इरानसँग द्वन्द्व तीव्र हुँदै जाँदा अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प हर्मुज स्ट्रेट पुनः खोल्ने उद्देश्यले दश दिनको युद्धविराम प्रस्ताव मान्ने वा इजरायलसँग मिलेर ठुलो सैन्य अभियान सञ्चालन गर्ने भन्ने द्विविधामा परेका छन्।
अमेरिकी सञ्चारमाध्यम एक्सियोसले वरिष्ठ अमेरिकी तथा रइजरायली स्रोतलाई उद्धृत गर्दै लेखेअनुसार ट्रम्पले अझै अन्तिम निर्णय लिइसकेका छैनन् भने अधिकारीहरूले कूटनीति वा सैन्य अभियान थप गर्न सुझाव दिएका छन्।
एक्सियोसको रिपोर्टअनुसार कतार, इजिप्ट, पाकिस्तान र अन्य क्षेत्रीय मध्यस्तकर्ता वा सहयोगीले संयुक्त राज्य अमेरिका र इरानसमक्ष दश दिन युद्धविराम गर्न प्रस्ताव राखेका छन्।
प्रस्तावमा शत्रुता अस्थायी रूपमा रोक्ने, स्ट्रेट अफ हर्मुज हुँदै ढुवानी मार्ग पुनः खोल्ने र समुद्री पारवहन नियन्त्रण गर्ने दीर्घकालीन व्यवस्थापनका लागि वार्ता गर्ने विषय छन्।
क्षेत्रीय स्रोतलाई उद्धृत गर्दै एक्सियोसले ट्रम्प प्रशासनले प्रस्तावको समीक्षा गरिरहेको उल्लेख गरेको छ।
यद्यपि अमेरिकाले थप लडाकु विमान र हवाई इन्धन साधन तैनाथ गरेर यस क्षेत्रमा आफ्नो सैन्य उपस्थिति बढाएको छ भने इजरायलले कूटनीति असफल भएमा व्यापक सैन्य अभियानको तयारी गरिरहेको बताइएको छ।
अमेरिका र इरानले अहिलेसम्म युद्धविराम प्रस्ताव स्वीकार नगरी सैन्य कारबाही जारी राखेको एक्सियोसले जनाएको छ।
रिपोर्टअनुसार यस महिनाको सुरुमा मस्कटमा ओमान, इरान र कतारसँगको छलफलपछि क्षेत्रीय मध्यस्थकर्ताहरूले वार्तालाई पुन: निरन्तरता दिन प्रयास गरिरहेका छन्। प्रस्तावित सम्झौतामा दश दिन युद्धविरामको समयमा स्ट्रेट अफ हर्मुज हुँदै दुवै ढुवानी मार्ग पुनः खोल्ने र संयुक्त राज्य अमेरिका र इरानले दीर्घकालीन सम्झौताका लागि वार्ता गर्ने कुरा छन्।
साथै प्रस्तावमा इरान र ओमानलाई ढुवानीसम्बन्धी सेवाका लागि “उचित सेवा शुल्क“ सङ्कलन गर्न अनुमति दिने वा अन्तर्राष्ट्रिय समुद्री संगठन (आईएमओ) को सहभागितामा संयुक्त कोष सिर्जना गर्नेलगायत भविष्यका समुद्री सुरक्षा व्यवस्थाका लागि विकल्प पनि समेटिएको एक्सियोसले उल्लेख गरेको छ।
जोर्डनमा इरानले क्षेप्यास्त्र प्रहार गर्दा अमेरिकी सेनाका सदस्यको मृत्य भएपछि युद्धविरामका प्रयास सुस्त भएको एक्सियोसले जनाएको छ।
अमेरिकाका राष्ट्रपति ट्रम्पले अन्य निर्णय नहुँदासम्म इरानविरुद्ध आक्रमण जारी रहने बताएको अधिकारीले जानकारी गराएका छन्।
इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाईले थप तनाव रोक्न मध्यस्थकर्ताहरूले प्रयास गरिरहेको पुष्टि गरेका छन्।
मध्यस्थकर्ताहरूमार्फत पठाइएको प्रस्ताव प्राप्त भइसकेको तर यस विषयमा छलफल भइनसकेको उनले पत्रकारहरूसँग बताएका छन्।
उनले इरानको सशस्त्र बलले अमेरिकाको आक्रमणविरुद्ध जवाफी हमला जारी रहने पनि जनाएका छन्।
कूटनीतिक प्रस्तावमा अन्तिम निर्णय गर्नुअघि ट्रम्पले अस्थायी युद्धविरामको विकल्प रोज्ने वा सैन्य कारबाही जारी राख्ने भन्ने कुरा स्पष्ट नभएको एक्सियोसले जनाएको छ।
Shares

प्रतिक्रिया