नेपाल चिया उत्पादक संघले बन्द रहेका चिया उद्योग पुनःसञ्चालन गर्ने तथा बन्दका कार्यक्रम स्थगन गर्ने निर्णय गरेको छ।
भारततर्फ चिया निर्यातमा देखिएको समस्याका कारण बन्द गरिएका झापा र इलामका चिया उद्योग पुनःसञ्चालनमा ल्याउन लागिएको हो। नेपाल चिया उत्पादक संघले बिहीबार विज्ञप्ति जारी गरी सरकारबाट चिया क्षेत्रका समस्यालाई समाधान गर्ने आश्वासन प्राप्त भएपछि उद्योग पुनःसञ्चालन गर्ने निर्णय गरिएको जनाएको छ।
‘चिया निर्यातमा देखिएका व्यापारिक तथा प्राविधिक समस्या समाधान गर्न, किसानले भोग्दै आएका समस्या पहिचान र नेपाली चियाको अन्तर्राष्ट्रिय बजार प्रवर्द्धन गर्ने दीर्घकालीन जिम्मेवारीसहित सरकारले विशेष कार्यदल गठन गरेको कार्यदललाई संघले सकारात्मक रुपमा लिएको छ,’ संघले भनेको छ, ‘अतःसरकारको सकारात्मक पहललाई सम्मान गर्ने र चिया क्षेत्र खुला गर्ने निर्णय गरिएको छ।’
भारतीय चिया बोर्डले लागू गरेको नयाँ एसओपीका कारण नेपाली चिया निर्यातमा अवरोध उत्पन्न भएपछि उद्योगीले चिया उद्योग बन्द गरेका थिए। यही असार ८ गते सरकारले चिया निर्यातमा देखिएको समस्या अध्ययन गरी समाधानका उपाय सुझाउन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको सहसचिवको संयोजकत्वमा कार्यदल गठन गरेको थियो।
संघले कार्यदल गठन तथा सरकारको पहललाई सकारात्मक रूपमा लिँदै किसान र मजदूरको हितलाई ध्यानमा राखेर उद्योग सञ्चालनमा ल्याउने निर्णय गरिएको जनाएको छ।
Shares

प्रतिक्रिया