कमल कार्कीको घर पछाडिबाट उदाउने सूर्य अचेल सुदर्शन पोखरेलको घर अगाडिबाट उदाउँछ। मेरो घर पश्चिमतर्फ फर्किएको छ। त्यसैले बिहानै घरको पूर्वपट्टिको आँगनमा गएर हेर्दा सूर्य यी दुई घरको पछाडिबाट उदाएको प्रस्ट देखिन्छ।
बिहानै सूर्य उदाउँदै गरेको दृश्य मलाई खुबै मन पर्छ। तर, मलाईभन्दा धेरै यो क्षणको प्रतीक्षा मेरो छिमेकमा रहेको नयाँ घरको भर्याङमा झुन्ड्याइएको रङ्गीन सिसामा ठोकिने एउटा मैनालाई हुन्छ।
हरेक बिहान म बोतल लिएर धारातिर लाग्छु। ठिक त्यही बेला मैना चरा झ्यालको रङ्गीन सिसामा आइपुग्छ। सिसामा देखिने आफ्नै प्रतिबिम्बसँग चुच्चो जोडेर कुराकानी गर्छ ऊ!
उसको भाषा म बुझ्दिनँ, तर उसको भावनाले मेरो मन छुन्छ। कस्तो प्रेम? कस्तो आत्मीयता? के पाउने लालसामा छ ऊ? हामी मानवहरू त एकअर्कोलाई सिध्याउने होडमा छौँ। खुट्टा तान्छौँ। अर्काको पिठ्युँमा चढेर अग्लो हुन खोज्छौँ। तर यो सानो चराको सिसासँगको प्रेमले मलाई लज्जित बनाउँछ।
उसको प्रेम–संवाद सिसामा देखिने आफ्नो प्रतिबिम्बबाट निरन्तर चलिरहको छ। याे मैना सिसाभित्रको प्रतिबिम्बित मैनालाई आजाद गर्न चाहन्छ। ऊ उसैसँग आकाशमा लामो उडानमा भर्न चाहन्छ।
ऊ सिसातिर हेरेर चुच्चो चलाउँछ। एक अर्कामा एकाकार हुन चाहन्छ ऊ। प्रणयसूत्रमा बाँधिएर सधैँ सँगै बस्न चाहन्छ सायद!
उसले सिसातिर हेरेर चुच्चो चलाउँदा सिसाभित्रको मैनाले पनि उसैगरी जवाफ फर्काउँछ। सिसाबाट आवाज ननिस्के पनि मैना आशावादी छ।
उसले नजिकैको एउटा पिलरमा गुँड बनाएर बस्न थालेको पनि धेरै समय भइसक्यो। आशै आशमा यो प्रेम जीवित छ। यी दुईको मिलन सम्भव नभए पनि सच्चा प्रेमको झलक यहाँ स्पष्ट देखिन्छ। यो संसारमा सच्चा प्रेम गर्नेहरूको कहाँ मिलन भएको छ र?
राति गुँडमा बसेर पनि उसले सिसाभित्रको मैनालाई सम्झन्छ। निद्रा लाग्दैन। कहिले उज्यालो होला, कहिले भेट्न जाउँला भन्ने हतारमा उसका रात बित्छन्। यो उसको दिनचर्या बनिसक्यो। राति गुँडमा आराम गर्दा उसको शरीर शिथिल हुन्छ, तर मनमा सधैँ हलचल भइरहन्छ।
सायद त्यही हलचलले होला, एकदिन बिहान मैले उसको अनुहारमा क्रोध देखेँ। ऊ आफ्नो तीखो चुच्चोले सिसा फुटाएर भए पनि प्रेयसीलाई आजाद गर्न आतुर देखिन्थ्यो।
त्यो बिहान म धाराबाट फर्किदै थिएँ। हातमा पानीले भरिएको बोतल थियो। अचानक सिसामा मैनाले ठुँगेको आवाजले मेरो ध्यान खिच्यो।
हतारहतार झ्यालतिर हेरेँ। मैना आफ्नो सानो तर तीखो चुच्चोले सिसालाई एकोहोरो ठुँगिरहेको थियो। सिसामा ससाना चिराहरू देखिन थाले। उसको आँखामा दृढ सङ्कल्प थियो।
म टक्क अडिएर हेरिरहेँ। मनमा एकतिर दुःख लाग्यो किनकि सिसा फुटे पनि उसले आफनो प्रेयसीलाई भेट्न सक्ने थिएन। अर्कोतिर,उसको प्रेमको यो जिद्दीपनले मेरो मन छोयो।
सिसामा बारम्बार ठुँग्दा उसको चुच्चोबाट रगतका ससाना थोपाहरू चुहिन थाले। तर ऊ रोकिएन। यो प्रहारमा उसको प्रेमको गहिराई र निराशाको पीडा मिसिएको थियो।
छिमेकीहरू पनि अवाज सुनेर बाहिर निस्कन थाले। घरबेटीले झ्यालतिर हेर्दै भने, 'यो चरा त पागल भयो कि क्या हो। यो सिसा फुटाएर त्यसले के पाउँछ र?'
