ad ad

म्यागेजिन


जब शान्तिमायालाई सांसद पद श्रीमानको लाससँग साटेजस्तो लाग्यो

जब शान्तिमायालाई सांसद पद श्रीमानको लाससँग साटेजस्तो लाग्यो

शान्तिमाया तामाङ (तस्बिरः विक्रम राई)


समर्पण श्री
कात्तिक ४, २०७८ बिहिबार ९:९, काठमाडौँ

‘मेरो त बिहे हुने भयो। केटा कांग्रेसका हुन्,’ किशोरी शान्तिमाया तामाङले गाउँ कमिटीका कमरेडहरूसँग खुलासा गरिन्। 

बिहे, त्यो पनि कांग्रेसीसँग! 

कमिटीका कमरेडहरूलाई यो किमार्थ मान्य थिएन। शान्तिमायालाई पनि मान्य थिएन। हजुरआमा र बा–आमाको ढिपी थियो। विसं २०५१ साल फागुन १९ गते दोलखाकी शान्तिमायाको हात माग्न आइपुगे बेँसी गाउँबाट। 

‘घरको एक्लो छोरो, त्यसमाथि मनग्गे खेती र सम्पत्ति। नातिनीले सुखैसुख पाउँछे,’ यही सोचेर हजुरआमाले कुरा छिनिन्। 

तर, गाउँ कमिटीका साथीहरूको निचोड थियो, ‘कांग्रेसीसँग त बिहे गर्नु हुँदै हुँदैन शान्तिमाया!’

‘अब के गर्ने?’

उपाय एउटै थियो– भाग्ने।

बिहेको दिन जन्ती आइपुग्यो। तामाङ संस्कृतिअनुसार उनीहरूले सोलीभरि रोटी, कुखुरा, पाँच लिटर रक्सी र गरगहना ल्याएका थिए।

त्यहीबेला शान्तिमायाले दुई जोर कपडा झिकिन्, पोको पारिन्। र, कसैले नदेख्नेगरी टाप कसिन्। घरभन्दा माथि ठूलो वन थियो। साथीहरूले शान्तिमायालाई त्यतै लुकाउन लगे। दिन बित्यो, साँझ ढप्कियो। उनी जंगलमै बसिन्। मुटुमा डरले ढ्यांग्रो ठोकिरहेको थियो। तल गाउँमा मान्छेहरुले टर्च बालेर धुँइपत्ताल खोजिरहेको देखिन्।

ठूला–ठूला आवाजमा कोही आक्रोश पोखिरहेको थियो, ‘त्यसलाई भेटियो मात्र भने हातखुट्टा भाँचेर राख्ने हो।’

यसरी उनी तीन दिन, तीन रात जंगलमै बसिन्। तर, लुक्नु पनि कतिन्जेल? साथीहरूले भने, ‘अब हिँड, साम्य भयो। परेको बेहोर्ने हो।’

शान्तिमाया घरतिर पाइला लम्काउन चाहन्थिन्, तर पछाडिबाट केहीले रोकेजस्तो हुन्थ्यो। डरैडरमा उनी घरको आँगनसम्म पुगिन्। घरधन्दा गरिरहेकी हजुरआमाको आँखा नातिनीमा गएर ठोकियो। 

‘इज्जत सकाइस्, नाक काटिस्, गाउँमा अनुहार देखाउन नहुने बनाइस्,’ नानाथरी फलाक्दै हजुरआमाले कुट्नुसम्म कुटिन्। 

शान्तिमाया परिवारमा मात्र होइन, गाउँमा पनि अप्रिय बनिन्। तैपनि उनलाई केही थिएन। परिवारभन्दा बढी प्रेम संगठनसँग थियो। त्यो विवाह गरेको भए उनी पार्टीको बहिष्कारमा पर्थिन्। उनले कमरेडहरुको कुरा सुनिन्, पार्टीको निर्णय मानिन्। 

यही घटनाका कारण पछि पार्टी पार्टीबीच समेत झगडा भयो। छिमेकी छिमेकीमा वारपार भयो। पानी बाराबारको सम्बन्ध भयो। ​

कक्षा ६ देखि नै एमालेको दोलखा विद्यार्थी संगठनमा थिइन् शान्तिमाया। 

‘अखिलमा अनुशासन तोडिनु हुन्नथ्यो। मैले पार्टीको अनुशासनको लागि छिनिएको विवाह तोडेँ,’ शान्तिमाया सुनाउँछिन्। 

‘अब तेरो बिहे हुन्न!’

‘जीवन तैँले एक्लै काट्ने भइस्!’

गाउँ छिमेकमा उनलाई खिसिट्यूरी गरिन थालियो। हजुरआमाको चिन्ता थियो, ‘अब योसँग कसले बिहे गर्ने?’

तर, सारा गाउँलाई चकित तुल्याइदिने हल्ला फैलियो एकदिन– ‘शान्तिमायाको बिहे हुँदैछ।’

बाआमा र हजुरआमाको प्रार्थना पुरा हुने भयो। दोलखाको ठूलोपाताल गाविसका बुद्धिमान पाख्रिनसँग उनको कुरा छिनिएको थियो। 

उमेरले आफूभन्दा १० वर्ष जेठा। न मन मिल्थ्यो न उमेर। 

केवल एउटै कुरा मिल्थ्यो– पार्टी! एमाले पार्टी।  

उनले जबर्जस्ती हुन्छ भनिन्। हजुरआमाका लागि, बाआमाका लागि। गाउँ छिमेकका लागि, संगठनका लागि।

अनि ०५२ फागुन २३ गते शान्तिमाया र बुद्धिमान पाख्रिनको बिहे भयो।​

‘बिहेपछि यसले कसरी घर गरेर खाली?’ हजुरआमाको चिन्ता सधैँ यही हुन्थ्यो।

हुन पनि त्यस्तै भयो शान्तिमायालाई। उनी कति समयसम्म त बुद्धिमानसँग खुसी हुन सकिनन्। उनी राजनीति गर्न चाहन्थिन्। स्वतन्त्र हुन चाहन्थिन्। बुहारी भएर घरभित्रै सीमित हुन्न चाहन्नथिन्। 

बुद्धिमान दोलखा जिल्लाभर चर्चित नेता थिए। पूर्णकालीन राजनीतिमा होमिएका थिए। दुवै राजनीतिमा सक्रिय हुन घरको आर्थिक अवस्था मजबुत थिएन। यसकारण शान्तिमाया शिक्षण पेसामा लागिन्। कहिले त लाग्थ्यो, घरै छाडेर जाऊँ! तर बा–आमाको कुरा सम्झिन्थिन्। अनि लाग्थ्यो, ‘जे भए पनि टिकेरै छाड्छु।’

०५४ सालमा बुद्धिमान एमालेबाट दोलखाको ठूलोपाताल गाविसको अध्यक्षमा निर्वाचित भए। गाविस अध्यक्ष भए पनि बुद्धिमानको सरल व्यवहार र गहिरो वैचारिकीले गाउँलेहरू प्रभावित थिए। शान्तिमाया पनि उनीसँग विस्तारै नजिकिन थालिन्। प्रेम गर्न थालिन् बुद्धिमानलाई। 

‘उहाँमा जुन विचार प्रवाह थियो, त्यो अहिलेका कुनै शीर्ष नेतामा पनि पाउन सक्दिनँ म,’ उनी भन्छिन्।

जनयुद्धकाल थियो। माओवादीको प्रभाव बढ्दै थियो। गाविस अध्यक्ष भएसँगै बुद्धिमानले हैरानी खेप्न थाले। गोलीगट्ठा भिरेर हिँड्ने माओवादी चन्दा माग्न आउँथे। बुद्धिमान भन्थे, ‘जनताको पैसा हो, उनीहरूको अनुमतिबिना दिन्नँ!’

