जनकपुरमा हुने दक्षिण एशियाली खेलकूद (साग) को सम्पूर्ण तयारी पुरा भएको छ। साग अन्तर्गत जनकपुरधाममा मंसिर २० गतेदेखि २३ गतेसम्म कुश्ती खेल हुने छ।
जनकपुरधाम उपमहानगरपालिका १४ स्थित जिल्ला खेलकुद विकास समितिको कवर्ड हलमा सागको खेल हुने छ। खेलको लागि कवर्ड हलको रंगरोगन, खेल ग्राउण्ड, दर्शक दिर्घा, खेलाडीहको बास र मेडिकल लगायतका सम्पूर्ण तयारी पुरा भइसकेको आयोजक जिल्ला खेलकुद विकास समिति धनुषाका अध्यक्ष कमलकिशोर चौधरीले जानकारी दिए।
मंसिर २० गतेदेखि २३ गतेसम्म आयोजना हुने १३ औँ दक्षिण एशियाली खेलकूद प्रतियोगिताको लागि प्रतियोगिता स्थललाई रंगरोगन चिटिक्क बनाईएको छ भने वर्षौदेखि फुटेका झ्याल र ढोकामा नयाँ सिसा लगाइएको छ। कर्भडहलको प्रयोगविहीन शौचालयमा टाइल्स, आवश्यक उज्यालोका लागि बत्ती जडान समेत गरिसकिएको छ।

‘खेलका लागि कवर्ड हलको मरम्मत तथा सम्भार, रंगरोगन, भौतिकपूर्वाधार निर्माण, झ्याल ढोकानिर्माण, स्टेज, बत्ति जडान, शौचालय निर्माण, दर्शक दिर्घा, भिआइपी कक्ष मर्मत सम्भार लगायतका कार्यहरु पुरा भयो, अध्यक्ष चौधरीले भने, ‘प्रतियोतिा हुने स्थानको पुर्वाधार लगायत सबै श्रोतको सम्पूर्ण तयारी पुरा भइसकेको छ।’ जनकपुरमा हुने साग खेल अन्तर्गत कुश्ती प्रतियोगितामा दक्षिण एशियाका ७ देश मध्ये भुटान र माल्दिभ्स बाहेक सबैले सहभागिता जनाउने छन्।
सागको कुश्तिमा पुरुष र महिला गरी ५ देशका ७५ खेलाडी सहित अन्तर्राष्ट्रिय प्रशिक्षक, रेफ्री, व्यवस्थापक, निर्णायक गरी १ सय २५ जना जनकपुरधाम आउनेसमेत अध्यक्ष चौधरीले जानकारी दिए। उनका अनुसार सर्वसाधारणलाई अवालेकनका लागि अयोजन हुने कवर्डहलको उत्तर छेउमा र जानकी मन्दिरको प्रांगणमा एलइडी (डिसप्ले) समेत जडान गरिएको छ।
जकपुरधाममा हुने साग अन्तर्गत कुश्ती प्रतियोगिताका लागि जिल्ला खेलकुद विकास समितिले ५६ लाख रुपैया खर्चको योजना पठाएकोमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले २०÷२० लाख रुपैयाँ गरी कुल ४० लाख रुपैया उपलबध गराएको समितिका सचिवालय प्रमुख विनोद सिंहले जानकारी दिए।

दुई दशकपछि जनकपुरधाममा सागको आयोजना गर्ने अवसरलाई सदुपयोग गर्दै जनकपुरधाम मात्र होइन देशको प्रतिष्ठा र गौरवसँग जोडिएकोले प्रतियोगितालाई सफल बनाउन प्रदेश सरकार समेत तयार रहेको छ। खेलको लागि आवश्यक सम्पूर्ण सहयोग गर्ने आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादवले बताए। उनले भने ‘जिल्ला प्रशासन कार्यालयसंग समन्वयन गरेर खेलको सुरक्षा, नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी तथा अनुसन्धान टोली खटाईनेछ, खेलाडीको सुरक्षालाई मध्यनजर गर्दै एकिकृत सुरक्षा प्रणाली मार्फत ल्याउने, लैजाने तथा बस्ने व्यवस्था गरिएको छ।’

प्रतिक्रिया