कोशी


रास्वपा सभापति खरेलमाथि आरोप- होटेलसँग मिलेर कमिसन, नेतृलाई ‘गल्फ्रेन्ड’ बन्न दबाब

रास्वपा सभापति खरेलमाथि आरोप- होटेलसँग मिलेर कमिसन, नेतृलाई ‘गल्फ्रेन्ड’ बन्न दबाब

सुमन सुस्केरा
फागुन १५, २०८१ बिहिबार १९:२१, विराटनगर (मोरङ)

गत २०८१ पुस ७ गते राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को झापा जिल्ला भेला आयोजना गरिएको थियो। हल व्यवस्थापनको जिम्मा जिल्ला सभापति उमेश खरेलले लिएका थिए।

भेला बिर्तामोडको दुर्गा पार्टी प्यालेसमा आयोजना गरियो। खरेलले हलको खर्च २२ हजार रूपैयाँ लाग्ने भयो भनेर समितिका पदाधिकारीलाई जानकारी गराए। उनको भनाइकै आधारमा २२ हजार नै भुक्तानी भयो।

पछि रास्वपाका अन्य सदस्यले बिल खोजे। बिल १२ हजारको मात्रै आयो।

पदाधिकारी तथा अन्य सदस्यहरू होटेलमा गएर सोधीखोजी गरे।

त्यहाँ पुगेपछि कुरा खुल्यो, खरेलले होटललाई १२ हजार मात्र बुझाएका रहेछन्। बाँकी आफैले राखे।

‘त्यसपछि उनको पारदर्शिता र नियतमा प्रश्न उठेको हो,’ रास्वपा झापा जिल्ला समितिका एक सदस्यले भने।

ती सदस्यका भनाइमा, यो त प्रतिनिधि घटना मात्र हो। खरेलसँग जोडिएका यस्ता कयौँ प्रकरण छन्।

गत निर्वाचनमा झापा जिल्लाबाट प्रतिनिधि सभामा उम्मेदवारी दिएका प्रत्यक्षतर्फका ५ जना र अन्य समानुपातिक सांसदलाई दायित्व तोकेर रास्वपाले रकम संकलन गरेको थियो। उम्मेदवारहरूबाट २०-२० हजार रूपैयाँका दरले चुनावको चरणमा आउन सक्ने विभिन्न खर्च गर्ने गरी दायित्व तोकिएको थियो। झापा जिल्लाका ९ जनाबाट २० हजारका दरले १ लाख ८० हजार सङ्कलन भएको थियो। त्यसको पनि कुनै हिसाब नै सार्वजनिक नगरिएको आरोप जिल्ला सभापति खरेलमाथि लगाइएको छ।

‘चुनावको बेलामा भएको खर्चको बिल भरपाई पदाधिकारी तथा अन्य सदस्यले माग गरेका थियौँ,’ ती जिल्ला नेताले भने, ‘त्यो दिन्छु, दिन्छु भन्नुभयो, अहिलेसम्म सार्वजनिक गर्नुभएन।’

सभापति खरेलले यसरी आर्थिक कारोबारको कुनै हिसाबकिताब हिसाबकिताब सार्वजनिक नै नगर्ने गरेको आरोप उनीमाथि लागेको छ।

यसअघिका अन्य आर्थिक अपारदर्शिताका सन्दर्भमा जिल्ला समिति सचिव शम्भु ढकाल सुस्केराले पनि जिल्ला समितसमक्ष उजुरी दिएका थिए। उक्त विवरण पनि कारबाहीका लागि सिफारिस गरिएको पत्रमा उल्लेख गरिएको छ।

गत शनिबार बसेको बैठकको निर्णयका आधारमा आइतबार केन्द्रीय कार्यसमितिका कार्यवाहक सभापति डीपी अर्याललाई सिफारिसपत्र पठाइएको हो।

फागुन ११ को मितिमा जिल्ला अनुशासन आयोग, बिर्तामोड, झापालाई सम्बोधन गरिएको पत्रमा ‘जिल्ला सभापति उमेश खरेललाई आवश्यक कारबाही सम्बन्धमा भनी विषय’ उल्लेख गरिएको छ।

पत्रमा जिल्ला समितिका उपसभापति प्रकाश पाठकले हस्ताक्षर गरेका छन्।

‘नेतृलाई गल्फ्रेन्ड बन्न दबाब’
सभापति खरेलमाथि नैतिक चरित्रको पनि प्रश्न उठाइएको छ। रास्वपा जिल्ला समितिमा एक महिलाले खरेलका व्यवहारलाई लिएर उजुरी दिएकी छन्। त्यो उजुरी पनि पत्रसाथ संलग्न गरी केन्द्रमा पठाइएको छ।