एकपटक माओवादी गाउँमा जनसरकार बनाउन आइपुगे। गाउँलेहरू कोही पनि संगठनमा बस्न राजी भएनन्।

‘बुद्धिमान जुन पार्टीमा हुन्छन्, हामी त्यसैमा हुन्छौँ,’ अधिकांशले जवाफ फर्काए।

माओवादीहरु बुद्धिमानलाई फकाउँथे। आग्रह गर्थे। केही नलागेपछि धम्की दिन्थे। तर बुद्धिमान डराएनन्।

‘हामीले ब्यालेटबाट सत्ताप्राप्त गर्छौं भनेका छौं। माओवादीले बुलेटबाट गर्छौँ भनेका छन्। माओवादीले लिएको बाटो ठीक छैन। यसविरुद्ध बोल्नैपर्छ,’ बुद्धिमान भन्थे।

‘तपाईं उनीहरूसँग बहस नगर्नुस्,’ एकदिन शान्तिमायाले बुद्धिमानलाई भनिन्, ‘रिसिइवी साँध्न जे पनि गर्न सक्छ।’

‘माओवादीले मजस्तोलाई मार्छ? म निम्न वर्गको जनजाति, प्रष्ट वक्ता। गाविस अध्यक्ष भएर आमूल परिवर्तन गरेको छु। मलाई मारे भने माओवादी आन्दोलन कहाँ पुग्छ? माओवादीको नेता यति कच्चा छन्?’ बुद्धिमानले शान्तिमायालाई उल्टै सम्झाइ बुझाइ गरे।  

तर, मनभरि डरले डेरा जमाएको थियो। दिनहुँ मान्छे मारिएका समाचार आउँथे। शान्तिमाया झस्किन्थिन्। ​​

२०५९ मंसिर ९ गते। साँझको साढे ८ जति बजेको थियो। बुद्धिमान घरमा टेलिभिजन हेर्दै थिए। ८ जना माओवादी घरभित्र छिरे। उनीहरू चिनजानकै थिए। बुद्धिमानसँग सुरुमा राम्रै कुरा भयो। केही मिनेटमै माहोल चिसिन थाल्यो।

‘तपाईं हामीसँग हिँड्नुस्, छलफल गर्नुछ,’ बुद्धिमानलाई उनीहरूले तान्न थाले। 

शान्तिमायाले रोकिन्, ‘यहीँ बस्नुस्, जे भन्नुछ, यहीँ भन्नुस्।’

तर, उनीहरू रोकिएनन्। बरु घिसार्न थाले। बुद्धिमानलाई लिएरै गए। 

बाहिर निष्पट्ट अन्धकार थियो। शान्तिमाया माथि बुइँगलमा चढिन्, र झ्यालबाट चियाइन्। बाहिर त दर्जनौँ रहेछन्। उनी अताल्लिँदै पछिपछि गइन्। गाउँलेहरूलाई गुहारिन्। गाउँलेहरु खुकुरी, खुर्पा बोकेर बुद्धिमानलाई खोज्न हिँडे।

तर, बुद्धिमान भेटिएनन्।

नौ दिनपछि, मंसिर १७ गते दोलखाको स्याउलीबजारमा बुद्धिमानको लास भेटियो। दाहिने हात भाँचिएको थियो, आँखा फुटाइएको थियो, जिब्रोमा प्वाल पारिएको थियो, जिउमा फलामले डामिएको थियो। अनुहारमा नीलडाम थियो।

‘ठूलोपाताल गाविसका अध्यक्ष बुद्धिमान मारिए, उनको लास भेटियो,’ गाउँभरि शोकपूर्ण खबर फैलियो। 

मान्छेहरू स्तब्ध भए। शान्तिमाया अचेत भइन्। 

गाउँ आतंकित थियो। मान्छेहरू त्राहीत्राही थिए। शवको नजिक पर्न पनि उनीहरू डराउन थाले। शान्तिमायाको गर्भमा तीन महिनाकी छोरी हुर्कंदै थिइन्। त्यसमाथि दुई बालखा छोरी। आफ्नो गलेको शरीरलाई सकीनसकी दह्रो बनाउन शान्तिमायाले प्रयत्न गरिन्। तीन दिनपछि प्रहरी कार्यालयमा मुचुल्का दर्ता गराइन्। तर, मुद्दा अघि बढेन। कहिल्यै बढेन। आजसम्म बढेन।​​

‘विधवा हुनु अत्यन्तै नमिठो रहेछ, हाम्रो समाजले उसलाई कति दुःख दिन्छ, कति हेला गर्छ,’ यति भन्दै गर्दा शान्तिमाया झोलाबाट रुमाल झिक्छिन् र खसिरहेको आँसु पुस्छिन्।

‘सांसद भएपछि यी कुरा कसैलाई सुनाएकी थिइनँ। आज पहिलो पटक धेरै कुरा भन्दैछु,’ सिंहदरबारभित्र संसदीय समितिको शान्त कोठामा एमालेकी सांसद शान्तिमायाले मनभित्रको हुण्डरी पोखिन्।

उनलाई अनेक कार्यक्रममा जानु थियो। तर, उनी भन्दै थिइन्, ‘मनभरि व्यथा बोकेर पुग्नु कहाँ छ र, जानु कहाँ छ र?’

