नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले डोल्पाको दुनैमा शाखा कार्यालय उद्घाटन गरी कारोबार सुरु गरेको छ। बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाँईले एक कार्यक्रमका बीच शाखाको विधिवत् उद्घाटन गरे।
कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष चापागाँईले जीवन बीमाले जोखिम बहन गर्नुका साथै बचत गर्ने बानीको पनि विकास हुने भएकोले जोखिम बहनको साथै बचतसमेत हुने बताए। अध्यक्ष चापागाँईले हिमाली जिल्लाको दुरदराजमा पुगेर न्यून आय भएका जनतालाई पनि बीमाको दायरामा ल्याउन सुझाए। उनले बीमाको महत्वबारे हिमाली क्षेत्रका बासिन्दालाई बुझाउन आवश्यक रहेको भन्दै डोल्पामा नेपाल लाइफको सेवा प्रवाहले हिमाली क्षेत्रमा बीमाको उपस्थिति बलियो हुने विश्वास व्यक्त गरे।
कार्यक्रममा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत विवेक झाले तिब्र गतिले बीमा व्यवसाय विस्तार भइरहेको परिपेक्षमा एक तिहाई बजार हिस्सा नेपाल लाइफले ओगट्न सफल भई देशको बीमा व्यवसायलाई बढाउन महत्वपूर्ण योगदान पु-याउन सफल भएको जनाए।
करिब एक तिहाई बजारहिस्सा ओगटेको यस कम्पनीको चुक्तापूँजी जीवन बीमा क्षेत्रकै सर्वाधिक रू. ५ अर्ब ५० करोड रहेको छ भने लगानी रू. ७७ अर्ब ५४ करोड रुपैयाँ रहेको छ। त्यस्तै, कम्पनीको जीवन बीमा कोष ७२ अर्ब २४ करोड रुपैयाँ र शेयरधनी कोष ८ अर्ब ५७ करोडभन्दा बढी रहेको छ। कम्पनीले यस आर्थिक वर्षको पहिलो तीन महिनामा जम्मा रू. ७ अर्ब ९० करोड बीमा शुल्क संकलन गरेको छ। १ लाख ३४ हजार ५ सय ६३ प्रशिक्षित अभिकर्ता रहेको यस कम्पनीले आफ्ना सेवाग्राहीहरू तथा ग्राहकहरूका लागि हालसम्म देशभर फैलिएका १ सय ९३ शाखा तथा उप शाखाहरू मार्फत जीवन बीमासम्बन्धी सम्पूर्ण सेवा उपलब्ध गराइरहेको छ।
हालसम्म स्वदेश र विदेश गरी २६ लाख ६३ हजार ९ सय ८१ व्यक्ति यस कम्पनीमा बीमित भइसकेका छन्। ग्राहकहरूको हितलाई ध्यानमा राखी यस कम्पनीले समयसापेक्ष आवश्यक थप सेवा तथा सुविधाहरूसमेत उपलब्ध गराउँदै जाने प्रतिबद्धता व्यक्त गरेको छ।

प्रतिक्रिया