ad ad

कारोबार


अर्थतन्त्र सकारात्मक दिशामा रहेको गभर्नर नेपालको दाबी

अर्थतन्त्र सकारात्मक दिशामा रहेको गभर्नर नेपालको दाबी

नेपालखबर
मंसिर १५, २०७६ आइतबार ८:१६,

नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपालले नीतिगत सुधारका कारण मुलुकको अर्थतन्त्र सकारात्मक दिशातर्फ अघि बढिरहेको बताएका छन्।

नेपाल आर्थिक पत्रकार समाज (सेजन)को २२औँ स्थापना दिवसका अवसरमा आज आयोजित कार्यक्रममा डा गभर्नर नेपालले राष्ट्र बैंकले निकै मिहिनेतपछि लगानीमैत्री नीतिगत सुधार गरेकाले पछिल्ला वर्षमा अर्थतन्त्रका सकारात्मक सूचक देखा पर्न थालेको उल्लेख गरे।

उनले भने, ‘मुलुकको अर्थतन्त्रलाई सबलीकरण गर्न राष्ट्र बैंकले राम्ररी अध्ययन र मिहिनेत गरेर विभिन्न नीतिहरु ल्याएको छ, त्यसैको परिणामस्वरुप तीन वर्षयता नेपालको अर्थतन्त्रमा सकारात्मक सुधार आइरहेको छ। यसको प्रभाव अझै बढ्ने देखिन्छ।’

गभर्नर नेपालले व्यापार, वाणिज्य तथा उत्पादनमूलक क्षेत्रमा लगानी गर्न व्यवसायीलाई आग्रह गर्दैै त्यसको सहजीकरणका लागि राष्ट्र बैंकले सहयोग गर्ने प्रतिबद्धता जनाए।

‘हामीले निक्षेपकर्ताको अधिकारलाई पनि सम्मान गर्नुपर्छ । उद्योगीहरुले ऋणको ब्याज बढी भयो भनिरहँदा यसको उचित तवरले सम्बोधन गरिन्छ, तर सुविधाभोगी क्षेत्रमा ब्याजदर घटाउने होइन, बरु निर्यातजन्य उत्पादनमूलक र निर्यातजन्य उद्योगका लागि सहुलियत दिन राष्ट्र बैंक तयार छ’, उनले भने।

नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले मुलुकको अर्थतन्त्र सकारात्मक दिशामा अगाडि बढिरहेको, शोधान्तर घाटामा सुधार भएको र व्यापार घाटासमेत न्यूनीकरण हुने दिशामा केन्द्रित रहेकाले आर्थिक क्षेत्र थप सबल बन्दै गएको बताए। उनले निजी क्षेत्र आर्थिक समृद्धि र विकासको दिशामा केन्द्रित रहेको उल्लेख गर्दै थप केही नीतिगत सुधार जरुरी रहेको बताए।

नेपाल उद्योग परिसंघका अध्यक्ष सतीश मोरले निजी क्षेत्रको साथ र सहयोगमा मात्रै आर्थिक विकास हुने तथ्यलाई आत्मसात् गर्न सरकार तथा सरोकारवाला निकायलाई आग्रह गरे।

साना तथा घरेलु उद्योग महासङ्घका अध्यक्ष श्याम गिरी र नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष नरेश ताम्राकारले निर्यातमूलक उद्योगमा जोड दिनसके व्यापार घाटा घट्ने र त्यसतर्फ आफूहरु पनि लागिपरेको बताए।

सो अवसरमा ‘सेजन अवार्ड’बाट कान्तिपुर दैनिकका मात्रिका दाहाललाई पुरस्कृत गरिएको भने सेजनले प्रकाशन गरेको ‘अर्थनीति’ स्मारिकाको समेत विमोचन गरिएको थियो ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .