प्रतिनिधि सभाको बैठक कक्षमा सभामुख डोलप्रसाद अर्याल प्रवेश गर्दा दुई मन्त्री बसिरहेपछि सांसदले नियमापत्ति गरेका छन्।
प्रतिनिधि सभाको मंगलबारको बैठकमा नौ वटा मन्त्रालयको बजेटमाथि छलफल गर्ने कार्यसूची रहेको थियो। बिहान ११ बजेदेखि सुरु भएको बैठक मध्याह्नतिर स्थगित हुन पुग्यो।
प्रतिनिधि सभाको बैठकमा मन्त्रीहरू उपस्थित नभएपछि सांसद गोपाल शर्माले नियमापत्ति गरेका थिए। प्रतिनिधि सभा नियमावली २०८३ मा मन्त्रालयका विषयमा छलफल हुँदा सम्बन्धित मन्त्री उपस्थित हुनुपर्ने व्यवस्था छ।
सांसद शर्माले नियमापत्ति गरेपछि सभामुख अर्यालले प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित गरेका थिए।
त्यसपछि मंगलबार अपराह्न दोस्रो पटक प्रतिनिधि सभाको बैठक सुरु भएको थियो। तर, बैठक सुरु हुनुअघि सभामुख अर्याल सभाकक्षमा प्रवेश गर्दा सबै सांसद उठेका थिए भने दुई जनामन्त्री बसिरहेछ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भौतिक पूर्वाधारमन्त्री सुनिल लम्साल बैठकमा थिए। उनीहरू आफ्नै सिटमा बसिरहे।
सभामुख अर्यालले प्रतिनिधि सभाको बैठक दोस्रो पटक सुरु गरे। दुई सांसदले बोलेपछि श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्क साम्पाङ बोल्नका लागि रोस्टममा गए।
त्यही नेकपा (एमाले)का सांसद ऐनबहादुर महरले नियमापत्ति गरे। उनले प्रतिनिधि सभा नियमावली २०८३ को नियम २० अनुसार नियमापत्ति गरेका थिए। त्यसपछि सभामुख अर्यालले उनलाई बोल्न समय दिए।
सांसद महरले भने, ‘यो सदनको गरिमा, मर्यादा हामी सबैको अनिवार्य जिम्मेवारी र दायित्व हो। सदनको गरिमा र मर्यादा पालना गर्ने क्रममा सबै जिम्मेवार बन्नुपर्छ भन्ने म ठान्दछु, सरकार, सत्तापक्ष, प्रतिपक्ष, विपक्ष सबै।’
उनले नियमावलीको नियम २० को खण्ड ‘क’ स्मरण गराए। त्यसमा सभामुख आउँदा सबै सांसदले उठेर सम्मान प्रकट गर्नुपर्ने व्यवस्था गरिएको छ।
‘प्रतिनिधि सभा नियमावली २०८३ को नियम २० को खण्ड क मा सभामुख बैठक कक्षमा प्रवेश गर्दा सबैले उठेर सम्मान प्रकट गर्नुपर्ने भन्ने विषय उल्लेख गरिएको छ,’ सांसद महरले भने, ‘अघि बैठक स्थगित गरेपछि बैठक सुरु गर्दैगर्दा सम्माननीय सभामुख महोदय बैठक कक्षमा प्रवेश गर्दैगर्दा दुई जना मन्त्रीले उठेर सम्मान गर्नु भएको छैन, बसिरहनु भएको छ।’
उनले कुनै पनि मन्त्री नाम लिएनन्। त्यतिबेला मन्त्रीद्वय डा. वाग्ले र लम्साल झस्किए। बैठकमा उपस्थित सांसदले भने टेबुल बजाएर समर्थन जनाए।
सांसद महर यतिमै रोकिएनन्। यसले संसद्को मर्यादामा ठेस पुगेको जिकिर गरे। ‘यसले हामीलाई चिन्तित र गम्भीर बनाएको छ। त्यो भिडिओ रेकर्ड चेक गरिकन रुलिङ गर्नका लागि सम्माननीय सभामुख महोदयलाई अनुरोध गर्दछु,’ सांसद महरले भने।
सभामुख अर्यालले पनि ध्यानपूर्वक सुने। उनले कुनै प्रतिक्रिया जनाएनन्। सांसद महरले बोलिसकेपछि रोस्टममा पुगिसकेका सांसद साम्पाङलाई बोल्न समय दिए।
Shares

प्रतिक्रिया