विराटनगरको धुलाम्मे सडक अनि वरिपरिका टोलमा आशा झाले कहिले विद्यार्थीहरूलाई कखरा सिकाइन् त कहिले महिला स्वास्थ्य स्वयंसेविका बनेर सेवा दिइन्। उनले सरकारी सेवाको पहुँच र सर्वसाधारणको बाध्यता नजिकबाट देखिन्। वर्षौँसम्म आवाज उठाए पनि नीतिगत परिवर्तन नदेखेपछि उनलाई लाग्यो: अब प्रणालीभित्रै पसेर हस्तक्षेप गर्नुपर्छ।
एकातिर जेनजी आन्दोलन। अर्कोतर्फ राष्ट्रिय स्वतन्त्र पार्टीमा बालेन्द्र शाहको इन्ट्री। जसले आशालाई रास्वपातर्फ आकर्षित गरायो। हालै सम्पन्न प्रतिनिधि सभाको चुनावमा आशा मोरङ क्षेत्र नं ५ बाट निर्वाचित भएकी छन्। ३० हजारभन्दा बढी मत ल्याउँदै उनी पहिलो प्रयासमै सांसद बनेकी हुन्।
चुनाव जितेपछि आशालाई यतिखेर खुसीभन्दा बढी दायित्व महसुस भइरहेको छ।
‘यो खुसीको पल त हो। तर खुसीभन्दा पनि बढी ठूलो दायित्वको पल हो। किनभने जति मत मलाई आएको छ, त्यसले बारम्बार एउटा ठूलो दायित्व बोध गराइरहेको छ,’ झाले भनिन्।

एउटा सामान्य स्वास्थ्य स्वयंसेविकादेखि देशको नीति निर्माण गर्ने थलोसम्मको उनको यो यात्रा निकै रोचक छ। मोरङको बाहुनीमा जन्मिए पनि आशाले पढाइ विराटनगरबाट गरिन्। उनले शिक्षा संकायबाट स्नातकसम्म पढेकी छिन्। सप्तरीको तिलाठीमा बिहे गरे पनि उनले विराटनगरलाई कर्मथलो बनाइन्।
सुरुवातमा आशाले तीन वर्ष शिक्षण गरिन्। तर उनको मनमा समाजको तल्लो तहमा पुगेर सेवा गर्न चाह थियो। त्यही सेवाभावले आशालाई स्वास्थ्य स्वयंसेविका बनायो।
स्वास्थ्य सेवामा मात्रै होइन, झाले करिब १७ वर्ष नागरिक समाजको सदस्यका रूपमा काम गरिन्। त्यसैक्रममा उनले विशेषगरी मधेसी महिलाहरूले भोग्नुपर्ने हिंसा, बालविवाह र दाइजो प्रथा जस्ता सामाजिक कुरीतिविरुद्ध अभियान नै चलाइन्।
‘स्वयंसेविकासँगै मैले नागरिक समाजको सदस्य बनेर सामाजिक सेवा गरेँ। महिलाका समस्यासहित त्यतिबेला मैले अदालतसम्म पुग्न नसक्ने गरिब र विपन्नका लागि निःशुल्क वकिलको व्यवस्था गरिदिनेदेखि घाइतेहरूको उपचारमा पहल गर्ने र गरिब बालबालिकालाई विद्यालय भर्ना गराउन छात्रवृत्तिको जोहो गरेँ,’ उनले भनिन्।
उनको परिचय केवल स्वास्थ्य क्षेत्र र समाजसेवामा मात्र सीमित छैन। व्यापारिक क्षेत्रमा पनि उनको अनुभव छ। पारिवारिक व्यवसाय सम्हालेकी उनी विराटनगरको व्यापारिक इतिहासमै पहिलो पटक कार्यसमितिमा पुग्ने महिला हुन्। व्यापारिक संघ–संगठनहरूमा पुरुषको मात्र वर्चस्व हुने समयमा उनले महिलाहरूको प्रतिनिधित्व गर्दै नेतृत्व तहमा काम गरिन्।

