मोरङको केराबारी गाउँपालिका वडा नम्बर ९ देवी झोडा बस्ने वर्ष ३७ का नईन्द्र विश्वकर्मा २०८० सालमा श्रम स्वीकृति लिई वैदेशिक रोजगारका लागि बहराइन गए। एक वर्ष जेनतेन काम गरेका विश्वकर्मालाई २०८१ सालमा मिर्गौलाले काम नगरेपछि उनी नेपाल फर्किए।
गम्भीर बिरामी भएका विश्वकर्माको उपचारकै क्रममा मृत्यु भयो। मृत्यु पछि हकदारले प्राप्त गर्ने वैदेशिक रोजगार म्यादी बिमा बापतको रकम उनले प्राप्त गर्नु पर्ने थियो।
प्राप्त गर्नु पर्ने १३ लाख लिन मृतककी श्रीमती भिमकुमारी विश्वकर्मा सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी, शाखा कार्यालय विराटनगरमा जान्छिन्। त्यहाँ कम्पनीको मेनेजर विराटनगर महानगरपालिका वडा नं–३ बस्ने सन्तोष अधिकारीले बिमा सम्बन्धी ज्ञान नभएका दाबीकर्ता भिमकुमारीलाई बिमा भुक्तानको लागि तयार गरेको सबै कागजातमा सहीछाप गर्न लगाउँछन्।
अधिकारीले ग्लोबल बैङ्कमा एकल र संयुक्त खाता खोल्न लगाई खाली चेकहरूमा सहिछाप गर्न लगाउँछन्। त्यसपछि भिमकुमारी बिमा रकम भुक्तानी लिन बैङ्कमा जाँदा पाउनु पर्ने रकम १३ लाख मध्ये ५ लाख ७६ हजार मात्र पाउने भन्दै अरू रकम दिँदैनन्।
इन्स्योरेन्सका म्यानेजरले पैसा नै नदिने ठानेपछि भीमकुमारी विश्वकर्माले जिल्ला प्रशासन कार्यालय मोरङमा निवेदन दिइन्। जिल्ला प्रशासन कार्यालयले जिल्ला प्रहरी कार्यालयलाई यस बारेमा अनुसन्धानको लागि पत्र लेख्यो।
जिल्ला प्रहरी कार्यालयले अनुसन्धान गर्दा सन्तोष अधिकारीले आफूखुसी भीमकुमारी विश्वकर्माको नाममा १५ वर्ष अवधिको वार्षिक ७० हजार, निजका भदा नाताका प्रतीक विश्वकर्मा र मृतकको जेठी श्रीमती मिरा विश्वकर्माको नाममा ७० हजार तिर्नुपर्ने गरी बिमा गरी दिई आर्थिक भार सिर्जना गरेको पाइएको जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए।
डीएसपी जोशीका अनुसार, भीम कुमारी विश्वकर्माको नाममा खोलिएको ग्लोबल आईएमई बैङ्कमा १५ वर्ष अवधिको फिक्स डिपोजिट ६ लाख ४४ हजार १७८ राखिदिने कार्य गरेको पाइएको छ।
भिमकुमारीले दिएको निवेदनको आधारमा अधिकारीले झुक्यानमा पारी विश्वासघात गरी ठगी गरेको कसुरमा अधिकारीलाई नियन्त्रणमा लिई मुद्दा चलाइएको डीएसपी जोशीले जानकारी दिए।
Shares

प्रतिक्रिया