गत वर्ष १६ प्रतिशतले वृद्धि भएको निजी क्षेत्रको लगानी विस्तार यो वर्ष भने घटेको छ। चालू आर्थिक वर्षको ४ महिनाको तथ्याङ्कअनुसार निजी क्षेत्रबाट हुने लगानी ४ दशमलव २ प्रतिशतले मात्रै बढेको हो।
गत वर्षको यही अवधिमा यस्तो लगानी वृद्धिदर ७ दशमलव २ प्रतिशत थियो। चालू आर्थिक वर्षको चार महिनामा बैंक तथा वित्तीय संस्थाको कृषि क्षेत्रतर्फको कर्जा २ प्रतिशत, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा ५.४ प्रतिशत, निर्माण क्षेत्रतर्फको कर्जा ४.४ प्रतिशत, यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा ५.४ प्रतिशत र सेवा उद्योग क्षेत्रतर्फको कर्जा ६.३ प्रतिशतले मात्रै बढेको छ।
राष्ट्र बैंकको तथ्याङ्कअनुसार २०७६ असोज मसान्तमा बैंक तथा वित्तीय संस्थाको लगानीमा रहिरहेको लगानी अर्थात् कर्जामध्ये ६४.४ प्रतिशत कर्जा घरजग्गाको धितोमा र १३.७ प्रतिशत कर्जा चालू सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) को धितोमा प्रवाह भएको छ। २०७५ असोज मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः ६३.१ प्रतिशत र १४.४ प्रतिशत रहेको थियो।
समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाबाट प्रवाहित आवधिक कर्जा ७ प्रतिशत, ट्रष्ट रिसिट (आयात) कर्जा ८.९ प्रतिशत, डिमान्ड तथा चालु पुँजी कर्जा ६.२ प्रतिशत, रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जा समेत) ४.८ प्रतिशत, पर्चेज कर्जा ०.४ प्रतिशत र ओभरड्राफ्ट कर्जा १ प्रतिशतले बढेको छ भने मार्जिन प्रकृतिको कर्जा ०.२ प्रतिशतले घटेको छ।
आर्थिक वर्ष २०७६÷७७ को तीन महिनामा खुला बजार कारोबारमार्फत कुल ३० अर्ब रुपैयाँ तरलता प्रशोचन गरिएको छ। अघिल्लो वर्षको सोही अवधिमा ९५ अर्ब ३५ करोड रुपैयाँ तरलता प्रशोचन गरिएको थियो।
समीक्षा अवधिमा रिपोमार्फत ३९ अर्ब ५२ करोड र स्थायी तरलता सुविधामार्फत ४९ अर्ब ८० करोड गरी कुल ८९ अर्ब ३२ करोड तरलता प्रवाह भएको छ। अघिल्लो वर्षको सोही अवधिमा स्थायी तरलता सुविधामार्फत ३ अर्ब ४२ करोड रुपैयाँ तरलता प्रवाह भएको थियो।
समीक्षा अवधिमा यस बैंकले विदेशी विनिमय बजार (वाणिज्य बैंक)बाट अमेरिकी डलर ८९ करोड ८५ लाख खुद खरिद गरी १ खर्ब २ अर्ब २२ करोड खुद तरलता प्रवाह गरेको छ।
अघिल्लो वर्षको सोही अवधिमा विदेशी विनिमय बजारबाट अमेरिकी डलर ६९ करोड ९१ लाख खुद खरिद गरी ८० अर्ब ७५ करोड खुद तरलता प्रवाह गरिएको थियो।
समीक्षा अवधिमा अमेरिकी डलर १ अर्ब ६ करोड बिक्री गरी ११९ अर्ब ९८ करोड बराबरको भारतीय रुपैयाँ खरिद गरिएको छ। अघिल्लो वर्षको सोही अवधिमा अमेरिकी डलर १ अर्ब २ करोड र अन्य परिवर्त्य विदेशी मुद्रा बिक्री गरी १ खर्ब ३१ अर्ब १५ करोड बराबरको भारतीय रुपैयाँ खरिद गरिएको थियो।
उत्पादनशील गतिविधि तथा निर्यातलाई प्रोत्साहित गर्ने उद्देश्यले यस बैंकबाट सहुलियतदरमा प्रदान गरिँदै आएको पुनर्कर्जा २०७६ असोज मसान्तमा १४ अर्ब ६२ करोड लगानीमा रहेको छ। यसअन्तर्गत साधारण पुनर्कर्जा १२ अर्ब १० करोड र निर्यात पुनर्कर्जा ५० करोड २८ लाख रुपैयाँ उपयोग भएको छ।
Shares

प्रतिक्रिया