कच्चा तेलको मूल्य अमेरिका र इजरायलले इरानविरुद्ध युद्ध गर्नुपहिलेकै अवस्थामा झरेको छ।
युद्ध रोक्न अमेरिका र इरानबीच सम्झौता भएसँगै तेल ढुवानीका लागि निकै महत्त्वपूर्ण मानिने जलमार्ग स्ट्रेट अफ हर्मुजबाट निरन्तर तेल बोकेका जहाज आवतजावत गर्न थालेपछि कच्चा तेलको मूल्य घटेको हो।
ग्लोबल बेन्चमार्क ब्रेन्ट क्रुडको मूल्य यो समाचार तयार पार्दासम्म प्रतिब्यारेल ७२.४३ अमेरिकी डलरमा झरेको छ। फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि आक्रमण सुरु गर्दा कच्चा तेलको भाउ ७२.६३ डलर थियो। तर, युद्ध छेडिएपछि विश्वभर तेलको मूल्य ह्वात्तै उकालो लागेको थियो। युद्धका क्रममा स्ट्रेट अफ हर्मुज बन्द हुँदा त्यसको सोझो असर तेल र ग्यासको ढुवानीमा पर्दै आएको थियो।
अमेरिका र इरानले जुन १७ तारिखमा युद्ध अन्त्य गर्ने समझदारीपत्र (एमओयू)मा हस्ताक्षर गरेका थिए। त्यसमा इरानको आणविक कार्यक्रमलगायतका विषयमा ६० दिनभित्र स्थायी शान्ति सम्झौता गर्नेलगायतका विषय समेटिएका छन्। समझदारीसँगै अमेरिका र इरानका प्रतिनिधिबीच स्विट्जरल्यान्डमा उच्चस्तरीय वार्ता समेत भइसकेको छ। जसलाई युद्ध अन्त्यको अर्को कदम भन्दै अमेरिकी नेताहरूले प्रशंसा गरेका छन्।
योसँगै अमेरिकाले इरानी तेलमाथि लगाउँदै आएको निर्यात प्रतिबन्ध फुकुवा गरेको थियो। समझदारीमा हस्ताक्षरपछि स्ट्रेट अफ हर्मुजबाट तेल बोकेका जहाजको आवतजावत निकै बढेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्।
स्ट्रेट अफ हर्मुजबाट पछिल्ला दिनहरूमा कच्चा तेल, लिक्विफाइड नेचुरल ग्यास (एलएनजी), मलदेखि अरु वस्तु बोकेका जहाजको ढुवानी बढिरहेको छ। अमेरिका र इरानले दुई देशबीच देखिन सक्ने मतभेदलाई रोक्न 'कम्युनिकेसन लाइन' गठन गरेका छन्। संवाद गर्न गठित उक्त टोलीले स्ट्रेट अफ हर्मुजबाट सुरक्षित रूपमा व्यावसायिक जहाजको आवतजावत गराउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछन्।
अमेरिका र इरानबीचको संवादपछि सोमबारदेखि नै ८० भन्दा बढी जहाज स्ट्रेट अफ हर्मुज प्रयोग गरेर कटेका छन्। युद्धअघि स्ट्रेट अफ हर्मुजबाट १०० भन्दा बढी जहाज सामान बोकेर कट्ने गर्थे। अझै पनि सयौंको संख्यामा खाडी देशहरूका जहाज स्ट्रेट अफ हर्मुज कट्न प्रतीक्षारत छन्।
अमेरिका–इरान युद्ध सुरु हुँदा नेपाल आयल निगमले २०८२ फागुन १६ गते काठमाडौंमा पेट्रोलको भाउ प्रतिलिटर १५७ रुपैयाँ, डिजेलको १४२ रुपैयाँ र एलपी ग्यासको प्रतिसिलिन्डर १९१० रुपैयाँ तोकेको थियो। हवाई इन्धन (आन्तरिकतर्फ) १२७ रुपैयाँ तोकेको थियो।
त्यसपछि २०८२ चैत १ गते भने आयल निगमले पश्चिम एसियामा युद्धका कारण खाना पकाउने ग्यासदेखि सबै पेट्रोलियम पदार्थमा अत्यधिक मूल्य बढेको भन्दै नेपाली बजारमा भाउ बढाउन सुरु गरेको थियो।
इन्डियन आयल कर्पोरेसनबाट प्राप्त मूल्यअनुसार प्रतिलिटर पेट्रोलमा ३१ रुपैयाँ, डिजेलमा ५४ रुपैयाँ र एलपी ग्यासमा २१६ रुपैयाँ (प्रतिसिलिन्डर) बढेर आएको थियो। निगमले बढेर आएको मूल्यअनुसार भने उक्त दिन भाउ वृद्धि गरेन। मूल्य स्थिरीकरण कोषबाट रकम व्यहोर्ने गरी पेट्रोलमा १५ रुपैयाँ र डिजेल/मट्टितेलमा १० रुपैयाँ भाउ बढाउने निर्णय गर्यो। १५७ रुपैयाँ पर्ने पेट्रोलको भाउ काठमाडौंमा १७२ रुपैयाँ पुग्दा डिजेल/मट्टितेलको १५२ रुपैयाँ पुग्यो।
त्यसपछि पछिल्लो पटक निगमले असार १ गते साविककै खुद्रा मूल्यलाई यथावत् राखेको थियो। जसअनुसार हाल काठमाडौंमा प्रतिलिटर पेट्रोलको २१७ रुपैयाँ, डिजेल/मट्टितेलको २२५ रुपैयाँ पर्छ। इन्डियन आयल कर्पोरेसन (आईओसी)ले हरेक १५-१५ दिनमा आयल निगमलाई पेट्रोलियम पदार्थको बिक्री मूल्य पठाउँछ। जसलाई आधार मानेर निगमको सञ्चालक समितिले मूल्य निर्धारण गरेर पेट्रोलियम पदार्थ बेच्ने गर्छ।