शान्तिमाया यतिबेला सांसद होइन, वर्षौंदेखि न्याय नपाएर छट्पटाइरहेकी पीडितको स्वरुपमा थिइन्। बुद्धिमान मारिएको दुई दशक भयो। तर शान्तिमायाले न्यायको अनुभूति गर्न पाएकी छैनन्। 

२०६३ मा संसद पुनर्स्थापित भयो। पुनर्स्थापित संसदमा शान्तिमाया एमालेको समानुपातिक कोटाबाट सांसद बनिन्। ‘आफ्नो भाग’ खोसेको भन्दै केही महिला नेताले शान्तिमायाको सत्तोसराप गरे। तर, सांसद हुनुमा उनलाई कुनै खुसी थिएन, न उत्साह नै। 

‘मेरो लागि सांसद पद श्रीमानको लाससँग साटेजस्तो न थियो, खुसी हुने कुरै थिएन,’ उनी सुनाउँछिन्। 

जब शान्तिमाया सांसद भएर संसद भवनमा छिरिन्, उनी विस्मित भइन्। उनलाई चारैतिर निष्पट्ट अन्धकार छाएजस्तो लाग्यो। 

‘जो मेरो श्रीमानको हत्यामा संलग्न थिए, तिनै व्यक्ति सांसद भएर अगाडि उभिएको देखेँ,’ शान्तिमायाले आश्चर्य व्यक्त गरिन्। 

ती व्यक्तिहरुलाई देख्दा उनलाई सहिनसक्नु हुन्थ्यो। 

‘अन्तर्वार्तामा आमनेसामने, संसदमा पनि आमनेसामने। मलाई विवेक गुमाएँजस्तो हुन्थ्यो, ज्वरो फुटेजस्तो हुन्थ्यो,’ उनी सम्झिन्छिन्। 

उनी संसद् भवन जान चाहन्नथिन्। भीडभाडबाट अलग्गै रहन चाहन्थिन्।

‘ठूलो जंगलको बीचमा जहाँ मान्छे भन्ने नै नहोस्, छोरीहरूसँग त्यहाँ गएर बसुँ जस्तो लाग्थ्यो,’ शान्तिमाया सुनाउँछिन्। 

किन यस्तो भइरहेछ, शान्तिमायाले ठम्याउन सकिरहेकी थिइनन्। पछि थाहा पाइन्, त्यो त डिप्रेसनको लक्षण रहेछ। आफूलाई डिप्रेसन भएको थाहा पाएपछि उनले सकभर नियन्त्रण गर्न थालिन्। 

‘यसले त मेरो र छोरीहरूको करिअर सकाउँछ। म मुक्त हुनुपर्छ भन्ने लाग्यो। अनि आफूलाई सामान्य बनाउन खोजेँ,’ उनी सुनाउँछिन्।

श्रीमान् मारिएपछि उनको ज्यानलाई पनि खतरा थियो। शिक्षकको जागिर छाडिन्। छोरीहरूलाई काखी च्यापेर लुकीलुकी हिँड्नुपर्ने दिन आयो। परिवारमा पनि हिंसाको सिकार हुन् थालिन्। तैपनि हिम्मत हारिनन्। घर छाडिन् र तीन छोरीहरू लिएर छुट्टै बस्न थालिन्। त्यतिबेला पनि उनी पार्टीमा सक्रिय थिइन्।

‘जस्तो आपत् पर्दा पनि मैले पार्टी छाडिनँ, सधैँ पार्टीको काममा खटिरहेँ,’ उनी सुनाउँछिन्, ‘सायद यही कारण पनि मलाई ०६३ मा पार्टीले सांसदमा मनोनित गर्यो।’

०७४ साल पार्टी जीवनकै सबैभन्दा नमिठो क्षण भयो शान्तिमायाका लागि। एमाले र माओवादीबीच चुनावी गठबन्धनपछि पार्टी एकता हुँदै थियो, उता शान्तिमायाको मन टुट्दै थियो। 

एकमनले त लाग्यो– छाडिदिऊँ पार्टी! 

