होटल तथा रेस्टुरेन्टहरूमा अखाद्य वस्तु बढी प्रयोग भइरहेको गुनासो बढ्न थालेपछि मधेस प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री फकिरा महतोले अनुगमन गरेका छन्।
मन्त्री महतो सुरक्षाकर्मीसहित प्रदेश राजधानी जनकपुरधामसहित धनुषा जिल्लास्थित होटल तथा रेस्टुरेन्टहरूमा गई अनुगमन गरिरहेका छन्। अनुगमनको क्रममा मापदण्ड उल्लंघन गर्ने चार होटललाई कुल १ लाख ५० हजार रुपैयाँ जरिवाना गरिएको छ।
त्यसक्रममा दुई दिनमा जिल्लाका १० वटा होटल तथा रेष्टुरेन्टको खाद्य स्वच्छता, सरसफाइ, सेवा प्रवाह, खाद्य पदार्थको गुणस्तर तथा उपभोक्ता हितसम्बन्धी मापदण्डको निरीक्षण गरिएको छ।
अनुगमनका क्रममा लक्ष्मीनियास्थित ‘बाबाको ढाबा’ होटललाई ३५ हजार रुपैयाँ, ढल्केबरस्थित ‘द रोयाल सम्राट’ होटललाई ५ हजार रुपैयाँ, जनकपुरधामस्थित ‘बाजेको सेकुवा’ होटललाई ७५ हजार रुपैयाँ तथा ‘बर्गर हाउस’ लाई ३५ हजार रुपैयाँ जरिवाना गरिएको मन्त्री महतोले जानकारी दिए। ती चारवटै होटलबाट कुल १ लाख ५० हजार रुपैयाँ जरिवाना असुल गरिएको उनले बताएका छन्।
अनुगमनका क्रममा केही होटलमा सरसफाइको कमी, खाद्य पदार्थको भण्डारणमा लापरबाही तथा उपभोक्ता संरक्षणसम्बन्धी मापदण्डको पूर्ण पालना नभएको पाइएको थियो। अन्य होटल व्यवसायीलाई पनि कमजोरी तत्काल सुधार गर्न निर्देशन दिँदै सचेत गराएको उनले जनाएका छन्।
मन्त्री महतोले उपभोक्ताको स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने होटल तथा रेष्टुरेन्टहरूले खाद्य सुरक्षासम्बन्धी सबै मापदण्ड अनिवार्य रूपमा पालना गर्नुपर्ने उल्लेख गर्दै नियम उल्लंघन गर्ने व्यवसायीमाथि आगामी दिनमा पनि कडा कारबाही गरिने चेतावनी समेत दिएका छन्।
उनले उपभोक्ताको हित संरक्षण तथा खाद्य सेवाको गुणस्तर सुधारका लागि यस्ता अनुगमनलाई निरन्तरता दिइने बताएका छ्न्।
Shares

प्रतिक्रिया