राणाविरुद्ध लड्दा सहिद भएका थिए हजुरबुवा
लामो समयसम्म झालाई राजनीतिप्रति खासै चासो थिएन। यद्यपि, उनको परिवार भने राजनीतिसँग नजिक थियो। आशाका हजुरबुवा सहिद हुन्। जसले २००७ सालमा प्रजातन्त्र प्राप्तिको लागि राणाविरुद्ध लड्दा ज्यान गुमाए। त्यहीकारण उनको परिवार लामो समयदेखि नेपाली कांग्रेसप्रति आस्थावान् थियो।
यति मात्र होइन, उनका श्रीमान् पनि लामो समय नेपाली कांग्रेसमा आबद्ध थिए। तर जेनजी आन्दोलनपछि भने उनका श्रीमानको राजनीतिक करिअरमा ठूलो मोड आयो। त्यसैबेला ‘देशको बच्चाहरूलाई भटाभट मार्ने राजनीतिक दल चाहिँदैन’ भन्दै अभिव्यक्ति दिएका उनले पछि कांग्रेस परित्याग गरे र पारिवारिक व्यवसाय सम्हाल्न थाले। श्रीमानको त्यो त्याग र साथ नै आशाका लागि राजनीतिक यात्राको ठूलो ऊर्जा बन्यो।
त्यसअघि आशालाई पुराना दलहरूको शैलीले तन्त्रता र काम गर्ने उत्साहलाई बाँधिदिन्छ जस्तो लाग्थ्यो।
‘दलको दलदल यस्तो थियो कि त्यो चित्त नै बुझ्दैनथ्यो। हातगोडा बाँधेर काम गर्न सकिने अवस्था थिएन। हामी जत्तिको मान्छेले कसैको निर्देशनभन्दा पनि सही के र गलत के त्यो पहिचान गरेर काम गर्नुपर्छ। समाजसेवाबाट मात्रै परिवर्तन ल्याउन सकिँदैन। राजनीतिमा हस्तक्षेप गर्नैपर्छ भनेर राजनीतिमा आएँ,’ उनले भनिन्।
सोहीबेला भ्रष्टाचारमुक्त समाज र सुशासनको नारा बोकेको रास्वपाको उदयले आफूलाई तत्कालै राजनीतिमा आउन प्रेरित गरेको बताउँछिन् ४२ वर्षीया झा।
‘सही र गलत पहिचान गरेर काम गर्ने मान्छेलाई कतै न कतै ठाउँ चाहिन्छ। त्यसैले मैले समाजसेवाको लामो अनुभवलाई अब राजनीतिक शक्तिमा बदल्ने निर्णय गरेँ,’ उनले भनिन्, ‘रास्वपाले बोकेको सुशासन र भ्रष्टाचारमुक्त समाजको एजेन्डाले मलाई आकर्षित गर्यो। अहिलेका जेनजी पुस्ताले खोजेको परिवर्तन यही पार्टीबाट सम्भव छ भन्ने लागेर रास्वपाबाट चुनाव लडेँ।’

यी क्षेत्रमा काम गर्ने अठोट
अहिले सांसद निर्वाचित भएसँगै आशा आफ्नो क्षेत्रका जनताका समस्या समाधान गर्न तयार छिन्। त्यसैले त मोरङ क्षेत्र नं ५ को विकासका उनले स्पष्ट एजेन्डा राखेकी छिन्।
उनका अनुसार विराटनगरमा सडकको अवस्था खराब छ। जीर्ण सडकको सुधार र वर्षायाममा हुने डुबानको दीर्घकालीन समाधान गर्ने उनको पहिलो एजेन्डा छ।
त्यसैगरी, सिँचाइको अभावमा रहेका कृषकलाई राहत दिने योजना रहेको समेत उनले बताइन्। सरकारी अस्पताल र विद्यालयमा हुने राजनीतिक हस्तक्षेप हटाएर सर्वसाधारणको सहज पहुँच सुनिश्चित गर्ने सुनाउँछिन् उनी।
विराटनगर कुनै समय नेपालको प्रमुख औद्योगिक केन्द्र थियो, जहाँका जुट मिल र कारखानाहरूले हजारौँलाई रोजगारी दिएका थिए। तर पछिल्लो समय ती उद्योगहरू बन्द हुनु र युवाहरू वैदेशिक रोजगारीमा पलायन हुनुले उनलाई चिन्तित बनाएको छ।
‘विराटनगरको पहिचान नै उद्योगसँग जोडिएको छ। तर आज हाम्रा जुट मिलहरू बन्द छन्, जसका कारण हाम्रा युवाहरू खाडी मुलुकमा पसिना बगाउन बाध्य छन्। मेरो प्राथमिकता ती बन्द उद्योगहरूलाई पुनः सञ्चालन गर्न नीतिगत पहल गर्नु र स्थानीय स्तरमै सम्मानजनक रोजगारी सिर्जना गर्नु हो। जुट मिललगायतका सरकारी र निजी क्षेत्रका उद्योगहरूलाई पीपीपी (पब्लिक प्राइभेट पार्टनरसिप) मोडलमा सञ्चालन गर्न सरकारलाई दबाब दिनु हो,’ उनले भनिन्।
Shares

प्रतिक्रिया