जगदुल्ला हाइड्रोपावर कम्पनी लिमिटेडको ठेक्का जेसीई–एएनकेले पाउने भएको छ। जियाङ्सी कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन (जेसीई) चिनियाँ कम्पनी हो।
१०६ मेगावाटको जगदुल्लामा २ कम्पनी मात्रै प्राविधिक रुपमा छनोट भएकाले कम कबोल गर्ने नेपाली र चिनियाँ कम्पनीहरुको संयुक्त उपक्रम (जेभी) जेसीई–एएनकेले ठेक्का पाउने निश्चित भएको हो।
गत वर्ष माघ ७ देखि फागुन २१ गतेसम्म आवेदन दिनसक्ने गरी माघ ६ गते ग्लोबल टेन्डर आह्वान भएको थियो।
सिभिल र हाइड्रोमेकानिकल कामका लागि आह्वान गरिएको टेन्डरमा जेसीई–एएनके जेभी, सिनो हाइड्रो, टुएमजी–फेवा कन्स्ट्रक्सन जेभी र सिल–थ्रिएचसी जेभीले आवेदन दिएका थिए।
मंगलबार सार्वजनिक भएको सूचनाअनुसार नेपाली कम्पनी एएनके कन्स्ट्रक्सनसँग जेभी गरेको चिनियाँ कम्पनी जियाङ्सी कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन (जेसीई) र सिनो हाइड्रो प्राविधिक रुपमा छनोट भएका छन्।
नेपालखबरले उच्च स्रोतबाट प्राप्त गरेको विवरणअनुसार छनोट भएका जियाङ्सी कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन (जेसीई) र सिनो हाइड्रोले प्रस्ताव गरेको रकममा ९९ करोड रुपैयाँ फरक छ।
जेसीई–एएनकेले १२ अर्ब १५ करोड रुपैयाँ प्रस्ताव गरेको छ भने सिनो हाइड्रोले १३ अर्ब १४ करोड रुपैयाँ प्रस्ताव गरेको छ।
भारतीय कम्पनी एसआईएल र नेपाली थ्रिएचसी जेभी (सिल–थ्रिएचसी)ले १२ अर्ब ४६ करोडको प्रस्ताव गरेको थियो। यो जेभी प्राविधिक रुपमा अयोग्य भएको छ। सीउ इन्फ्रास्ट्रक्चर लिमिटेड (एसआईएल) भारतीय कम्पनी हो भने हाई हिमालयन हाइड्रो (थ्रिएचसी) नेपाली कम्पनी हो।

टेन्डरमा सहभागी हुनेमा फेवा कन्स्ट्रक्सन प्रा.लिको नेतृत्वमा टर्किस कम्पनी टुएमजी इनस्याट मादेनसिल्कसहितको अर्को टुएमजी फेवा जेभी छ। प्राविधिक रुपमै बाहिरिएको यो जेभीले करिब १३ अर्ब नै प्रस्ताव गरेको थियो।
मंगलबार प्राविधिक प्रस्ताव मात्रै खोलेको जगदुल्ला हाइड्रोपावर कम्पनी लिमिटेडले आर्थिक प्रस्तावब ७ मे २०२५ अर्थात् वैशाख २४ गते मात्रै आधिकारिक रुपमा खोल्ने सूचना दिएको छ।
जगदुल्ला हाइड्रोपावर कम्पनी लिमिटेडका अध्यक्ष सुनिल पौडेलले २ कम्पनीको प्राविधिक प्रस्ताव स्वीकृत भएकाले आयोजना अघि बढ्ने बताए।
‘खरिद प्रक्रियामा व्यवस्थापन टिम मात्रै हुन्छ। सञ्चालक समितिले कुनै हस्तक्षेप गर्न पाउँदैन’, अध्यक्ष पौडेलले भने, ‘प्राविधिक छनोट भएका कम्पनीको सूचना प्रकाशन भइसकेकाले नियमित प्रक्रियाअनुसार काम हुन्छ।’
तर आयोजनासँग सम्बन्धित केही सरकारी अधिकारीहरूले भने भित्रभित्रै सेटिङ मिलाएर दुई चिनियाँ कम्पनीलाई योग्य बनाएर सूचना जारी भएको बताएका छन्।
‘सिनो हाइड्रोको बारेमा खासै प्रश्न छैन, तर जियाङ्सी कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन (जेसीई) छनोट भएकामा हामी सबै छक्क छौँ’, एक अधिकारीले भने, ‘यो कम्पनीसँग हाइड्रोमा काम गरेको अनुभव पनि छैन भन्ने सुनिन्छ, नेपालमा नाम सुनेको कम्पनी पनि हैन।’
जेसीईसँग जेभी गरेको नेपाली कम्पनी एएनके कन्स्ट्रक्सनसँग पनि हाइड्रो परियोजना गरेको अनुभव छैन।
जगदुल्ला आयोजना निर्माणका लागि २०८१ जेठ २ गते ऋण सम्झौता भएको थियो। यसमा नबिल बैंकको नेतृत्वमा विभिन्न बैंक तथा वित्तीय संस्थाले लगानी गर्ने भएका छन्। सहवित्तीयकरणमा एचआइडीसीएल, कर्मचारी सञ्चयकोष, लक्ष्मी सनराइज र एभरेस्ट बैंकले लगानी गर्नेछ।
डोल्पामा निर्माण हुने आयोजनाको लागत सुरुमा २३ अर्ब अनुमान गरिएको थियो। जसमा १६ अर्ब ऋण र ७ अर्ब स्वपुँजीबाट जुटाउने तयारी थियो।
अहिले सिभिल र हाइड्रो मेकानिकलको मात्रै ठेक्का लागेको छ। आयोजनाबाट ५ वर्षमा विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको छ।
त्यसअघि २०८१ जेठ २० गते ग्लोबल टेन्डर आह्वान भएको थियो। कम्पनीहरुले आवेदन दिए पनि अयोग्य भनी ०८१ पुस २३ गते टेन्डर रद्द भएको थियो।
तर ऊर्जामन्त्री दीपक खड्काले आफूले चाहेको कम्पनीलाई ठेक्का दिन मन्त्रालयमै रकम लेनदेन भएको आरोप लागेको थियो। मन्त्रीको सर्वत्र आलोचना भएपछि टेन्डर रद्द भई पुनः आह्वान भएको थियो।
मंगलबार भारतीय विद्युतमन्त्री मनोहरलाल खट्टर नेपाल आएकै दिन जगदुल्ला आयोजनामा भारतीय कम्पनीलाई अयोग्य ठहर गर्दै दुवै चिनियाँ कम्पनी योग्य भएको सूचना सार्वजनिक हुँदा उर्जामन्त्री खड्कासँग बूढानीलकण्ठ आक्रोशित भएको स्रोतहरूले जनाएका छन्।
Shares

प्रतिक्रिया