१०६ मेगावाटको जगदुल्ला जलविद्युत् आयोजनाको ठेक्कामा २ चिनियाँ कम्पनी मुद्दा मामिलामा लागेका छन्।
जगदुल्लामा प्राविधिक मूल्यांकनमा छानिएको सिनो हाइड्रो कर्पोरेसनले अर्को चिनियाँ कम्पनी जियाङ्सी कन्स्ट्रक्सन इन्जिनियरिङ (ग्रुप) कर्पोरेसन लिमिटेड (जेसीई)विरुद्ध उजुरी दिएको हो।
सार्वजनिक खरिद अनुगमन कार्यालयका एक अधिकारीले उजुरी परेको पुष्टि गरे।
‘जगदुल्लाको विषयमा एउटा उजुरी परेको छ, त्यसलाई हामी प्रक्रियामा लैजान्छौँ’, ती अधिकारीले भने।
कार्यालयमा बुधबार दिइएको उजुरीमा जेसीईको हाइड्रोपावरमा काम गरेको आधिकारिक इतिहास र अनुभव नभएको र बोलपत्रअनुसार कम्पनीको योग्यता नै नपुग्ने दाबी गरिएको छ।
मंगलबार निकालिएको प्राविधिक मूल्यांकन सूचनामा यी २ कम्पनी छानिएका छन्। तर पहिले नै सेटिङ मिलाएर नेपाली कम्पनीसँग जेभी गरेर कम रकम प्रस्ताव गरेको जेसीईलाई ठेक्का दिन खोजिएको छ। उर्जा मन्त्रालयमा मन्त्री दीपक खड्का र जगदुल्ला हाइड्रोपावर कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सञ्जय सापकोटा सहितको मिलेमतोमा यो कम्पनीलाई ठेक्का पार्ने गरी सेटिङ मिलाएर सूचना प्रकाशित गरिएको केही कर्मचारीहरूले नै बताउँदै आएका छन्।
यस्तो अवस्थामा सिनो हाइड्रोले जेसीई–एएनके जेभीविरुद्ध उजुरी गरेको हो। जगदुल्ला हाइड्रोपावर कम्पनी लिमिटेडले गत वर्ष माघ ७ देखि फागुन २१ गतेसम्म आवेदन दिनसक्ने गरी ग्लोबल टेन्डर आह्वान गरेको थियो।
सिभिल र हाइड्रोमेकानिकल कामका लागि आह्वान भएको टेन्डरमा जेसीई–एएनके, सिनो हाइड्रो, टुएमजी–फेवा कन्स्ट्रक्सन, सिल–थ्रिएचसीले आवेदन दिएका थिए।
यीमध्ये दुई चिनियाँ कम्पनी प्राविधिक रुपमा छनोट भएको सूचना मंगलबार सार्वजनिक भएको थियो।
जगदुल्ला हाइड्रोपावर कम्पनी लिमिटेडले प्राविधिक प्रस्ताव मात्रै खोलेकाले आर्थिक प्रस्तावबारे वैशाख २४ गते मात्रै आधिकारिक जानकारी आउनेछ।
तर कसले कति आर्थिक प्रस्ताव गरेको भन्ने विवरण पनि सार्वजनिक भइसकेको छ। स्रोतका अनुसार जीसीई–एएनकेले १२ अर्ब १५ करोड रुपैयाँ प्रस्ताव गरेको छ भने सिनो हाइड्रोले १३ अर्ब १४ करोड रुपैयाँ प्रस्ताव गरेको छ।
‘जेसीई कम्पनीलाई राष्ट्रिय विकास तथा सुधार आयोग (एनडीआरसी) वा चीनको पारिस्थितिकी तथा वातावरण मन्त्रालयले चीन भित्र वा विदेशमा कुनै पनि जलविद्युत परियोजना सञ्चालन गर्न कहिल्यै इजाजतपत्र प्रदान गरेको छैन,’ सिनो हाइड्रो कर्पोरेसनले जेसीईविरुद्ध बुधबार हालेको उजुरीमा उसको कागजहरू शंकास्पद रहेको उल्लेख गर्दै भनिएको छ, ‘आयोजना सम्पन्न गरेका कागजात आवश्यक पर्नेमा जेसीईले खरिद प्रक्रियामा बुझाएका कागजातहरु जीपीएस र जीआईएस लेकेसन, फोटोग्राफीको प्रमाण जाँचयोग्य छ।’
सिनो हाइड्रोले प्राविधिक योग्यता पुर्याउनका लागि विगतका अनुभवलाई गलत तरिकाले देखाएको आरोप जेसीईविरुद्ध लगाएको छ।
उजुरीमा सार्वजनिक खरिद अनुगमन कार्यालयलाई जेसीई–एएनके जेभीले बुझाएका प्रमाणलाई पुनः मूल्यांकन गर्न समेत अनुरोध गरिएको छ। जेसीईले आयोजना सम्पन्न गरेको भनी देखाएका जीपीएस/जीआईएस लोकेसन, फोटोग्राफलाई परीक्षण गर्न उजुरीमा माग गरिएको छ।
‘जेसीईले यदि कुनै गलत विवरण पेस गरेको रहेछ भने सार्वजनिक खरिद नियमावलीअनुसार कारबाही गर्न अनुरोध छ’, उजुरीमा भनिएको छ।
खरिद प्रक्रियामा भारतीय कम्पनी एसआईएल र नेपाली थ्रिएचसी जेभीले १२ अर्ब ४६ करोडको प्रस्ताव गरेको थियो।