उजुरीमा ती नेतृले आफूमाथि पटकपटक सामाजिक सञ्जालको माध्यमबाट गर्लफ्रेन्ड बन्न, माया गर्न र भेट्न आउन प्रस्ताव गरिरहने, जति सम्झाए पनि नमान्ने कारणले हैरान भएको उल्लेख गरेकी छन्।

‘पार्टीका एकजना जिम्मेवार महिला सदस्यले आफूमाथि पटकपटक सामाजिक सञ्जालको माध्यमबाट गर्लफ्रेन्ड बन्न, माया गर्न र भेट्न आउन प्रस्ताव गरिरहने, जति सम्झाए पनि नमान्ने र मलाई जस्तै अरू धेरै पार्टी सदस्य तथा पदाधिकारीमाथि समेत यस्तै व्यवहार गरेको जानकारी पाएकी हुँदा निजलाई कार्बाही गरीपाऊँ,’ उजुरीलाई उद्धृत गर्दै पत्रमा लेखिएको छ, ‘पार्टीले कारबाही नगरे मिडिया र प्रहरीकहाँ जानेछु भनी नाम परिवर्तन गरी अनुसन्धानका बखत समन्वय गर्ने सर्तमा उजुरी गरेको हुँदा आन्तरिकरूपमा पार्टीले कारबाही नगरे यस्ता विषय अरूद्वारा बाहिर आई पार्टीमा गम्भीर क्षति हुने हुँदा सो संवेदनशीलतालाई ख्याल गरेर जिल्ला सभापति उमेश खरेललाई पदबाट निलम्बन गरी आवश्यक अनुसन्धान र कारबाही गर्नुहुन अनुरोध गर्ने मिति २०८१ फागुन ११ गते जिल्ला समितिको बैठकले सर्वसम्मत निर्णय गरेकाले सो निर्णय र उजुरीसमेत यसैसाथ संलग्न राखी सोही अनुसार गर्नका लागि अनुरोध गरिएको छ।’

सभापति खरेलमाथि लागेका प्रत्येक आरोपको प्रमाणसहित केन्द्रमा आइपुगेको र अनुसन्धान तथा कारबाही हुनेमा विश्वस्त रहन रास्वपाका एक केन्द्रीय पदाधिकारीले नेपालखबरलाई आग्रह गरे।

‘अनुसन्धान गर्ने निकाय अनुसन्धान आयोग पार्टीभित्र छँदै छ, त्यसले अनुसन्धान गर्ला,’ ती पदाधिकारीले भने, ‘जिल्लाबाट सामूहिक निर्णय गरेर आएको छ। अब केन्द्रमा आइसकेपछि यसबारेमा सम्बन्धित व्यक्तिसँग सोधखोज गरी छानबिन होला!’

हिजोको कुरा अहिले कारबाहीको विषय हुन सक्दैन: खरेल
जिल्ला सभापति खरेलले भने आफूमाथिको आरोपको बारेमा थाहा नभएको बताउने गरेका छन्।

‘मैले हिजो पनि तपाईँसँग कुरा गर्दा यो विषय मसम्म आई नपुगेको भनेर भनेकै हो,’ उनले बिहीबार नेपालखबरसँग भने, ‘अहिलेसम्म पनि यो विषय मसम्म आइपुगेको छैन। केन्द्रले जानकारी गराएको छैन।’

खरेलले हिजोको आर्थिक कुरालाई अहिले ल्याएर कारबाहीको विषय बनाइनुको अर्थ नहुने तर्क पनि गरे।

होटल खर्चको विषयमा प्रतिक्रिया दिँदै खरेलले भने, ‘हलले जति पैसा लिएको हो, मैले त्यति नै पैसा दिएको हो। यिनीहरूले मलाई ५–१० हजार खर्चको आरोप लगाउँछन्। मैले लाखौँ खर्च गरेको हिसाब गर्दैनन्। यो ५–७ हजारको कुराले मैले के गर्नु छ र?’

पार्टीको पछिल्लो ३ वर्षमा संगठन निर्माण देखि नै निःस्वार्थ रूपमा पार्टीमा लागेको उनको जिकिर छ।

‘म स्वार्थरहित ढंगले पार्टीमा लागेको हो। न कुनै सांसद हुने रहर बोकेँ, न अरू नै केही गरेँ। सधैँ अरूलाई नै नेता बनाउँदै हिँडेँ,’ उनले भने, ‘मैले सोझो हिसाबले सोचेँ। चुनावको बेला पैसा उठ्यो, पैसा उठाएर मैले गोजीमा हालेको हैन। खर्च भएको छ।’

झापामा संगठन भर्खर बनेको र संगठनमा मान्छेहरू नै नभएको बेलाको कुरा अहिले उठाउनु युक्तिसंगत नहुने उनको तर्क छ।

सम्बन्धित खबर:

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad