झापाको दमकमा श्रीमान–श्रीमतीबीच भएको घरेलु विवादले उग्र रूप लिँदा खुकुरी प्रहार र पासो लगाएर गम्भीर घाइते भएका दम्पतीकै उपचारका क्रममा मृत्यु भएको छ।
दमक नगरपालिका–१ सिरपाली चोकका ४२ वर्षीय धनबहादुर दर्जी र उनकी ४२ वर्षीया श्रीमती विजयकुमारी दर्जीको दमक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
बुधबार सामान्य विवादपछि धनबहादुरले श्रीमती विजयकुमारीमाथि खुकुरी प्रहार गरेका थिए। खुकुरी प्रहारबाट विजयकुमारीको टाउको र बायाँ हातमा गम्भीर चोट लागेको थियो। श्रीमतीमाथि आक्रमण गरेलगत्तै धनबहादुरले आफ्नै घरको अर्को कोठामा रहेको सिलिङ पंखामा सलको पासो लगाएर आत्महत्या गरेको प्रहरीले जनाएको छ।
घटनाको जानकारी पाएलगत्तै प्रहरी निरीक्षक प्रमोद खड्काको नेतृत्वमा खटिएको इलाका प्रहरी कार्यालय दमकको टोलीले दुवै घाइतेलाई उद्धार गरी तत्काल उपचारका लागि दमक अस्पताल पठाएको थियो। अस्पताल पुर्याइएपछि चिकित्सकले दुवै जनालाई मृत घोषित गरेका हुन्।
घटनाको प्रारम्भिक विवरण अनुसार प्रहरीले मृतक मदिराको कुलतमा फसेको व्यक्ति रहेको तथा उनीहरूको बिच पहिला देखि नै विवाद हुँदै आएको थियो। धनबहादुरले श्रीमतीको हत्या गरी आफूले आत्महत्या गरेको झापा प्रहरीले जनाएको छ। घटनाको बारेमा इलाका प्रहरी कार्यालय दमकले अनुसन्धान गरिरहेको जनाएको छ।
Shares

प्रतिक्रिया