ग्लोबल


राहुल गान्धीले भने: नरेन्द्र मोदीले विद्यार्थीसँग माफी माग्नुपर्छ

राहुल गान्धीले भने: नरेन्द्र मोदीले विद्यार्थीसँग माफी माग्नुपर्छ

नेपालखबर
साउन ५, २०८३ मंगलबार १५:२०, काठमाडौँ

भारतीय कंग्रेस नेता तथा लोकसभामा विपक्षी दलका नेता राहुल गान्धीले कक्रोच जनता पार्टी (सीजेपी) को विरोध प्रदर्शनमा गरिएको दमनका लागि प्रधानमन्त्री नरेन्द्र मोदीले माफी माग्नुपर्ने बताएका छन्। 

मंगलबार संसद् परिसरमा पत्रकारसँग कुरा गर्दै गान्धीले लोकसभाका सभामुखलाई भेटेर संसद्‌मा विद्यार्थीका मागमा छलफलको माग गरएको बताए। तर सभामुखले यसका लागि सरकारसँग अनुमति लिनुपर्ने बताएको उनले सुनाए। 

उनले भने, ‘यो विद्यार्थीको भविष्यसँग जोडिएको गम्भीर मुद्दा हो, जसलाई कुटिपट गरिएको छ, यो ठिक होइन। नरेन्द्र मोदीले यसका लागि माफीसम्म मागेका छैनन्। यी युवा देशको ध्वस्त शिक्षा र परीक्षा प्रणालीको विरोध गरिरहेका छन्।’

राहुल गान्धीले थपे, ‘प्रधानमन्त्री किन मौन छन्? उनले विद्यार्थीसँग माफी माग्नुपर्छ र उनीहरूलाई कुटपिट गर्ने यो सिलसिला बन्द गर्नुपर्छ।’

यस्तै उनले विद्यार्थीलाई कुटिपट गरेबापत गृहमन्त्री अमित शाहले राजीनामा दिनुपर्ने पनि बताए। 

यसैबिच कक्रोच जनता पार्टी (सीजेपी) ले भारतमा परीक्षा प्रणाली सुधार र शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग्दै सुरु आन्दोलन माग पूरा नभएसम्म नरोकिने घोषणा गरेको छ। 

नयाँदिल्लीमा सोमबार भएको विशाल प्रदर्शनमा प्रहरी र प्रदर्शनकारीबिच झडप हुँदा कम्तीमा १७८ जना घाइते भएपछि आन्दोलन थप चर्किएको हो।

सीजेपीले सामाजिक सञ्जालमार्फत आन्दोलनलाई जारी राखिने जानकारी दिएको हो। 

आज मंगलबार पनि सयौँ प्रदर्शनकारी भारतको राजधानी दिल्लीस्थित जन्तरमन्तर क्षेत्रमा धर्नामा बसेका छन्। उनीहरूले शिक्षामन्त्रीको राजीनामासँगै परीक्षा प्रणालीमा व्यापक सुधार गर्नुपर्ने माग राखेका छन्।

यसअघि सोमबार हजारौँ प्रदर्शनकारी संसद्तर्फ मार्च गर्न खोजेपछि प्रहरीले उनीहरूलाई रोक्न अश्रुग्यास र लाठी प्रहार गरेको थियो।

दिल्ली प्रहरीले प्रदर्शनकारी र सुरक्षाकर्मीबिच भएको झडपमा कम्तीमा १७८ जना घाइते भएको जनाएको छ। तीमध्ये वरिष्ठ अधिकारीहरूसहित ११८ जना प्रहरी कर्मचारी छन्। प्रहरीले प्रदर्शनकारीको भिडलाई ‘अनियन्त्रित, आक्रामक र हिंसात्मक’ भएको आरोप लगाएको छ। साथै झडपका क्रममा करिब ६० जना प्रदर्शनकारी पनि घाइते भएको जनाएको छ।

यद्यपि आन्दोलनका आयोजकहरूले प्रहरीको बल प्रयोगको कडा आलोचना गरेका छन्। 

विश्लेषकहरूले यसलाई प्रधानमन्त्री नरेन्द्र मोदीले सन् २०२४ मा तेस्रो कार्यकाल सुरु गरेयताको प्रमुख जनदबाबमध्ये एक मानेका छन्।

भारतमा पछिल्ला महिनाहरूमा सार्वजनिक परीक्षा प्रणालीसँग सम्बन्धित घोटाला सार्वजनिक भएपछि विद्यार्थीको असन्तुष्टि बढ्दै गएको छ।

गत महिना करिब २२ लाख मेडिकल विद्यार्थीले सुरक्षा व्यवस्थाबिच पुनः परीक्षा दिएका थिए। त्यसअघि करिब २० लाख माध्यमिक तहका विद्यार्थीको परीक्षाको अनलाइन मूल्यांकन प्रणालीसँग सम्बन्धित अर्को विवाद पनि सार्वजनिक भएको थियो।

तीव्र आर्थिक वृद्धिका बाबजुद स्थायी र राम्रो रोजगारीको अभाव तथा बारम्बार देखिएका परीक्षा अनियमितताले भारत सरकारप्रति युवामा असन्तुष्टि बढाउँदै लगेको विश्लेषण गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad