये तराईं र पहाडका जिल्लाहरुमा वडा र गाउँ÷नगरपालिका अधिवेशन सम्पन्न भइसकेका छन्। 

यसअघि कांग्रेसले तराई र पहाडका जिल्लाहरुमा दसैँपछि मात्र गाउँ÷नगरपालिकाभन्दा माथिल्लो तहका अधिवेशनहरु अगाडि बढाइने जनाएको थियो। हालसम्म पालिका अधिवेशन सम्पन्न भएकामध्ये प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा विवाद छ। 

डडेल्धुरामा संस्थापन पक्षले प्रशासनको बलमा अधिवेशन गराएको संस्थापनइतर समूहको आरोप छ। कांग्रेसले हिमाली क्षेत्रमा पर्ने २१ जिल्लाहरुमा दसैँअगाडि नै जिल्ला अधिवेशन सम्पन्न गर्ने गरी कार्यतालिका बनाएको थियो। 

तर, मनाङ, मुस्ताङ, ओखलढुंगा, ताप्लेजुङ, संखुवासभा, दोलखा, हुम्ला, मुगु, कालीकोट, बझाङ, बाजुरा, रुकुम पूर्व र गोरखा गरी १३ जिल्लामा मात्रै अधिवेशन सम्पन्न भएको छ। 

प्रधानमन्त्रीसमेत रहेका सभापति देउवाको निजी निवास बुढानीलकण्ठमा साउन ३० गते बसेको केन्द्रीय कार्यसमिति बैठकले मंसिर ९–१३ मा केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका बनाएको थियो। 

त्यसअघि क्रियाशील सदस्यता विवाद र महामारीका रुपमा फैलिएको कोरोना भाइरसको कारण देखाएर भदौ ७–१० सम्पन्न गरिने भनिएको महाधिवेशन भदौ १६ देखि १९ सम्मका लागि निर्धारण गरिएको थियो।  


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .