जेन–जी आन्दोलनको क्रममा देशका अन्य सरकारी भवनहरूसँगै कोसी प्रदेशको प्रदेश सभा भवन पनि खरानी बन्यो। भवन जलाइएको करिब ६ महिनापछि कोसी प्रदेश सरकारले बल्ल प्रदेश सभा बैठकका लागि नयाँ भवन निर्माण थालेको छ।
जिल्ला समन्वय समितिको भवनमा सञ्चालन भइरहेको प्रदेश सभाको भवन गत भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनको क्रममा ध्वास्त बनाइएको थियो। कामै नलाग्ने अवस्थामा पुगेको भवनबाट प्रदेश सभा सञ्चालन हुन नसक्ने भएपछि प्रदेश सरकारले प्रदेश सभा भवन कटहरी गाउँपालिकामा रहेको एकीकृत तरकारी तथा फलफूल थोक बजारको भवनमा सारेको थियो।

कुनै समय स्थानीय किसान र व्यापारीहरूको भिडभाड हुने, तरकारीको भारी बिसाउने र मोलमोलाइ हुने यही स्थल अब प्रदेशको नीति निर्माण गर्ने गरिमामय ठाउँका रूपमा विकास हुँदै छ। रातो जस्ताको छानामुनि धमाधम इँटाका पर्खालहरू ठडिँदै गरेको दृश्यले यो क्षेत्रको फेरिँदो परिवेशलाई चित्रण गर्छ। हिजोसम्म खुला रहेको यो संरचनालाई अहिले कोठाको रूप दिने प्रयास हुँदै छ।
निर्माण व्यवसायी रामचन्द्र प्रसादका अनुसार, सम्झौता ढिला भएकोले काम पनि ढिला भएको हो । भ्याट सहित करिब ३ करोड ७२ लाख ९० हजार रुपैयाँको लागतमा प्रदेश सभाको अस्थायी संरचना निर्माणको काम पुरा गर्ने गरी सम्झौता भएको छ।

सम्झौता अनुसार आगामी असार २० गतेभित्र काम सम्पन्न गरिसक्नुपर्ने छ। कोसी प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयले टेन्डर लगाएर निर्माण काम सुरु गर्न लागेको हो। कोसी प्रदेश सभा सचिव सुदर्शन खड्काले सम्झौता अवधिमा नै काम पुरा हुने बताए। उनले सभाको गरिमालाई कायम राख्न यसअघिका केहि बैठक सभागृहबाट सञ्चालन भएको बताए। भवन तयार नहुँदासम्म प्रदेश सभा वीरेन्द्र सभागृहमै सञ्चालन हुने उनले बताए।
प्रदेश सभा सचिवालय गत कात्तिक अन्तिममा तरकारी बजारमा सारिएपछि त्यहाँ तत्कालै प्रदेश सभा सञ्चालन हुने भनिए पनि कामले गति लिन सकेन। प्रदेश सभाको संरचना बनाउने काम सुरु गर्ने सरकारको योजना पहिलो चरणमा नै असफल भएको थियो। योजना प्राथमिकतामा पर्न नसक्दा लामो समयसम्म अन्यौलता सिर्जना भएको थियो। कोसी प्रदेश सभा यही तरकारी बजारमा रहेको टिनका छानामुनि खुल्ला रूपमा नै बैठक सञ्चालन गर्ने पनि भनियो।

सचिवालयले विराटनगर महानगरपालिकाको वीरेन्द्र सभागृहबाट प्रदेश सभाका केही बैठकहरू सञ्चालनका गरेको छ। आर्थिक वर्ष सकिन चार महिना बाँकी रहँदा मात्रै बल्ल प्रदेश सभा बनाउने काम सुरु भएको छ। फागुन १५ को सम्झौता पछि बल्ल निर्माणको काम शुरू गरिएको छ।
Shares

प्रतिक्रिया