ad ad

राजनीति


होटल मनाङमा महानिरीक्षक खनालको अवैध लगानी

होटल मनाङमा महानिरीक्षक खनालको अवैध लगानी

नेपालखबर
कात्तिक ८, २०७६ शुक्रबार ११:२६,

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले आफु निकट व्यक्ति मार्फत ठमेलको होटल मनाङमा लगानी गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ।

सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले होटल मनाङमा देखिने लगानीकर्ता बाहेक त्यसको नाफामा तेस्रो व्यक्ति समेत हिस्सेदार रहेको अनुसन्धानमा भेटेको हो।

होटल मनाङका संचालक तथा अध्यक्ष भुजुङ गुरुङ हुन्, जो २०७४ चैत २३ मा सुन तस्करी तथा सनम शाक्य हत्या प्रकरणमा पक्राउ परेपछि हिरासतमा छन्। उनी पक्राउ परेपछि होटलको शेयर रातारात विभिन्न व्यक्तिका नाममा नामसारी भएको थियो।

khanal4

विभागले प्रारम्भिक अनुसन्धानमा ‘थर्ड पर्सन बेनिफिसियरी’ देखिएकाले विस्तृत अनुसन्धान भइरहेको जनाएको छ।

सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागका महानिर्देशक रुपनारायण भट्टराईले होटल मनाङको लागानीबारे विस्तृत अनुसन्धान गर्ने क्रममा तेस्रो व्यक्तिहरु समेत संलग्न भेटिएकाले उनीहरूबारे बुझ्ने काम भइरहेको बताए।

‘अनुसन्धानको क्रममा केही व्यक्तिहरुको संलग्नता भेटिएको छ’, महानिर्देशक भट्टराईले शुक्रबार नेपालखबरसँग भने, ‘अनुसन्धान अघि बढाउँदै हामीले तेस्रो व्यक्तिका विषयमा सूचना संकलन गरिरहेका छौं।’

khanal3 

विभाग स्रोतका अनुसार होटल मनाङमा महानिरीक्षक खनालले देवेन्द्र गिरी र सुचित्रा भण्डारी गिरी मार्फत सुरुदेखि नै लगानी गरिरहेको भेटिएको हो।

‘घटनाक्रमले महानिरीक्षक खनाल भुजुङको अवैध धन्दा र अपराधकर्मका विषयमा आफु विमानस्थलमा कार्यरत रहँदादेखि नै जानकार रहेको देखाउँछ’, विभागका एक अनुसन्धान अधिकारीले भने, ‘उनले गिरी दम्पत्ती मार्फत सुरुमा र पछि कम्पनी मार्फत समेत लगानी गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको हो।’

khanal2

यी हुन् प्रत्यक्ष अनुसन्धानमा तानिएका लगानीकर्ता
विभागले सुरुमा सुन तस्करी प्रकरणमा कारागारमा रहेका भुजुङ गुरुङमा केन्द्रित रहेर मनाङ होटलमाथि अनुसन्धान थालेको थियो। गत जेठ देखिको अनुसन्धानमा हालका लगानीकर्ता बाहेकका व्यक्तिका विषयमा सूचना आएपछि विस्तृत अनुसन्धान गर्ने निर्णयमा विभाग पुगेको हो।

विभागका अनुसार होटल मनाङका नयाँ अध्यक्ष तथा लगानीकर्ता हेमबहादुर गुरुङ देखिएका छन्। यस्तै होटलकै पुराना कर्मचारी देवेन्द्र गिरी, उनकी श्रीमती सुचित्रा भण्डारी गिरी, ललितपुरका उज्वल सिलवाल र सिंग ग्लोबल इन्भेष्टमेन्टका नाममा भुजुङ र उनको परिवारका सदस्यको नाममा शेयर नामसारी भएको छ।

देवेन्द्र, सुचित्रा र सिंग ग्लोबल इन्भेष्टमेन्ट मार्फत प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले लगानी गरेको विभागको प्रारम्भिक अनुसन्धानमा देखिएको हो। यस्तै अन्य सरकारी अधिकारी समेतले होटल मनाङमा सम्पत्ती शुद्धिकरणका लागि लगानी गरेको आशंका विभागको छ।

नेपालखबरलाई प्राप्त विवरण अनुसार सुरुमा भुजुङ, उनका छोरा विजेन गुरुङ, दइती गुरुङ र सुचित्रा भण्डारीको नाममा होटल मनाङको सम्पूर्ण शेयर थियो।

देवेन्द्रको नाममा एक लाख ७६ हजार, सुचित्राको नाममा एक लाख ५४ हजार, उज्वल सिलवालका नाममा एक लाख १० हजार, हेमबहादुर गुरुङ र सिंग इन्भेष्टमेन्टका नाममा जनही ६६ हजार कित्ता शेयर बाँडफाँट भएको छ। यी शेयर पनि विभिन्न मितिमा यिनै लगानीकर्ताका नाममा थपघट भइरहेको विवरणले देखाउँछ।

khanal5

भुजुङ थुनामै हुँदा रजिष्ट्रारको छाप
तीन हजार ८ सय किलो सुन तस्करी र माेरङ उर्लाबारीका सनम शाक्य हत्याकाण्डमा विशेष अनुसन्धान गर्ने क्रममा टोलीले २३ चैत २०७४ मा भुजुङलाई हिरासतमा लिएको थियो।

नेपालखबरलाई प्राप्त कागजपत्रका अनुसार भुजुङ र फरार रहेका उनका छोरा सहितको नाममा कायम रहेको शेयर नामसारी पत्रमा कम्पनी रजिष्ट्रारको कार्यालयले उनी हिरासतमै रहँदा हस्ताक्षर र छाप लगाएर प्रमाणित गरेको छ।

विवरण अनुसार अभिलेखमा जनिने गरि २०७५ बैशाख १९ मा प्रमाणित गरिएको छ। यस्तै अध्यक्ष रहेका हेमबहादुर गुरुङले शेयर बाँडफाँटको निर्णय समेत २०७४ फागुन २९ मा गरेका देखिएको छ।

सुन प्रकरणको सुरुको बेला २०७४ फागुन १९ मा सनम शाक्यको शव मोरङमा भेटिएपछि अवैध लगानी सुनिश्चत गर्नकै लागि सबै तारतम्य मिलाइएको विभागको अनुसन्धानमा देखिएको छ।

सरकारले २०७४ फागुन १९ पछि विशेष अनुसन्धान टोली फिल्डमा खटाउन थालेको थियो। सहसचिव ईश्वराज पौडेलको नेतृत्वमा २०७४ चैत २० मा विशेष टोली गठन गरेर अनुसन्धान थालेको थियो।

सरकारी समितिले १९ महिनामा १७ अर्बभन्दा बढी रकम बराबरको सुन अवैध तस्करी भएको तथ्य सार्वजनिक गरेसँगै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले समेत त्यसबेलादेखि अनुसन्धान थालेको थियो।

होटल मनाङ र मनाङ एयर तथा एनआईडिसी विकास बैंकमा रहेको भुजुङको लगानी सम्पत्ति शुद्धिकरण अपराधबाट भए नभएको विभागले अनुसन्धान गरिरहेको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .