गण्डकी


रुखबाट लडेर मृत्यु भएको भनिएका युवकको हत्या भएको खुलासा

रुखबाट लडेर मृत्यु भएको भनिएका युवकको हत्या भएको खुलासा

नेपालखबर
चैत ९, २०८२ सोमबार ५:२१, काठमाडौँ

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानामा एक महिनाअघि रुखबाट लडेर मृत्यु भएको भनिएका युवाको हत्या भएको खुलासा भएको छ।

गत फागुन ७ गते दानाका २४ वर्षीय सौरव भनिने सुकमन विकको गैयाभाट जङ्गलमा घाँस काट्ने क्रममा रुखबाट लडेर मृत्यु भएको भनेर दाहसंस्कार गर्ने तयारी भएको थियो।

घटनाको बारेमा जानकारी पाएपछि मृतकको घरमा पुगेको प्रहरी टोलीले शवलाई परीक्षणका लागि बेनी अस्पताल ल्याएको थियो।

शव परीक्षण प्रतिवेदन र घटनाको सुक्ष्म अनुसन्धानका क्रममा एक महिनापछि दानाका २२ वर्षीय प्रकाश विकले सौरवको हत्या गरेको खुल्न आएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सागर तिमिल्सिनाले जानकारी दिए।

'शनिबार पक्राउ परेका प्रकाशले प्रारम्भिक बयानमा सौरवको हत्या गरेको स्वीकार गरेका छन्', उनले भने, 'मदिरा सेवनपछि भएको विवादले हत्याको रूप लिएको प्रकाशले स्वीकारेका हुन् । पारिवारिक सम्बन्धका कारण हत्याको घटना लुकाउने प्रयास भएको बुझिएको छ।'

ज्यानसम्बन्धी कसुर (कर्तव्य ज्यान) मुद्दामा जिल्ला अदालतबाट सात दिनको म्याद थप गरेर अनुसन्धानका लागि प्रकाशलाई हिरासतमा राखिएको प्रहरी निरीक्षक तिमिल्सिनाले बताए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad