फोटो


वानखेडेमा इटालियन दाजुभाइले नेपालीलाई निराश बनाउँदाका तस्बिरहरू

वानखेडेमा इटालियन दाजुभाइले नेपालीलाई निराश बनाउँदाका तस्बिरहरू

सरोज नेपाल
माघ २९, २०८२ बिहिबार १९:५, काठमाडौँ

विश्वकपको आफ्नो दोस्रो खेलमा इटालीले नेपाललाई निरीह सावित गर्दै कीर्तिमानी जीत हासिल गरेको छ। मुम्बईको वनखेडे रंगशालामा बिहीबार साँझ नेपाली समर्थकलाई शान्त पार्दै इटालीले दुवै इनिङ्समा उत्कृष्ट प्रदर्शन गर्‍यो।

टस जितेर पहिले फिल्डिङ गरेको इटालीका बलरले नेपाललाई कमजोर लक्ष्यमा रोकेको थियो। त्यसपछि इटालीका ओपनिङ जोडी दाजुभाइ जस्टिन र एन्थोनी मोस्काले ७ ओभर अघि नै जीत सुनिश्चित गरे।

आफ्नो पहिलो खेलमा दुई पटकको विश्वविजेता इङ्ल्यान्डसामु जीत नजिक पुगेर प्रभावशाली देखिएको नेपाल पहिलो पटक विश्वकप खेलिरहेको इटालीसामु भने निरीह देखियो। नेपालले रनका लागि निक्कै संघर्ष गर्नुपर्‍यो। आरिफ शेखले २४ बलमा २७ रन बनाउनु नै नेपालको उच्च स्कोर बन्यो। 

नेपालका लागि आरिफ शेख र दीपेन्द्रसिंह ऐरीले ३९ बलमा ४४ रनको कठिन साझेदारी गरे।  

इटालीको स्पिन आक्रमणसामु नेपाली ब्याटर पूरै ओभर पनि मैदानमा टिक्न सकेनन्। क्रिशन कालुगामेज, बेन मानेन्टी र जेजे स्मट्सले आफ्नो १२ ओभरमा ४९ रन खर्चिएर ६ विकेट लिए। 

पहिलो इनिङ्सबाटै उत्साहित देखिएको इटालीले जबाफी ब्याटिङमा पहिलो ओभरबाटै लामो सट प्रहार गर्न सुरु गर्‍यो। तर दाजु एन्थोनीले २८ बलमा अर्धसतक पूरा गर्दा भाइ जस्टिनले पनि ३७ बलमा ५० रन पूरा गरे। वानखेडेमा बिहीबार नेपालको यस्तो हार अनपेक्षित थियो।

इटाली यो खेलमा नियमित कप्तान वेन म्याडसेनविना नै उत्रिएको थियो। तर विश्वकपमा तेस्रो र जारी विश्वकपमा पहिलो जीत खोजिरहेको नेपाललाई त्यही टोलीले निराश बनायो। सामान्य लक्ष्यमा रोक्न सकिने आशा पनि पावर प्लेबाटै निराशामा परिणत हुन थाल्यो। 

इटालीले चार ओभरमै ५० रन पूरा गरेको थियो। दाजुभाइको गतिलाई सन्दीप लामिछानेको लेग स्पिनले पनि रोक्न सकेन। मोस्का दाजुभाइले नेपालसँगको प्रदर्शनबाटै टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा बनाएको सर्वाधिक रनको कीर्तिमान पनि आफ्नो नाममा लेखाए।

यसअघि सन् २०१९ मा महिला टी-२० विश्वकप छनोटमा नेदरल्याड्सविरुद्ध स्कटल्यान्डका दिदीबहिनी क्याथरिन र सारा ब्राइसले ११९ रनसहित आफ्नो नाम राखेका थिए।  

अब नेपालले फागुन ३ गते वेस्टइन्डिजसँग र फागुन ५ गते स्कटल्यान्डसँग खेल्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad