राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) झापा जिल्ला समितिले आफ्नै सभापति उमेश खरेललाई कारबाहीको लागि केन्द्रमा सिफारिस पठाएको छ।
रास्वपाका एक केन्द्रीय नेताका अनुसार, खरेलमाथि आर्थिक अपचलन र नैतिक चरित्रमा प्रश्न उठाउँदै जिल्ला समितिले तत्काल निलम्बन गरी थप कारबाही अघि बढाउन पत्रमा लेखिएको छ।
‘उहाँको आर्थिक र नैतिक (चारित्रिक)सँग पनि जोडिएको विषय छ,’ ती नेताले नेपालखबरसँग भने।
आर्थिक र चारित्रिक विषयमा गम्भीर कुरा उठाएर तत्काल हटाउन माग गर्दै कोसी प्रदेश हुँदै केन्द्रीय कार्यालयमा पत्र आएको रास्वपाका एक सांसदले पनि पुष्टि गरे।
आइतबार पत्र आएपछि रास्वपाको अनुशासन आयोगले यससम्बन्धी छानबिन गरिरहेको छ। पत्र प्राप्त भएपछि कार्यवाहक सभापति डीपी अर्यालले अनुशासन आयोगमा पठाएका थिए।
खरेल रास्वपा झापाका संस्थापक जिल्ला सभापति हुन्। उनी २०७९ असारमा पार्टी स्थापनासँगै उनी सभापति चयन भएका थिए।
खरेललाई नजिकबाट चिन्न रास्वपाका नेताका अनुसार, उनका विषयमा यसअघि पनि आर्थिक र चारित्रिक विषयमा पार्टीभित्र प्रश्न उठ्दै आएको थियो। तर, उनले सुध्रिने वाचा गरेपछि पटकपटक छुट पाउँदै आएका थिए।
‘तर, यसपालि छुट दिनुहुँदैन भनेर जोडदार रूपमा कुरा उठेको छ,’ ती नेताले भने, ‘यस्ता कुरामा छुट दिँदै जाने हो भने पार्टीमा अराजकता मौलाउँछ।’
यसपटक गम्भीर समस्या दोहोरिएको भन्दै उनलाई तत्काल निलम्बन गर्न झापा जिल्ला समितिका सबै जना एकै ठाउँमा उभिएको जनानकारी पनि ती नेताले दिए।
‘उहाँको बारेमा यसअघि पनि गुनासो आएको थियो तर, सुध्रिन्छु भनेपछि फेरि नेतृत्वमै रहनुभयो,’ कार्यवाहक सभापति डीपी अर्यालनिकट अर्का नेताले भने, ‘फेरि त्यही व्यवहार दोहोर्याइरहेपछि साथीहरूले अति भएर निलम्बन गर्न कार्यवाहक सभापतिलाई पत्र पठाउनुभएछ।’
गम्भीर समस्या रहेका व्यक्तिलाई अब कुनै हालतमा जोगाउनुहुँदैन भनेर पार्टी केन्द्रमा दबाब परिरहेको उनको भनाइ छ। उनका अनुसार, यसपालि पनि जोगाइएमा पार्टीमा ठूलै विद्रोह हुने र झापाका १५ वटै पालिका सभापतिले राजीनामा तयार पारेको जानकारी पनि केन्द्रलाई गरिएको छ।
‘यदि उमेशजीलाई कारबाही नगरी जोगाइयो भने जिल्लाका १५ वटा पालिका सभापतिले राजीनामा दिने भनेर पत्र लेखेर राख्नुभएको छ,’ उनले भने।
यसअघि रास्वपाकै कोसी प्रदेश सभापति राजेश तिमिल्सिनालाई पनि निलम्बन गरिएको थियो। तत्कालीन महामन्त्री डा मुकुल ढकाललाई कारबाही गर्न गरेको हस्ताक्षर फिर्ता लिएका उनलाई सोही आधारमा निलम्बन गरेको भनिएको थियो। यद्यपि, उनीमाथि पनि विभिन्न आरोप लागेका थिए।
झापा जिल्ला समितिका एक सदस्यले पार्टी शुद्धीकरण अभियानअन्तर्गत नै सभापतिमाथि कारबाही गर्न पत्राचार गरिएको प्रतिक्रिया नेपालखबरलाई दिए।
‘साथीहरूको गुटबन्दी चल्दै छ रे, अधिवेशन लाग्यो होला’
सभापति खरेलले आफ्नाविरुद्ध गरिएको सिफारिसबारे अहिलेसम्म पार्टी केन्द्रबाट कुनै जानकारी वा सोधपुछ नभएको प्रतिक्रिया दिएका छन्।
नेपालखबरको प्रश्नमा उनले भने, ‘म भएको ठाउँमा त त्यस्तो कुरा आएको छैन। आयो भने थाहा होला। म अहिले काठमाडौँमा आएको छु।
आफ्नाविरुद्ध गरिएको सिफारिसबारे पार्टी केन्द्रले कुनै जानकारी वा सोधपुछ नगरेको प्रतिक्रिया दिए।
आफ्नै समितिले गरेको सिफारिसबारे सभापतिलाई थाहा हुन्न र?
उनी भन्छन्, ‘त्यस्तो केही होइन, अधिवेशन लागेको होला साथीभाइहरूलाई। के हो, यकिन थाहा छैन।’
तपाईँको विरुद्ध कोको लागेका थिए भन्ने प्रश्नमा उनको जवाफ छ, ‘आफूलाई थाहै नभएको कुरामा अहिले नबोलौँ होला। केही भएको भए त केन्द्रले अहिलेसम्म फोन गरिसक्थ्यो, केही गरिसक्थ्यो। त्यस्तो केही आएकै छैन।’
त्यसो भए कारबाही सिफारिस भएको भन्ने नै गलत हो त?
‘साथीहरूको गुटबन्दी चल्दै छ है झापामा भन्ने सुनेको हो, अरू थाहा छैन,’ खरेलको भनाइ छ।
Shares

प्रतिक्रिया