आईओसीले निगमलाई आगामी मंगलबार जुन ३० तारिखमा मात्रै बिक्री मूल्य पठाउँछ। जसका कारण त्यसअघि नै निगमले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेअनुसार पेट्रोलियम पदार्थको भाउ समायोजन गर्ने सम्भावना छैन। किन कि आईओसीले निर्धारित मितिबाहेकमा मूल्य नेपाललाई पठाउने गर्दैन।
पेट्रोलियम पदार्थको अस्वाभाविक मूल्यवृद्धि र खपत घटाउन सरकारले अहिले पनि आधा सिलिन्डर ग्यास बिक्री गर्नुका साथै आइतबार थप एक दिन सार्वजनिक विदा दिइरहेको छ।

मूल्य घटेर आउने अपेक्षामा निगम
नेपाल आयल निगमलाई डिजेल र पेट्रोलको मूल्य महिनाको दुईपटक आईओसीले पठाउँछ।
हरेक अंग्रेजी महिनाको १ र १६ तारिखबाट लागू हुने गरी डिजेल र पेट्रोलको नयाँ मूल्य आउँछ भने मट्टितेल, हवाई इन्धन र एलपी ग्यासको मूल्य हरेक अंग्रेजी महिनाको एक पटक १ तारिखमा आउँछ। जसका कारण निगमले चाहँदा पनि आईओसीले अरु मितिमा मूल्यसूची पठाउँदैन।
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्दासमेत आयल निगमले नेपालमा मूल्य समायोजन नगरेको भन्दै आलोचना हुने गरेको छ।
बिहीबार मात्रै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य उच्चतम विन्दु ११७.६३ डलर प्रतिब्यारेलबाट घटेर ६९.२१ आइपुग्दा करिब ३० प्रतिशतले भारी गिरावट आइसके पनि नेपाली उपभोक्ताले भने अझै पुरानै महँगो दरमा इन्धन किन्नुपर्ने अवस्था रहनु दुःखद भएको भन्दै त्यसको प्रत्यक्ष लाभ राहत आम नागरिकले सहजै पाउनुपर्ने होइन भन्दै सरकारलाई प्रश्न गरेका छन्।
‘मूल्य किन घटेन भन्ने जनगुनासोमा आयल निगमले हामीले कच्चा होइन, प्रशोधित तेल किन्ने भएकाले तुरुन्तै मूल्य घट्दैन भन्नेजस्ता बहाना देखाउने गरेको छ। कच्चा र प्रशोधित तेलको मूल्य समायोजनमा प्रशोधन खर्च र केही दिनको समय अन्तर अवश्य पर्छ। तर, कच्चा तेलको मूल्यमा आएको यति ठूलो गिरावटले प्रशोधित तेलको लागत पनि सोही अनुपातमा पक्कै घटाउँछ’, महामन्त्री पौडेलले भने।
आयल निगमले भने आईओसीले पेट्रोलियम पदार्थको मूल्य घटाएर पठाएमा नेपालमा पनि मूल्य घटाउने दाबी गरेको छ।
निगमका प्रवक्ता मनोजकुमार ठाकुरले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटे पनि भारतले पठाउने मूल्यअनुसार नेपालमा मूल्य निर्धारण हुने बताए। त्यसका लागि केही दिन कुर्नुपर्ने उनको भनाइ छ।
‘सामान्य अवस्थामा कच्चा तेलको मूल्य र प्रशोधित इन्धनको मूल्य पेट्रोल हो भने १० देखि १५ डलर मात्रै फरक हुन्छ। डिजेल हो भने १५ देखि २५ डलर फरक हुन्छ। तर, जब युद्ध सुरु भयो त्यसपछि कच्चा तेल र पेट्रोलको फरक प्रतिब्यारेल १५० डलर तथा कच्चा तेल र डिजेलको ३०० डलरसम्म फरक देखियो। अहिले कच्चा तेलको मूल्य किन एकदमै घट्यो भन्दा हर्मुज अफ स्ट्रेट खुल्यो, इरानको तेलमाथि अमेरिकाले लगाएको प्रतिबन्ध हट्यो जसका कारण उसले धेरै तेल बजारमा पठाइरहेको छ। धेरै तेल बजारमा आएपछि सप्लाई बढेर मूल्य घटिहाल्छ’, ठाकुरले नेपालखबरसँग भने।
आयल निगमले हवाई इन्धन र एलपी ग्यासको मूल्य जुन १ तारिखमा आईओसीबाट प्राप्त मूल्यअनुसार बिक्री भइरहेको तथा पेट्रोल र डिजेलको दर भने जुन १६ बाट बिक्री गरिरहेको दरअनुसारै रहेको उनले जानकारी दिए।
आगामी ३० तारिखसम्म त्यही दरमा पेट्रोलियम पदार्थ बिक्री हुने उनको भनाइ छ।
‘३० तारिखको बेलुका मात्रै आईओसीबाट नयाँ मूल्य प्राप्त गर्छौं। हामीले के अपेक्षा गरेका छौँ भने अब प्राप्त हुने मूल्यचाहिँ घटेरै आउँछ। घटेर आयो भने सञ्चालक समितिले मूल्य घटाउँछ’, ठाकुरले भने।
Shares

प्रतिक्रिया