उनकी श्रीमतीले थपिन्, 'यो सिसा महँगो छ, फुट्यो भने त हामीलाई नै नोक्सान हुन्छ।'
मैले केही भनिनँ। तर मनमनै सोचेँ–हामीले बुझ्न नसक्ने प्रेमको गहिराइमा मैना डुबिरहेको छ। मैनाको अथक प्रयासपछि सिसामा ठूलो चिरा पर्यो र एउटा सानो टुक्रा भुइँमा झर्यो। मैना एकछिन टक्क अडियो। उसले सिसाको प्वालतिर टाउको हालेर भित्र हेर्यो।
तर उसले फुटाएको सिसापछाडि कोही थिएन। खाली उनकै गुँड र खुला आकाश देखिन्थ्यो। उसको आँखामा एकप्रकारको रिक्तता झल्कियो। ऊ सिसाको किनारमा बस्यो। वरिपरि हेर्यो। त्यसपछि चुपचाप आफ्नो गुँडतिर उड्यो।
त्यस दिनदेखि मैनाले सिसामा ठुँग्न छोडयो। ऊ बिहान गुँडबाट निस्कन्छ। आकाशमा उड्छ र साँझ फर्कन्छ। तर उसको उडानमा पहिलेजस्तो उत्साह छैन। सायद उसले सिसाभित्रको मैनालाई नभेटे पनि आफ्नो प्रेमलाई मुक्त गरिसकेको छ।
उसको गुँडमा अब केवल उसैको बास छ। तर उसको हृदयमा सधैँ सिसा भित्रको ती मैनाको सम्झना जीवित रहने छ।
केही दिनपछि मैले सोचेँ, यो मैनाको कथा हाम्रो जीवनको कति नजिक छ? हामी पनि कहिलेकाहीँ असम्भव प्रेमको पछाडि दौडिन्छौँ। हामी पनि सिसाभित्रको प्रतिबिम्बलाई साँचो ठान्छौँ र त्यसलाई पाउन हरसम्भव प्रयास गर्छौँ। तर जब सत्य थाहा हुन्छ, हाम्रो मन रिक्त हुन्छ।
तैपनि यो मैनाले हामी सबैलाई एउटा ठूलो पाठ सिकाएझैँ लाग्छ मलाई। प्रेम सधैँ प्राप्तिमा मात्र हुँदैन। यो त कहिलेकाहीँ त्याग, समर्पण र स्वतन्त्रताको चाहनामा पनि हुन्छ।
एउटा साँझ म आँगनमा बसेर सूर्यास्त हेरिरहेको थिएँ। मैना आफ्नो गुँडमा बसेर टाढा आकाशतिर हेरिरहेको थियो। उसको नजरमा एउटा शान्ति थियो। मानौँ उसले आफ्नो प्रेमको अर्थ बुझिसकेको थियो। मलाई लाग्यो, यो सानो चराले हामीभन्दा धेरै कुरा बुझिसकेको छ। हामी त प्रेमलाई बन्धनमा बाँध्न खोज्छौँ। तर यो मैनाले प्रेमलाई मुक्त गर्न सिक्यो।
त्यस रात आकाशमा ताराहरू चम्किरहेका थिए। मैनाको गुँडमा एक प्रकारको शान्ति थियो। सायद उसले सिसाभित्रको मैनालाई मुक्त गरेर ऊ आफ्नो प्रेमको यात्रामा स्वतन्त्र भएर उडिरहेको थियो।
Shares

प्रतिक्रिया