सशस्त्र प्रहरीका असई थमन विक हत्या प्रकरणमा पक्राउ परेका एमाले नेता एवं पूर्वसांसद लक्ष्मी महतो कोइरीलाई कैद भुक्तानका लागि जलेश्वर कारागार चलान गरिएको छ। जिल्ला अदालत महोत्तरीको आदेशपछि उनलाई कारागार पठाइएको हो।
महोत्तरीका प्रहरी प्रवक्ता तथा डीएसपी पञ्चलाल गोलेले दिएको जानकारीअनुसार जिल्ला प्रहरी कार्यालय महोत्तरीले अदालतमा पेस गरेपछि अदालतले उनलाई कैद भुक्तानका लागि कारागार पठाउने आदेश गरेको हो।
मधेस आन्दोलनका क्रममा २०७२ भदौ २५ गते ड्युटीमा रहेका सशस्त्र प्रहरी सहायक निरीक्षक थमन विकको हत्या भएको थियो। उनको हत्या आरोप उच्च अदालत जनकपुरधामले २०८३ असार १७ गते पाँच वर्ष कैद सजाय सुनाएपछि कोइरीलाई बिहीबार पक्राउ गरिएको थियो।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार २०८३ असार १८ गते साँझ करिब ६ बजे प्रहरी टोलीले गौशाला नगरपालिका-५ स्थित एमाले पार्टी कार्यालय अगाडिको सार्वजनिक स्थानबाट गौशाला नगरपालिका-२, निगौल निवासी पूर्व सांसद कोइरीलाई पक्राउ गरेको थियो।
यसअघि महोत्तरी जिल्ला अदालतले २०८० मंसिर २८ गते उनलाई सफाइ दिएको थियो। जिल्ला अदालतको फैसला उल्टाउँदै उच्च अदालत जनकपुरधामले कर्तव्य ज्यान मुद्दामा कोइरीलाई पाँच वर्ष कैद सजाय हुने फैसला गरेको हो।
सो फैसला कार्यान्वयनका लागि उनलाई पक्राउ गरी अदालतमा पेस गरिएको र अदालतको आदेशपछि जलेश्वर कारागार पठाइएको प्रहरीले जनाएको छ।
सो मुद्दामा जिल्ला अदालतबाट जन्मकैद सजाय पाएका प्रदेश सांसद अभिराम शर्मालाई पनि उच्च अदालतले पाँच वर्षको कैद सजाय तोकेको हो।
सो मुद्दामा जिल्ला अदालतबाट जन्मकैदको सजाय पाएका प्रदीप साह माझी, सञ्जयकुमार साह र मोहन ठाकुरलाई कर्तव्य ज्यानसम्बन्धी कसुरमा दोषी ठहर जिल्ला अदालतकै फैसला उच्च अदालतले सदर गरिएको छ।
जिल्ला अदालतबाट सफाइ पाएका अन्य अभियुक्त अभिषेक शर्मा, धर्मेन्द्र राय, रामशंकर मिश्र, सुरेश पाण्डे, लक्ष्मी महतो र पवन कापरलाई जनही पाँच वर्ष कैद सजायको फैसला सुनाइएको हो।
Shares

प्रतिक्रिया