समाज


सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याँक्ने ६ उद्योगलाई जरिवाना

सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याँक्ने ६ उद्योगलाई जरिवाना

नेपालखबर
साउन ५, २०८३ मंगलबार २१:३७, काठमाडौँ

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गत उद्योग विभागले सिर्सिया नदीमा फोहर फ्याँक्ने छ वटा उद्योगलाई प्रत्येकलाई १० लाखको दरले जरिवाना गरेको छ। 

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवको अगुवाईमा सिर्सिया नदी दुर्गन्धित गर्ने उद्योग तथा कलकारखानालाई प्रदूषण नियन्त्रण गर्नका एक महिनाको समय सीमा दिइएको थियो। 

एक महिनाको अवधिमा उद्योग कलकारखानाबाट निस्कने फोहरमैला तथा प्रदूषण नियन्त्रण नगरेको भन्दै उद्योग विभागले १२ वटा उद्योगलाई कारबाही प्रक्रिया अघि बढाएको छ। 

उद्योग विभागका महानिर्देशक जितेन्द्र बस्नेतले छ वटा उद्योग १० लाखका दरले जरिवाना गरेको बताए। उनका अनुसार जगदम्बा स्टिल इन्डस्ट्रिज लिमिटेड, बारा, हुलास स्टिल इन्डस्ट्रिज प्रालि बारा, शिवशक्ति घिउ उद्योग प्रालि, बारा, सुशील वनस्पति प्रालि, पर्सा, अन्नपूर्ण भेजिटेबल प्रोडक्ट्स, बारा र अशोक स्टिल इन्डष्ट्रिज प्रालि बारालाई १० लाखको दरले जरिवाना गरिएको छ। 

उद्योग विभागले मधेस प्रदेश सरकार मातहत पर्ने छ वटा उद्योग तथा कलकारखानालाई आवश्यक कारबाही गर्नका लागि सिफारिस गरेको जनाएको छ। यसअघि वातावरण विभागको प्राविधिकसहितको अनुगमन टोलीले बारा र पर्साका २१ उद्योगको स्थलगत निरीक्षण गरी फोहर पानीको नमूना सङ्कलन गरेको थियो। नमूना सङ्कलन गरेकामध्ये १२ वटा उद्योग कलकारखानाबाट निस्कने पानी प्रदूषित भेटिएपछि कारबाही प्रक्रिया अघि बढाइएको हो। सिर्सिया नदी वीरगञ्ज–पथलैया औद्योगिक करिडोरका उद्योगबाट वर्षौँदेखि रसायनयुक्त फोहर पानी मिसिँदै आएपछि अत्यधिक प्रदूषित हुँदै आइरहेको छ। 

मन्त्री यादवले उद्योगबाट निस्कने फोहरमैलाले नदीलाई प्रदूषित गराएको खण्डमा आवश्यक निरीक्षण गरेर जरिवाना गर्नका लागि निर्देशन दिएकी थिइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad