अख्तियारद्वारा भ्रष्टाचार आरोपमा प्रमुख उपप्रमुखसहित १२ जना निलम्वनमा परेपछि ठप्प रहेको जलेश्वर नगरपालिकाले आजदेखि कार्यवाहक प्रमुख र उपप्रमुख पाएपछि काम धमाधम अगाडि बढेको छ।
जलेश्वर नगरपालिकाले बाँकी अन्य कार्यपालिका सदस्यमध्येबाट बहुमतीय प्रणालीका आधारमा कार्यवाहक प्रमुखमा वडा नं ९ का वडाध्यक्ष रवीन्द्र यादव र उपप्रमुखमा वडा नं ३ का वडाध्यक्ष रतन चौधरीलाई चयन गरेपछि नगरपालिकाको सम्पूर्ण कामकाज अगाडि बढेको प्रमुख प्रशासकीय अधिकृत जयकुमार साहले बताए।
नगरपालिकाको कार्यपालिका सदस्यले बैठकले बहुमतीय प्रणालीका आधारमा कार्यवाहक प्रमुख र उपप्रमुख चयन गरेपछि अब सबै कामकाजले गति लिएको प्रमुख प्रशासकीय अधिकृत साहले थपे।
आर्थिक वर्ष २०७९/८० मा नगरपालिकाद्वारा वडा नं १ मा अवस्थित वरुण सरोवर पोखरीको दक्षिण र पश्चिम डिलमा रहेको हाट बजारमा पिसीसी ढलान कार्यमा भ्रष्टाचार भएको उजुरी निवेदन सम्बन्धमा अख्तियारले अनुसन्धान गरी अदालतमा मुद्दा दायर गरेको थियो।
मुद्दा दायर भएपछि नगरपालिकाका प्रमुख सुरेश साह सोनार, उपप्रमुख रौशन खातुन, वडा नं १ का वडाध्यक्ष अनिलकुमार झा, कार्यपालिका सदस्य सोगरा खातुन, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत मित्रलाल ढकाल, वरिष्ठ इञ्जिनियर पवनकुमार झा, अधिकृत छैटौँ धीरेन्द्र झा, इञ्जिनियर राकेशकुमार चौधरी, सवइञ्जिनियर दिपेशकुमार साह, त्यसैगरी उपभोक्ता समितिका अध्यक्ष राकेशकुमार साह, सचिव सिकेन्द्र चौधरी र कोषाध्यक्ष सन्तोषी देवी निलम्वन तथा कारबाहीमा परेका थिए।
Shares

प्रतिक्रिया