एसआईएल–थ्रिएचसी जेभी प्राविधिक रुपमा अयोग्य भएका छन्। सीउ इन्फ्रास्टक्चर लिमिटेड भारतीय कम्पनी हो भने हाई हिमालयन हाइड्रो (थ्रिएचसी) नेपाली कम्पनी हो।
यसबाहेक अर्को टुएमजी फेवा जेभी पनि यस प्रक्रियामा सामेल छ। फेवा कन्स्ट्रक्सन प्रालिको नेतृत्वमा टर्किस कम्पनी टुएमजी इनस्याट मादेनसिल्क रहेको छ। प्राविधिक रुपमै बाहिरिएको कम्पनीले करिब १३ अर्ब नै प्रस्ताव गरेको थियो।
डोल्पामा निर्माण हुने आयोजना बनाउन २३ अर्ब लागत अनुमान गरिएको छ। जसमा १६ अर्ब ऋण र ७ अर्ब स्वपुँजीबाट जुटाउन लागिएको छ। अहिले सिभिल र हाइड्रो मेकानिकलको मात्रै ठेक्का लागेको छ। आयोजनाबाट ५ वर्षमा विद्युत् उत्पादन गर्ने लक्ष्य छ।
यस्तो छ सिनो हाइड्रो कर्पोरेसनले जेसीईबारे सार्वजनिक खरिद अनुगमन कार्यालयमा माग गरेका विषयहरू :
विशेष गरी:
१. जियाङसी कन्स्ट्रक्सन इन्जिनियरिङ (ग्रुप) कर्पोरेशन लिमिटेडको जलविद्युत परियोजनाहरूमा कुनै प्रमाणित इतिहास वा पूर्व अनुभव छैन, यद्यपि बोलपत्र कागजातहरूमा अन्यथा दाबी गरिएको छ।
२. कम्पनीलाई राष्ट्रिय विकास तथा सुधार आयोग (एनडीआरसी) वा जनवादी गणतन्त्र चीनको पारिस्थितिकी तथा वातावरण मन्त्रालयले चीन भित्र वा विदेशमा कुनै पनि जलविद्युत परियोजना सञ्चालन गर्न कहिल्यै इजाजतपत्र प्रदान गरेको छैन।
३. टेन्डर कागजातमा सबै बोलपत्रदाताहरूलाई युटीएम निर्देशांकहरू र पूरा भएका परियोजनाहरूको फोटोग्राफिक प्रमाणको साथ जीपीएस/जीआईएस स्थान विवरणहरू पेश गर्न स्पष्ट रूपमा आवश्यक थियो। माथिका चासोहरूको प्रकाशमा, यी पेश गरिएका निर्देशांकहरू र तस्बिरहरूको वैधता र प्रामाणिकता पनि शंकास्पद छन् र पूर्ण प्रमाणीकरणका लागि योग्य छन्।
४. यी तथ्यहरूले दृढतापूर्वक संकेत गर्दछ कि उनीहरूको विगतको अनुभवको सम्बन्धमा पेश गरिएका कागजातहरू बोलपत्रको प्राविधिक मापदण्ड अन्तर्गत योग्य हुने उद्देश्यले गलत रूपमा प्रस्तुत गरिएको वा झूटा रूपमा प्रस्तुत गरिएको हुन सक्छ।
यी कार्यहरू, यदि सत्य प्रमाणित भएमा, जेसीई–एएनके जेभीद्वारा पेश गरिएका कागजातहरूको शुद्धता र प्रामाणिकताको बारेमा गम्भीर शंका उत्पन्न गर्दछन्, र सार्वजनिक खरिद ऐन र नियमहरूको स्पष्ट उल्लङ्घन हो, जसले निष्पक्षता, पारदर्शिता र प्रतिस्पर्धात्मकताको सिद्धान्तहरूलाई कमजोर बनाउँछ।
माथिको प्रकाशमा, हामी सार्वजनिक खरिद अनुगमन कार्यालयलाई सम्मानपूर्वक अनुरोध गर्दछौं कि:
१. जेसीई–एएनके जेभीद्वारा पेश गरिएका अनुभव-सम्बन्धित कागजातहरू, जसमा इजाजतपत्र, कार्य सम्पन्नता प्रमाणपत्रहरू, र दाबी गरिएको परियोजना प्रमाणहरू पूर्ण रूपमा पुन: जाँच गर्नुहोस्।
२. कामहरू वास्तवमा जेभी वा यसको कुनै पनि साझेदारहरूद्वारा कार्यान्वयन गरिएको छ भनी सुनिश्चित गर्न जीपीएस/जीआईएस स्थानहरू र युटीएम निर्देशांकहरू, साथै दाबी गरिएका सम्पन्न परियोजनाहरूको तस्बिरहरू प्रमाणित गर्नुहोस्।
३. कुनै पनि गलत प्रस्तुति वा झूटा कागजातहरू पेश गरिएको प्रमाणित भएमा, प्रचलित खरिद कानून र नियमहरू अन्तर्गत उपयुक्त कानुनी र प्रशासनिक कारबाही गर्नुहोस्।
हामी निष्पक्ष र पारदर्शी खरिद प्रक्रियाप्रति प्रतिबद्ध छौं र यस विषयमा आवश्यक पर्ने थप स्पष्टीकरण वा सहयोगको लागि तपाईंको कार्यालयसँग सहकार्य गर्न तयार छौं।
यो पनि :
Shares

प्रतिक्रिया