भारतीय रियालिटी शो इन्डियन आइडल १४औँ संस्करणको उत्कृष्ट १० मा पुगेर बाहिरिएकी मेनुका पौडेलले सांगीतिक क्षेत्रमा ‘विश्व खाने’ योजना रहेको बताएकी छन्।
केही दिनअघि काठमाडौँ आइपुगेकी उनले एक टेलिभिजनमा अन्तर्वार्ता दिँदै नेपाल र भारतमा मात्र सीमित नभई सांगीतिक क्षेत्रमा विश्वमै चर्चा बटुल्ने उद्देश्य रहेको बताएकी हुन्। ‘मेरो विश्व खाने योजना छ, नेपाल र इन्डिया मात्र होइन’, अन्तर्वार्तामा उनले भनेकी छन्, ‘म्युजिकबाट मैले विश्व खानैपर्छ।’
मेनुकाले बताएअनुसार इन्डियन आइडल टुरअन्तर्गत आगामी अप्रिलमा उनको विश्व यात्रा सुरु हुनेछ। मौरिसस र बेलायतमा सांगीतिक कार्यक्रम सकेर मे महिनादेखि अमेरिकामा रहने कार्यक्रम छ। त्यसपछि दक्षिण अफ्रिका र अन्य दुई मुलुकमा कन्सर्ट हुने तालिका रहेको मेनुकाको भनाइ छ।
उनी भगवान्प्रति आस्था राख्छिन् भने साइबाबाकी भक्त हुन्।
‘यो उत्साह भगवानको कृपा! जहिले पनि म बिहान उठेपछि साइबाबासँग प्रार्थना गर्छु। रियाज गर्न बस्दा पनि स्वामीको फोटो मेरो अगाडि नै हुन्छ’, मेनुकाले भनेकी छन्, ‘मैले भन्ने कुरा नै के हो भने बाबा मलाई एउटा ऊर्जा प्रदान गरिदिनुस् बाँकी कुरा म मिहेनत गर्छु। भगवान्ले मलाई हिम्मत दिनुहुन्छ र त्यसलाई स्वीकारेपछि राम्रै हुन्छ जस्तो लाग्छ।’
यस क्रममा उनले भारत आफ्नो कर्मभूमि हुने भए पनि नेपालमा हुने रेकर्डिङलाई नछुटाउने बताएकी छन्। उनले भनेकी छन्, ‘काठमाडौँ आएर भए पनि ती गीत रेकर्ड गर्छु।’
उनले एक/दुई वर्षको संघर्षपछि आफ्नो ब्यान्ड खोल्ने योजना रहेको पनि बताएकी छन्। ‘तत्कालै ब्यान्ड खोलिहाल्ने योजना छैन, किनभने मेरो पाटो अलग छ’, उनले भनेकी छन्, ‘म भजन पनि गाउँछु। गजल पनि गाउँछु। लाइट म्युजिक, क्लासिकल पनि गाउँछु। हिन्दुस्तानी, कर्नाटक सबै दक्षिण एसियाली गीत सिकिराखेको छु। म जुन ठाउँमा जान्छु, त्यही ठाउँको म्युजिक युज गर्छु, त्यसले मलाई नयाँ अनुभव हुन्छ।’
इन्डियन आइडलमा सहभागितापछि मेनुकाको चर्चा चुलिएको छ।
Shares

प्रतिक्रिया