ग्लोबल


भारतले डेंगीविरुद्ध पहिलोपटक दियो खोप प्रयोगको अनुमति

भारतले डेंगीविरुद्ध पहिलोपटक दियो खोप प्रयोगको अनुमति

नेपालखबर
साउन ५, २०८३ मंगलबार १५:४८, काठमाडौँ

भारतले डेंगी नियन्त्रणका लागि पहिलोपटक खोप प्रयोगको अनुमति दिएको छ।

भारतीय स्वास्थ्य मन्त्रालयले जापानी औषधि कम्पनी टाकेडाले विकास गरेको ‘क्युडेङ्गा’ खोपलाई ४ देखि ६० वर्ष उमेर समूहका व्यक्तिमा प्रयोग गर्न स्वीकृति दिइएको जनाएको छ।

जलवायु परिवर्तन, तीव्र सहरीकरण र बढ्दो तापक्रमका कारण डेंगीको जोखिम बढिरहेका बेला यो निर्णयलाई महत्त्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।

भारतको केन्द्रीय औषधि मानक नियन्त्रण संगठन (सीडीएससीओ) ले खोपको गुणस्तर, सुरक्षा र प्रभावकारिताको विस्तृत मूल्यांकनपछि स्वीकृति प्रदान गरेको हो।

मन्त्रालयका अनुसार उक्त खोप ४ देखि ६० वर्ष उमेर समूहका व्यक्तिमा डेंगी रोगको रोकथामका लागि प्रयोग गरिनेछ। ‘क्युडेङ्गा’ खोप दुई मात्रा (डोज) मा दिइनेछ। यसमा दोस्रो मात्रा पहिलो खोप लगाएको तीन महिनापछि लगाइने व्यवस्था छ।

टाकेडाले भारतमा खोपको उत्पादन र आपूर्ति विस्तार गर्न भारतीय कम्पनी बायोलोजिकल ईसँग सहकार्य गरिरहेको जनाएको छ।

मन्त्रालयका अनुसार उक्त खोपले डेंगी भाइरसका सबै चार प्रकार (सेरोटाइप) विरुद्ध सुरक्षा प्रदान गर्छ। यो खोप युरोपेली संघ (ईयू), बेलायत, स्विट्जरल्यान्ड, इन्डोनेसियासहित ४२ देशमा प्रयोगका लागि स्वीकृत भइसकेको छ। साथै यसले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) को पूर्वयोग्यता (प्रि-क्वालिफिकेसन) पनि प्राप्त गरेको छ।

हालसम्म विश्वभर २ करोड ४० लाखभन्दा बढी मात्रा वितरण भइसकेको र यसको प्रयोगका क्रममा कुनै गम्भीर सुरक्षा समस्या नदेखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

डब्ल्यूएचओका अनुसार विश्वको जनसंख्यामध्ये झन्डै आधा व्यक्ति डेंगीको जोखिममा छन्। प्रत्येक वर्ष विश्वभर अनुमानित १० करोडदेखि ४० करोडसम्म मानिस डेंगीबाट संक्रमित हुने गरेका छन्।

पछिल्ला वर्षहरूमा जलवायु परिवर्तन, मौसमको बदलिँदो स्वरूप र तीव्र सहरीकरणका कारण डेंगीको संक्रमण उल्लेखनीय रूपमा बढेको छ।

भारतको पछिल्लो आधिकारिक तथ्यांकअनुसार सन् २०२१ यता त्यहाँ १० लाखभन्दा बढी डेंगी संक्रमण पुष्टि भएको भने कम्तीमा एक हजार ५०० जनाको मृत्यु भएको छ।

यसैबिच भारतमै विकास भइरहेको पानासिया बायोटेकको ‘डेन्गीअल’ नामक डेंगी खोप अन्तिम चरणको क्लिनिकल परीक्षणमा पुगेको छ।

स्वीकृति प्राप्त गरेपछि यो विश्वकै पहिलो एकल मात्रा (सिङ्गल डोज) डेंगी खोपमध्ये एक बन्न सक्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad