इरानले कतारपछि कुवेतमा तेल प्रशोधन केन्द्रमा हवाई आक्रमण गरेको छ।
कुवेतको सरकारी स्वामित्वको तेल कम्पनी कुवेत पेट्रोलियम कर्पोरेसनले आफ्नो तेल प्रशोधन केन्द्रमा धेरैवटा प्रहार गरिएको बताएको छ।
यो खबर लेख्दासम्म कुनै हताहतको रिपोर्ट भने छैन।
कुवेतको सरकारी समाचार एजेन्सीका अनुसार आक्रमणका कारण मिना अल-अहमदी रिफाइनरीमा आगलागी भएको थियो, जसलाई निभाउन आपत्कालीन टोलीले कडा परिश्रम गरेका थिए। रिफाइनरीका केही एकाइ बन्द गर्नुपरेको थियो।
बुधबार इजरायलले आफ्नो देशमा रहेको ‘साउथ पार्स ग्यास फिल्ड’मा हवाई हमला गरेपछि इरानले खाडीका मुलुकमा रहेका ऊर्जा पूर्वाधारलाई निसाना बनाइरहेको छ।
यसअघि इरानले बुधबार र बिहीबार कतारको रास लाफानमा रहेको ऊर्जा परिसरमा क्षेप्यास्त्र हानेको थियो।
अमेरिका-इजरायले गत फेब्रुअरी २८ मा संयुक्त हवाई हमला गरी इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीको हत्या गरेयता युद्ध जारी छ।
बदलामा इरानले इजरायलका साथै अमेरिकी अड्डा रहेका खाडीका देशहरूमा पनि ड्रोन/क्षेप्यास्त्र प्रहार गर्दा मध्यपूर्वभरि युद्ध फैलिएको छ।
यसबिच इजरायलले इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव अली लारिजानीको पनि हत्या गरेको छ।
यसपछि आक्रोशित इरानका सैन्य प्रमुख अमिर हतामीले यसको ‘निर्णायक’ बदला लिने चेतावनी दिएका छन्।
इरानका अनुसार इजरायल-अमेरिकाको आक्रमणबाट अहिलेसम्म ३ हजारभन्दा बढी मानिस मारिइसकेका छन्।
तत्कालीन सर्वोच्च नेता खामेनी मारिएपछि इरानले उनकै छोरा मोज्तबा खामेनीलाई नयाँ सर्वोच्च नेता बनाएको छ।
इजरायलले अब उनलाई पनि मारिने धम्की दिएको छ।
Shares

प्रतिक्रिया