‘तर छाडेर कहाँ जाने? यत्तिका वर्ष राजनीतिमा लगानी भएको छ, यो त मेरो समस्या हो पार्टीको होइन,’ उनले मन बुझाउने प्रयत्न गरिन्। 

पार्टी एकता भएको कति समयसम्म त दिन हो कि रात, शान्तिमायाले ठम्याउन सकिनन्। तीन दिनसम्म अन्न समेत मुखमा हालिनन्। उनको मस्तिष्कमा हरक्षण खेलिरह्यो, उही विभत्स घटना। पार्टी एकतापछि श्रीमानकै हत्या गर्ने समूहका नेतालाई उनले सम्मान गर्नुपर्ने भयो। 

‘मुटुमाथि ढुंगा होइन, पहाड राखेर नमस्कार गरेँ,’ उनी त्यो पीडादायी क्षण सम्झिन्छिन्। 

शान्तिमायाले जति पटक नमस्कार गर्नुपथ्र्यो, त्यति पटकै उनले एउटा प्रार्थना पनि गरिरहेकै हुन्थिन्, ‘कुनै पनि हालतमा यो एकता नटिकोस्।’

शान्तिमाया ०६३, ०६४ र ०७४ मा गरी तीन पटक सांसद भइन्। तर, सांसद हुनु र नहुनुमा भिन्नता पाएकी छैनन् उनले। संसदमा न बोल्न पाइन्छ, न बोलेको कुरा सुनुवाइ नै हुन्छ। 

उनले देखेकी छिन् संसदभित्र नेताहरूको ब्रान्ड। 

‘विशेष समयमा बोल्ने भनेकै ठूला नेताहरूले हो। हाम्रो पालो मुस्किलले मात्र आउँछ,’ उनी सुनाउँछिन्।

समानता र न्यायका कुरा गर्ने ठूला नेताहरूबाट विभेदको महसुस गरेकी छन् उनले। त्यो विभेद बस्ने सिटमै पनि ठम्याएकी छन्। 

‘संसदमा ठूला भनिएका नेता अगाडि बस्नुपर्छ, हामी पछाडि। प्रमुख सचेतकले तपाईंहरू अगाडि नबस्नुस् नै भनिदिन्छन्,’ उनी भन्छिन्। 

आफूहरु निरीह हुनुपरेको अनुभूति छ शान्तिमायासँग। जनता आशा लिएर उभिन्छन्, तर आफैँ निराश भइदिने कतिपय क्षणहरू आउँछन्। 

‘जोसँग पैसा छ, प्रधानमन्त्रीसँग जसको नजिकको सम्बन्ध छ, उसको मात्र काम हुन्छ। कानुन निर्माण गर्ने ठाउँ हो संसद। तर यहाँ हाम्रै लागि कानुन चल्दैनन्,’ उनी निराश सुनिन्छिन्। 

देख्छिन्, व्यवस्था बदलिए पनि नागरिकको दुःख नबदलिएको। न्याय नपाएर पीडितहरू छाती पिटीपिटी रोएको। 

पतिको हत्यासम्बन्धी मुद्दा बोकेर उनी आज पनि दौडिरहेकी छन्। बुद्धिमानका हत्या आरोपितहरु सानका साथ हिँडेको उनी देख्न सक्दिनन्। तर, उनलाई थाहा छैन निसाफ कसले दिन्छ।

‘हामी सांसदले त न्याय पाइरहेको छैनौँ भने सोच्नुस् त आम नागरिकको हाल के होला?’ शान्तिमाया थकित देखिन्छिन्। 

यो पनिः
जब रानी ऐश्वर्यलाई २२ वर्षकी अमृताले भनिन्– हामी मधेसी विदेशी होइनौँ

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .