ग्लोबल


इरानले कतारमा फेरि हान्यो क्षेप्यास्त्र

इरानले कतारमा फेरि हान्यो क्षेप्यास्त्र

नेपालखबर
चैत ५, २०८२ बिहिबार १०:५८, काठमाडौँ

इरानले कतारको रास लाफानमा रहेको ऊर्जा परिसरमा फेरि क्षेप्यास्त्र प्रहार गरेको छ।

कतारको सरकारी स्वामित्वमा रहेको ऊर्जा कम्पनीले बिहीबार बिहान मुख्य ग्यास क्षेत्रमा रकेट प्रहार गरिएको पुष्टि गरेको छ।

कतारका अनुसार आक्रमणपछि आगो लागेको छ र ठुलो मात्रामा क्षति भएको छ। तर कोही पनि घाइते भएका छैनन्। 

यसअघि बुधबार पनि इरानले कतारको रास लाफान औद्योगिक क्षेत्रमा आक्रमण गरेको थियो। जसबाट त्यहाँ ठुलो क्षति भएको छ।

बुधबार आफ्नो देशमा रहेको विश्वकै ठुलो प्राकृतिक ग्यास क्षेत्र साउथ पार्समा इजरायलले आक्रमण गरेपछि जवाफमा इरानले कतारको रास लाफान औद्योगिक क्षेत्रमा हमला गरिरहेको हो। 

रोयटर्सका अनुसार इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) ले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘हामी तिमीलाई फेरि एकपटक चेतावनी दिन्छौँ- इस्लामिक गणतन्त्रको ऊर्जा पूर्वाधारमा आक्रमण गरेर गम्भीर गल्ती गरेका छौ। यदि यो दोहोरियो भने तिम्रा र तिम्रा सहयोगीका ऊर्जा पूर्वाधार पूर्ण रूपमा नष्ट नभएसम्म आक्रमण रोकिने छैन।’

आईआरजीसीसँग सम्बद्ध समाचार एजेन्सी 'तस्निम'का अनुसार बुधबार इजरायलले इरानको साउथ पार्स ग्यास फिल्डमा रहेको पेट्रोकेमिकल कम्प्लेक्समा इजरायलले हवाई आक्रमण गरेको थियो। 

साउथ पार्स विश्वको सबैभन्दा ठूलो प्राकृतिक ग्यास फिल्ड हो, जहाँ इरान र कतारले आआफ्ना प्लान्ट सञ्चालन गर्छन्। 

बीबीसी फारसीका अनुसार असालुयेहका गभर्नर इस्कन्दर पासालरले भने, ‘शत्रुको आक्रमणले साउथ पार्सका धेरै भागमा असर गरेको छ।’ 

रिपोर्टअनुसार आक्रमणपछि कर्मचारीहरूलाई सुरक्षित स्थानमा सारिएको छ। 

बुधबार इरानको साउथ पार्स ग्यास फिल्डमा गरिएको आक्रमणपछि देखिएको आगो र धुवाँ।

होर्मुज स्ट्रेटबाट ढुवानी लगभग बन्द हुनुभन्दा अघि नै बढेको तेलको मूल्य बिहीबार झन् उकालो लागेको छ।

अमेरिकी कच्चा तेलको मुख्य सूचकांक ३ प्रतिशतभन्दा माथि पुगेको छ।

कतारको सबैभन्दा ठुलो ऊर्जा प्लान्टमा क्षेप्यास्त्र आक्रमण भएपछि रास लाफानको क्षेत्र खाली गराइएको छ।

कतार सरकारले भनेको छ, ‘औद्योगिक सहर रास लाफानमा भएको लज्जास्पद क्षेप्यास्त्र आक्रमण हाम्रो राष्ट्रिय सुरक्षा र स्थिरताका लागि प्रत्यक्ष खतरा हो।’

कतारको विदेश मन्त्रालयले सामाजिक सञ्जालमा लेखेको छ, ‘इरानले युद्धमा संलग्न नभएका देशहरूलाई द्वन्द्वमा तानिरहेको छ।’ 

कतारले अगाडि भनेको छ, ‘जवाफ दिने हाम्रो अधिकार सुरक्षित छ र आफ्नो सार्वभौमसत्ता, सुरक्षा र आफ्ना नागरिक रक्षाका लागि आवश्यक सबै कदम चाल्न हिचकिचाउने छैनौँ।’ 

यसैबिच कतार सरकारले आफ्नो देशमा रहेका इरानी दूतावासका सैन्य तथा सुरक्षा सहचारीसहित सम्पूर्ण कर्मचारीहरूलाई 'पर्सोना नन ग्राटा' (अवाञ्छित व्यक्ति) घोषणा गर्दै २४ घण्टाभित्र देश छाड्न आदेश दिएको छ।

अमेरिका-इजरायले गत फेब्रुअरी २८ मा संयुक्त हवाई हमला गरी इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीको हत्या गरेयता युद्ध जारी छ। 

बदलामा इरानले इजरायलका साथै अमेरिकी अड्डा रहेका खाडीका देशहरूमा पनि ड्रोन/क्षेप्यास्त्र प्रहार गर्दा मध्यपूर्वभरि युद्ध फैलिएको छ। 

यसैबिच इजरायलले मंगलबार मात्र इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव अली लारिजानीको पनि हत्या गरेको छ।

यसपछि आक्रोशित इरानका सैन्य प्रमुख अमिर हतामीले यसको ‘निर्णायक’ बदला लिने चेतावनी दिएका छन्।

इरानका अनुसार इजरायल-अमेरिकाको आक्रमणबाट अहिलेसम्म ३ हजारभन्दा बढी मानिस मारिइसकेका छन्।

तत्कालीन सर्वोच्च नेता खामेनी मारिएपछि इरानले उनकै छोरा मोज्तबा खामेनीलाई नयाँ सर्वोच्च नेता बनाएको छ।

इजरायलले अब उनलाई पनि मारिने धम्की दिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad