सरकारले श्रमिकहरुको चैत मसान्तसम्मको तबल तल्काल दिन रोजगारदाताहरुलाई निर्देशन दिएको छ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मंगलबार बिज्ञप्ति प्रकाशित गरी होटल क्षेत्रका मजदुरले पारिश्रमिक नपाएकोबारे मन्त्रालयको ध्यानाकर्षण भएको जनाउँदै चैतसम्मको पारिश्रमिक दिन निर्देशन दिएको हो।
मन्त्रालयका सचिवको अध्यक्षतामा होटल एशोसियशन नेपाल र संयुक्त ट्रेड युनियन समन्वय केन्द्रका पदाधिकारीहरुको बैठकले २०७६ चैतसम्मको श्रमिकहरुले पाउनुपर्ने तलब तथा पारिश्रमिक तत्काल दिने निर्णय भएको मन्त्रालयले जनाएको छ।
‘निर्णय बमोजिम तत्काल फरफारक गर्ने व्यवस्था सम्बन्धित होटल व्यवसायले मिलाउने तथा उक्त कार्यको सहजीकरण होटल एशोसियशन नेपाल एवं संयुक्त ट्रेड युनियन समन्वय केन्द्रले गर्ने र सोको अनुगमन श्रम तथा व्यवसायजन्य सुरक्षा विभाग तथा श्रम तथा रोजगार कार्यालयहरूले गर्ने निर्णय’ भएको म रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सह प्रवक्ता सुमन घिमिरेले जानकारी दिए।
यसका साथै कोभिड–१९ को कारणले होटल क्षेत्रका चासो र सरोकारका विषय तथा यसबाट होटल व्यवसायमा परेको प्रभाव र समाधानका उपायहरू पहिचान गर्न आगामी दिनमा पनि सरकार, रोजगारदाता र श्रमिकबीचको सम्वादलाई निरन्तरता दिने निर्णय गरिएको छ।
साथै मन्त्रिपरिषद्को मिति २०७७।१।१४ को निर्णयानुसार उद्योग व्यवसायीलाई प्रदान भएको आर्थिक सुविधाको सदुपयोग हुन तथा मानवीय पक्ष समेत बिचार गरी पारिश्रमिक भुक्तानीको व्यवस्था मिलाउन समेत मन्त्रालयबाट सबै पक्षलाई अनुरोध गरिएको छ।
याे पनि:
होटल बन्द गर्ने निर्णयविरुद्ध आन्दोलन गर्ने मजदुरहरुको चेतावनी

प्रतिक्रिया