१०६ मेगावाटको जगदुल्ला जलविद्युत् आयोजनाको ठेक्कासम्बन्धी आर्थिक प्रस्ताव ‘लिक’ भएकै मूल्यसँग मेल खाएको छ।
जगदुल्ला हाइड्रोपावर कम्पनी लिमिटेडले बुधबार आयोजनाको आर्थिक प्रस्ताव सार्वजनिक गरेको हो।
यसअनुसार जियाङ्सी कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन (जेसीई) र एएनके कन्स्ट्रक्सनको जेसीई-एएनके जेभीको यसअघि नै लिक भएको कबोल रकम कम भएपछि उसैले ठेक्का पाउने भएको हो।
वैशाख ९ गते जेसीई–एएनकेले १२ अर्ब १५ करोड रुपैयाँको प्रस्ताव गरेको समाचार नेपालखबरमा प्रकाशित भएको थियो।
जगदुल्लाले बुधबार खोलेको प्रस्तावअनुसार भ्याटसहित १३ अर्ब ७३ करोड रुपैयाँ कबोल गरेको खुलेको छ। १२ अर्ब १५ करोडमा १३ प्रतिशत भ्याट अर्थात् १ अर्ब ५७ करोड रुपैयाँसहित १३ अर्ब ७३ करोडमा उक्त जेभीले पाउनेछ।
१०६ मेगावाट क्षमताको जगदुल्ला आयोजनाका प्रमुख सुरेश ओलीले आर्थिक प्रस्ताव खुलिसकेको जानकारी दिए।
‘आर्थिक प्रस्ताव खुलिसकेको छ। दुवै कम्पनीको अंक मूल्यांकन गरेपछि मात्रै ठेक्का सम्झौता हुन्छ’, उनले नेपालखबरसँग भने।
जेसीई–एएनके जेभीको प्रतिस्पर्धी सिनो हाइड्रोले करसहित १५ अर्ब ७ करोड रुपैयाँको प्रस्ताव हालेको खुलेको छ। जेसीई–एएनकेले फर्जी कागजपत्र बुझाएको आरोपमा सार्वजनिक खरिद अनुगमन कार्यालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत उजुरी परेको छ।
आर्थिक प्रस्ताव खोल्नुअघि नै बोलपत्रको कबोल अंक सार्वजनिक भएको भन्दै पाटन उच्च अदालतमा पनि मुद्दा परेको छ।
पाटन उच्च अदालतले मंगलबार कारण देखाउ आदेश जारी गर्दै वैशाख ३० गते अन्तरिम आदेशका लागि दुवै पक्षलाई छलफलका लागि बोलाएको छ।
जगदुल्ला आयोजनाको टेन्डरमा सहभागी भारतीय कम्पनी एसआईएल–थ्रीएचसी जेभी र टर्किस कम्पनी टुएमजी–फेवा जेभीलाई प्राविधिक मूल्यांकनबाटै बाहिरिएका थिए।
जगदुल्ला हाइड्रोपावरको टेन्डर प्रक्रियामा सहभागीमध्ये पहिले नै सेटिङ मिलाएर नेपाली कम्पनीसँग जेभी गरेर कम रकम प्रस्ताव गरेको जेसीईलाई ठेक्का दिन खोजिएको आरोप छ।
ऊर्जामन्त्री दीपक खड्का र जगदुल्ला हाइड्रोपावर कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सञ्जय सापकोटाको मिलेमतोमा यो कम्पनीलाई ठेक्का पार्ने गरी सेटिङ मिलाएर सूचना प्रकाशित गरिएपछि ठेक्का प्रक्रिया विवादमा फसेको थियो।
यो पनि-
-
जगदुल्लाको ठेक्का प्रक्रियाविरुद्धको रिटमा विपक्षीसँग उच्च अदालतले माग्यो लिखित जवाफ, ३० गते दुवै पक्षलाई बोलायो
-
जगदुल्लाको टेन्डर प्रक्रिया नै खारेजीको माग गर्दै उच्च अदालतमा निवेदन
-
जगदुल्ला हाइड्रोको ठेक्कामा फर्जी कागजात बनाएको उजुरी परेपछि अख्तियारले जेसीई–एएनकेमाथि थाल्यो छानविन
-
जगदुल्ला हाइड्रोको ठेक्कामा मिलेमतो– चीनबाट अनुमति नै नपाएको जेसीईविरुद्ध सिनो हाइड्रोको उजुरी, कागजात जाँच गर्न माग
-
जगदुल्ला हाइड्रोको ठेक्का १२ अर्ब १५ करोडमा चिनियाँ कम्पनीलाई दिन ऊर्जा मन्त्रालयमा सेटिङ
-
जगदुल्ला हाइड्रोपावरको दोस्रो पटकको टेन्डरमा २ चिनियाँसहित ४ कम्पनीको आवेदन
Shares

प्रतिक्रिया