कला


विमान उडाउँदा उडाउँदै हिरो बनेका समर्पण

विमान उडाउँदा उडाउँदै हिरो बनेका समर्पण

लक्ष्मी बलायर
फागुन २४, २०८० बिहिबार १८:४२, काठमाडौँ

रेखा थापाको फिल्म 'उपहार'को 'वाह वाह वाह' गीत हेर्नुभएको छ? भिडिओमा पूजा शर्मासँगै देखिन्छन् एक नयाँ अनुहारका युवक। अग्लो कद। चिटिक्क परेको शरीर। सुन्दर लुकका उनी पूजासँगै मज्जाले डान्स गर्छन्। ती युवक हुन्: समर्पण जंग कार्की। जो फिल्म 'उपहार' मार्फत नेपाली सिनेक्षेत्रमा डेब्यु गर्दैछन्।

पेसाले पाइलट हुन् समर्पण। पेसाभन्दा फरक क्षेत्रमा आएका उनी आफ्नो डेब्युलाई लिएर उत्साहित छन्। तर, रिलिज मिति नजिकिएसँगै समर्पणलाई केही डर पनि लागिरहेको छ। भन्छन्, 'यति ठूलो ब्यानरसँग जोडिँदा खुसी लाग्दो रहेछ। आफूले गरेको कामको नतिजा भोलि आउँदैछ। रमाइलोको साथै अलि डर पनि लागिरहेको छ।'

'मिस्टर नेपाल २०२३' का विजेता समेत हुन् समर्पण। ज्ञानेन्द्र देउजा निर्देशित 'उपहार' मा रेखा र पूजासहित मुकुन भुसाल, बेनिशा हमाल, तेज गिरी लगायतका चलेका अनुहारहरू छन्। मिस्टर नेपालजस्ता टाइटल होल्डर धेरैजसो मुख्य भूमिकामा देखिन चाहन्छन्। जसको लागि उनीहरू डेब्युको उचित पर्खाइमा हुन्छन्। तर, समर्पण भने 'उपहार' लाई आफ्नो पर्फेक्ट डेब्यु मान्छन्।

'मैले यो अवसर पाउनु नै ठूलो कुरा हो। मान्छेले सुरुमा पहिलो स्टेप लिने हो। यस्तो ब्यानरमा जोडिनु आफैँमा राम्रो कुरा हो। त्यसमाथि चलेका अभिनेत्रीहरू हुनुहुन्छ। जोसँग स्क्रिन सेयर गर्न पाएँ। मलाई अहिले नै लाग्दैन कि उहाँहरूलाई साइडमा लगाएर म लिड रोलको हकदार छु,' कार्कीले भने, 'मेरो भर्खर यात्रा सुरु भएको छ। कहीँ न कहीँबाट जर्नी सुरु गर्नैपर्छ। सुरुवातमा यत्तिको समय र रोल मेरो लागि पर्फेक्ट हो। अहिलेको समय हेर्दा मेरो लागि यो पर्फेक्ट डेब्यु हो।'

रेखाबाट आएको अफर
गत जेठ/असारतिर समर्पण मिस्टर नेपालको तयारीमा जुटेका थिए। त्यहीताका समर्पणलाई एकदिन रेखा थापाको फोन आयो। पहिल्यैदेखि चिनजान भएकाले रेखाले बोलाएपछि भेट्ने नजाने कुरै भएन।

'पारिवारिक चिनजान भएकाले उहाँसँग भेटघाट भइरहन्थ्यो। उहाँले बोलाउँदा मिस्टर नेपाल चलिरहेकै थियो। म भेट्न गएँ। त्यसको दुई दिनपछि फेरि निर्देशकसँग पनि भेटाउनुभयो। त्यतिबेलासम्म उहाँले फिल्मको बारेमा केही भन्नुभएको थिएन। सायद त्यो क्यारेक्टरमा म फिट छु कि छैन भनेर हेर्नुभएको पनि होला। त्यसपछि मात्रै दिदीले फिल्मको अफर गर्नुभयो।'

फिल्मको कथावस्तुदेखि ब्यानर राम्रो पाएर आफू फिल्मसँग जोडिएको समर्पणको दाबी छ। 'स्क्रिप्टको सारांश सुन्दा राम्रो लाग्यो। फिल्ममा मनोरञ्जनका साथै सन्देश पनि छ। यस भूमिकाको लागि ६०/७० जना लाइनअपमा रहेको थाहा पाएँ। अनि रमाइलो लागेर खेल्न तयार भएँ।

यसैवर्षको साउनको पहिलो साता उनी मिस्टर नेपाल घोषित भए। मिस्टर नेपाल हुँदै हिरोसम्मको यात्रा आफ्ना लागि अपेक्षित नरहेको सुनाउँछन् उनी।

'मिस्टर नेपाल बनेर मुभीमा जान्छु भन्ने मेरो योजना थिएन। तर, कुनै न कुनै चिजमा सहभागी हुने इच्छा जहिल्यै थियो। मिस्टर नेपालमा पनि मैले अन्तिमदिन फाराम भरेको थिएँ। जित्छु भन्दा पनि फ्री समयमा यसो एकचोटि ट्राइ गरौँ भनेर सहभागी भएको थिएँ। तर, अन्तिममा विजेता नै भइयो।'

मिस्टर नेपालले पनि हिरोसम्मको बाटो तय गर्न सजिलो बनाएको बताउँछन् उनी। 'मिस्टर नेपालको ट्याग हुँदा निर्माण टिमलाई पनि एककिसिमको ढाडस हुन्छ। किनभने यसलाई पनि फलो गर्ने जमात हुन्छ। मिस्टर नेपालले पनि डेब्यु गर्न सहज भएको हो,' उनले भने।

रेस्ट टाइममा सुटिङ!
पेसाले पाइलट समर्पण विगत चारवर्षदेखि बुद्ध एयरलाइन्समा आबद्ध छन्। हप्तामा दुईतीन दिन उनको फ्लाइट परिरहन्छ। त्यसबाटै फ्री भएको समयमा 'उपहार' को सुटिङ गरेको बताउँछन् उनी।

'मिस्टर नेपालमा प्रतिस्पर्धा गर्दा हातमा चोट लागेको थियो। त्यतिखेर मैले जागिरबाट बिदा लिइसकेको थिएँ। जसकारण फिल्मको सुटिङको लागि पनि बिदा पाउने चान्स थिएन। फ्लाइट परेपछि दोस्रोदिन आराम गर्ने समय दिइन्थ्यो। त्यस्तै रेस्टको दिन मिलाएर मैले उपहारको सुटिङ सकेको हुँ।'

आफ्नो समयअनुसार निर्माण टिमले पनि सुटिङको सेड्युल मिलाएर सहज बनाइदिएको उनले बताए।

राजेश हमालका फ्यान
विराटनगरमा हुर्किएका समर्पण सानैदेखि फिल्म हेर्न रुचाउँथे। ब्ल्याक एन्ड ह्वाइट टेलिभिजनको जमाना थियो। त्यो बेला नेपालीसहित हिन्दी फिल्म हेर्ने गरेको सम्झन्छन् उनी।

'त्योबेला टेलिभिजनमा हिन्दी फिल्म आउँथे। अक्षयकुमारको एक्सन देख्दा म आफूलाई कल्पना गर्थे,' उनले भने।

राजेश हमाल आफूलाई निकै मनपर्ने बताउँछन् समर्पण। उनी भन्छन्, 'त्यस्तै राजेश हमालका साथी, धर्मपुत्र, यो मायाको सागर लगायत थुप्रै फिल्महरू हेरेको छु। मैले जिन्दगीमा पहिलोचोटि देखेको हिरो नै राजेश हमाल हो। उहाँको चार्म देख्दा मलाई बाल्यकाल ताजा हुन्छ।'

रेखाका पनि थुप्रै फिल्महरू हेरेका सुनाउँछन् उनी। रेखाकै फिल्म 'अन्दाज' को 'सिम्पल सिम्पल कान्छी' गीतमा कलेजमा नाचेको समेत उनले बताए।

जहाज उडाउन गाह्रो कि अभिनय गर्न?
पहिलोपटक फिल्ममा काम गरेका समर्पण अभिनयलाई पनि चुनौतीपूर्ण पेसा ठान्छन्। दुवै पेसामा जोखिम हुँदा धेरै ध्यान दिनुपर्ने उनको तर्क छ।

'दुवै आ-आफ्नो ठाउँबाट चुनौतीपूर्ण पेसा हुन्। पाइलट भनेको जहिले अप टु डेट भएर बस्नुपर्छ। त्यहाँ सानो गल्ती गर्ने छुट छैन। कलाकार पनि एकचोटि चलेर हुँदैन। स्थापित भइसकेपछि त्यो ब्रान्डलाई कसरी निरन्तर लाने भन्ने कुरामा ध्यान दिनुपर्छ। दुवै फिल्ड जिम्मेवारीपूर्ण र चुनौतीपूर्ण छ। कुनै दिन पुलिसको भूमिका खेल्दा चोरको पनि भूमिका निर्वाह गर्न सक्नुपर्छ।'

'उपहार'लाई दर्शकले मन पराउनेमा ढुक्क छु
समर्पणको अनुसार 'उपहार' राम्रो फिल्म बनेको छ। समसामयिक विषयवस्तुमाथि बनेको यस फिल्ममा मनोरञ्जनसहित सन्देश पनि रहेको सुनाउँछन् उनी।

'रेखा दिदीसँग लोयल अडियन्स हुनुहुन्छ। जो हरेक फिल्मको पर्खाइमा बस्नुहुन्छ। यो फिल्म चेतनामूलक छ। साथै मनोरञ्जन पनि छ। त्यसमाथि रेखा दिदीको कमब्याक। कोही लामो समयपछि फर्किन्छ भने त्यसले निकै अध्ययन गरेको आएको हुन्छ। दु:खको बेला कसरी समस्यालाई ठिक पार्न सकिन्छ भन्ने यसमा छ,' कार्कीले भने।

फिल्ममा धेरै स्टार देखिए पनि सबैको आ-आफ्नै महत्त्वपूर्ण भूमिका रहेको समेत उनले सुनाए। आगामी दिनमा कलाकारितालाई निरन्तरता दिने उनको भनाइ छ।

'फिल्म बाह्रै महिना भन्ने हुँदैन। फ्लाइट मेरो नियमित काम भइहाल्यो,' उनले भने, 'बचेको समयमा राम्रो स्क्रिप्ट र ब्यानरबाट अफर आउँदा म कलाकारितालाई पनि निरन्तरता दिन्छु।'

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .