‘मिस एन्ड मिस्टर सुप्रानेसनल २०२६’ विजेताहरूको घोषणा गरिएको छ। काठमाडौँको होटल क्राउन इम्पेरियलमा आयोजित कार्यक्रमबीच पूर्णिमा कार्की मिस सुप्रानेसनल र मृदुल आचार्य मिस्टर सुप्रानेसनल घोषित भए।
विगत चार वर्षदेखि निरन्तर प्रतियोगितात्मक कार्यक्रम गर्दै विजेता छनोट हुने मिस्टर एन्ड मिस नेसनलको यसपटक भने विशेष आन्तरिक छनोट विधिबाट विजेता घोषणा गरिएको नेसनल डाइरेक्टर डा. सन्तोष उपाध्यायले जानकारी दिए। विजेताले यसपाली पोल्यान्डमा हुने अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा नेपालको प्रतिनिधित्व गर्नेछन्।
जर्जहरू डा. सन्तोष उपाध्याय, धिरज काजी बस्नेत, मनोज महर्जन, सजिना खनाल, मोनिका अधिकारी र क्षितीज श्रेष्ठ क्षेत्रीको निर्णय अनुसार विजेता घोषणा गरिएको हो।

२४ वर्षीया पूर्णिमा पेशाले अधिवक्ता तथा सञ्चारकर्मी हुन्। उनी यात्रा वृत्तचित्र शृंखला ‘यात्रा नेपालको’ की प्रस्तोता हुन भने कानुनी फर्म लेक्स एन्ड जुरिस्टमा कानुनी विश्लेषकका रूपमा कार्यरत छिन्।
साथै, ‘ल अवायरनेस सोसाइटी’ का लागि नेपालकी राष्ट्रिय राजदूत हुन्। पार्थवे ग्लोबल एलाइन्समामा अन्तर्राष्ट्रिय निर्देशकका रूपमा युवालाई सांस्कृतिक आदानप्रदान, खेलकुद तथा दक्ष जनशक्ति विकासमार्फत सशक्त बनाउने अभियानमा उनको नेतृत्वदायी भूमिका रहेको छ।
त्यस्तै, ३० वर्षीय मृदुल भने सिभिल इन्जिनियर हुन्। उनले निर्माण व्यवस्थापन र व्यवसाय प्रशासनमा स्नातकोत्तर गरेका छन्। आफ्नो व्यावसायिक यात्रासँगै उनले स्वतन्त्र मोडलको रूपमा पनि आफूलाई स्थापित गर्न सफल छन्।

उनको कार्यक्षेत्र मुख्य रूपमा निर्माण तथा जलविद्युत् क्षेत्रमा केन्द्रित रहेको छ, जहाँ उनले पूर्वाधार विकास र रोजगारी सिर्जनामा महत्त्वपूर्ण योगदान गर्दै आइरहेका छन्। इन्जिनियरिङ क्षेत्रबाहेक उनी हस्पिटालिटी व्यवसायमा पनि सक्रिय रहेकाछन्।
सनुर्वी इन्टरनेसलको आयोजनामा रहेको मिस्टर एन्ड मिस नेसनलको प्रायोजकमा महेन्द्र अग्नि ग्रुप र रत्न ज्वेलर्स रहेका छन्।
Shares

प्रतिक्रिया