कोशी


मोरङबाट हराएका ५ बालबालिका भारतमा भेटिए, आज अभिभावकको जिम्मा लगाउने तयारी

मोरङबाट हराएका ५ बालबालिका भारतमा भेटिए, आज अभिभावकको जिम्मा लगाउने तयारी

सुमन सुस्केरा
माघ १३, २०८१ आइतबार १०:५३, विराटनगर

नेपालबाट भारत पुगेका ५ बालबालिकाको उद्धार गरिएको छ। नेपाल-भारत सीमा क्षेत्र जोगवनी नाका भएर भारत पुगेका उनीहरूलाई भारतको बिहारबाट उद्धार गरिएको बालबालिका खोजतलास केन्द्र (विराटनगर) ले जनाएको छ। फिर्ता गरेर ल्याइएका बालबालिका सबै मोरङका हुन्।

उनीहरू विराटनगर महानगरपालिका वडा नम्बर १, ८, १४ र विराटनगर १९ का छन्। उनीहरू भारतको रेल्वे स्टेसनमा माग्ने तथा विभिन्न जोखिमपूर्ण अवस्थामा फेला पारेपछि बालबालिका खोजतलास केन्द्रले उद्धार गरेको हो।

उद्धारमा संलग्न केआईएन इन्डियाका नवीन जोशीले जोखिमपूर्ण अवस्थामा रहेका नेपाली बालबालिकालाई भारतीय प्रहरीको सहयोगमा भारतीय बाल कल्याण समितिको जिम्मा लगाइएको बताए।

उनका अनुसार १७ वर्षीया किशोरी भारतको सारसा जिल्लामा फेला परिन्। जोखिम पूर्ण अवस्थामा फेला पारेकी उनलाई भारतीय प्रहरीले बाल कल्याण समितिको जिम्मा लगाएको थियो। उनी नेपालबाट कहिले त्यहाँ पुगिन् भन्ने थाहा छैन। १३ वर्षको उमेरमै विवाह भएको उनको १७ वर्षका उमेरमा दुईवटा बच्चा घरमा रहेको प्रारम्भिक रूपमा आएको बालबालिका खोजतलास केन्द्र १०४ का प्रदेश समन्वय अधिकृत सुमन अधिकारीले जानकारी दिए।

उनलाई घरमा धेरै यातना दिएको, श्रीमान् र सासूले कुटपिट गर्ने गरेको समेत ती बालिकाले अनुसन्धानको क्रममा बताएकी छन्। भारतको कटिहार स्टेसनमा अलपत्र अवस्थामा भेटिएकी अर्की १३ वर्षीय बालिकाको पनि उद्धार गरिएको छ। बोर्डर पार गरेर गएकी बालिका कसरी त्यहाँ पुगिन् भन्ने एकिन छैन। कटिहार पुगेपछि अलमलमा परेको र कहाँ जाने भन्ने समेत थाहा नभएको अरू कसैले देखेर भारतीय प्रहरीलाई खबर गरेका थिए।

उनीसँगै गएको उनको १० वर्षीय भाइ भने रेल्वे स्टेसनमा अलपत्र अवस्थामा फेला परेको उद्धारमा संलग्न अधिकारीहरूले बताएका छन्। अन्य दुई बालक कटिहारका विभिन्न ठाउँमा भिख माग्दै गरेको अवस्थामा फेला परेका छन्। ती दुईमध्ये एक जना ११ र अर्को ७ वर्षका बालक हुन्। उद्धार गरेर नेपाल ल्याइएका ती बालबालिकालाई आज अभिभावकको जिम्मा लगाउने तयारी गरिएको छ।

भारतमा बालबालिकासम्बन्धी कानुन कडा रहेका कारण अन्तर देश उद्धार र फिर्ती प्रक्रिया झन्झटिलो रहेको उद्धारमा संलग्न बालबालिका खोजतलास केन्द्रले जनाएको छ। कानुनी प्रक्रियाअनुसार फिर्ता गर्न भारतको विदेश मन्त्रालय हुँदै डिस्ट्रिक्ट मेजिस्ट्रेटबाट नो अब्जेक्सन सर्टिफिकेट लिएपछि मात्र फर्काउने व्यवस्था छ।

एक वर्षदेखि हराइरहेका बालबालिका नेपाल फर्काएर ल्याउन ६ महिना लागेको छ। भारतीय बाल कल्याण समितिले ती बालबालिकालाई बालगृहमा राखेको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad