सानो काँधले ठूलो भारी बोक्न सक्दैन भन्ने लोकोक्ति छ। रूपान्तरित कांग्रेसको काँधको राजनीतिक क्षमता र आजको समाज, नागरिकको वजनबीचको तादम्यता के कति छ, त्यसको गहिरो विवेचना आवश्यक छ। जुन भएको छैन। कांग्रेसको सिंगो संरचना, यसमा भएको बदलाव र सन्निकट भविष्यमा निर्माण हुने नेतृत्वको सामूहिक दक्षता जाँचिनेछ, एउटा पराजयबाट मात्र कांग्रेसको सम्परीक्षण गर्न सकिँदैन।
ताओ मान्यता अनुसार प्राकृतिक प्रवाहविरुद्ध गरिने जबर्जस्ती नियन्त्रण र अत्यधिक हस्तक्षेपले प्रायः प्रतिकूल परिणाम ल्याउँछ। नेतृत्व भनेको वास्तवमा अदृश्य मार्गदर्शन हो भन्ने मान्यता पनि छ। आफ्नो नेतृत्वको सम्भावना देखेकै बखतदेखि सभापति गगन थापाले भनेका थिए: कांग्रेसमा नेतृत्व पुस्तान्तरण नहुने हो भने कठिन परिस्थितिको सामना गर्नुपर्नेछ। कांग्रेस त्यही मोडमा आइपुगेको छ। आज उनकै पुस्ताका रवि लामिछाने नेपालको सबैभन्दा ठूलो दलका सभापति छन्, जहाँ पदाधिकारीहरूको समूह १५ वर्ष कान्छो छ र त्यो पार्टीबाट प्रधानमन्त्री बनेका बालेन्द्र शाह जम्मा ३६ वर्षका छन्। रास्वपाले चितवनबाट युवा र महिला नेतृत्व स्थापित गरेर सन्निकट अधिवेशनमा जान लागेको कांग्रेसमाथि दबाब सिर्जना गरेको छ।
हामीले स्पष्ट भनेका थियौं, तत्कालीन कांग्रेसले विशेष अधिवेशनमार्फत नेतृत्व परिवर्तन गरेरै निर्वाचनमा जानुपर्छ। त्यो कुनै नेता वा समूहलक्षित थिएन, समयकै माग थियो, नागरिकस्तरबाटै पुस्तान्तरित नेतृत्व माग भएको थियो। गल्ती त्यहीँनेर भयो: विशेष अधिवेशन गर्ने निर्णय हामीले लगभग अन्तिम घडीसम्म (आईसीयू नपुगुन्जेलसम्म) पर्खेर गर्यौँ र त्यसको मूल्य फाल्गुन २१ को चुनाव र उम्मेदवार छनोटमा चुकायौँ। एउटा चुनाव मात्र हारिएको जस्तो देखिए पनि त्यो पराजयको परकम्प लामो समयसम्म रहनेछ। निर्वाचनताका दर्जनौँ उम्मेदवारले भेटमा भनेको सम्झन्छु- विशेष अधिवेशनबाट नेतृत्व अलि अघि नै आएको भए अवस्था फरक हुन सक्थ्यो। दुर्भाग्य, नेतृत्वको अलमलको ‘ट्रिकल-डाउन इफेक्ट’ मतदातासम्मै पुगिसकेको थियो।
राजनीतिमा धेरै प्रकरणले निर्णयलाई प्रभाव पार्छन् भन्ने सत्य हो, तर नेतृत्वको परीक्षण त निर्णय र नतिजाबाटै हुन्छ। नेतृत्व अधिकारसम्पन्न हुन्छ र त्यसबाट विवेकको अपेक्षा गरिन्छ। विवेकको ठाउँमा परम्परागत तर्कको सहारा खोजिँदा त्यो असक्षमता हो भन्ने बुझ्नुपर्छ। इमानुएल कान्टका शब्दमा समस्या मानिससँग बुद्धि नहुनु होइन, आफ्नै बुद्धि प्रयोग गर्ने साहस नहुनु हो। तर कांग्रेसभित्र अहिले तीव्र विचार-विमर्शभन्दा नेतृत्वप्रतिको अवज्ञा बढी देखिन थालेको छ।
गएको एक दशकमा कांग्रेसले गुमाएको मुख्य कुरा भनेकै विचार हो। विचारको ठाउँ ‘ग्रेट म्यान थ्योरी’को अवधारणाले निलिसकेको छ। नेतृत्वको असाधारण छवि निर्माण, इतिहास-निर्माताको बिम्ब, निकटतम घेरा र वचनको शिरोधार्यताले ज्ञानमीमांसालाई नै किनारा लगाइसकेको थियो। विचारकै स्वतन्त्रताले संस्थालाई बिस्तारै बदल्छ भन्ने हेक्का नराख्नुको परिणाम आज भोगिँदै छ।
कांग्रेसलाई दुई प्रस्ताव
नेपाली समाजको लोकतान्त्रीकरणमा कांग्रेसको भूमिका स्वर्णाक्षरमा लेखिएको छ। बीपी कोइरालाले नेपाली कांग्रेसमार्फत आधुनिक नेपाली क्रान्ति, राजनीति र राजकाजको नेतृत्व गरे; नेपाल आजसम्म आइपुग्ने मार्गको रेखांकन उनैले गरे। हाइवे इन्जिनियरिङमा जसरी अलाइनमेन्टलाई प्रधान मानिन्छ, कांग्रेसको मौलिक विचार र लामो समयदेखि प्रतीक्षित नेता गगन थापा यसका सभापति हुनुले कांग्रेसको पुनरोदय त्यति टाढा छैन। गगन थापाले युगको स्पन्दनलाई न्याय गर्न सके लोकतान्त्रिक गणतन्त्र नेपालको भविष्यको अलाइनमेन्ट कोर्न सक्ने क्षमता राख्दछन्। यसका लागि कांग्रेसले दुई कुरामा काम गर्नुपर्छ।
१. आसन्न १५औँ महाधिवेशन
कांग्रेसको अधिवेशन सधैँ कर्मकाण्डी र नेतृत्व-चयनको औपचारिकता मात्र भयो भन्ने आलोचना हुँदै आएको छ। यसपटक यो विचार र कार्यक्रमको गरमागरम बहसको थलो बनोस्। बदलिँदो समाज, आन्तरिक शक्ति-संरचनाको फेरबदल, बाह्य शक्ति-सन्तुलन, पार्टीको ऐतिहासिक योगदान, कम्तीमा सन् २०५० सम्मको भिजन, युवा-श्रम, शिक्षा-स्वास्थ्य, पूर्वाधार र समावेशी विकास, अर्थतन्त्र-औद्योगीकरण, एआई र डिजिटल नेपाल, कला-साहित्य-संगीत-सिनेमासम्मका विषयमा इन्द्रेणी बहस चलोस्। यो महाधिवेशन नेपाली समाजकै सबैभन्दा ठूलो पब्लिक डिस्कोर्सको थलो बनोस्।
नेतृत्व चयन महाधिवेशनको दोस्रो ठूलो जिम्मेवारी हो। यसले समयको माग नबुझे आगामी दिन कांग्रेसका लागि कठिन बन्नेछ। अहिलेको प्रतिनिधिसभामा युवाको बाहुल्य छ; ठूलो पार्टीको केन्द्रीय समिति आधा महिला र बहुसंख्यक युवाले भरिएको छ। रास्वपाले युवा र महिलालाई टोकनका रूपमा मात्र होइन, जिम्मेवारीकै तहसम्म स्थान दिएको छ। वामपन्थी दलहरूले पनि आन्तरिक दबाब थेग्न नसकेर युवालाई जिम्मेवारी दिने बताइरहेका छन्।
कांग्रेसको आउँदो अधिवेशनबाट कस्तो समूह नेतृत्वका रूपमा उदाउँछ भन्ने कुरा निकै प्रतीक्षित विषय हो। २०४६ सालको आन्दोलनपछि तत्कालीन नेतृत्वले दिएको अवसरमा ३०–४० वर्ष उमेरका धेरै युवा सांसद निर्वाचित भएका थिए; त्यो पंक्ति अहिले पनि सक्रिय छ। २०६४ सालको संविधानसभा चुनावमा माओवादीका थुप्रै युवा संसदमा पुगेका थिए। माओवादीले लडेको युद्धमा युवा र महिलाको सहभागिता उल्लेख्य थियो, त्यसैको प्रतिफल थियो त्यो।
कांग्रेसमा कुरा केन्द्रीय सभापतिको मात्र होइन। अग्रजदेखि युवासम्मको सन्तुलित सामूहिक नेतृत्व बनोस्, जहाँ महिला र युवा टोकन होइन, विचार, कार्यक्षमता र राजनीतिक परीक्षणबाट निस्किएको पंक्ति होस्। कांग्रेसले आफ्नो इतिहास, योगदान र योजना प्रस्ट ढंगले सञ्चार गर्नुपर्ने बेला आएको छ। हाम्रो विद्यमान सञ्चार-प्रणालीले पुगिरहेको छैन भन्ने सत्य स्वीकार्नुपर्छ।
एकीकृत पार्टी, महाधिवेशनमार्फत रूपान्तरित र सन्तुलित नेतृत्व, र ‘अबको भरोसा कांग्रेसको नयाँ नेतृत्व हो’ भन्ने स्पष्ट सन्देश दिनु अपरिहार्य छ। नत्र कांग्रेस आफ्नै निर्णयको बोझले थप थिचिनेछ। ‘हामी सुध्रिन्छौँ, पहिलेजस्तो गल्ती गर्दैनौँ, नयाँ भनेको हामी नै हौँ, भरोसा गर्नुहोस्’ भन्ने प्रतिबद्धता बारम्बार आएको छ। तर अब यो सुध्रिने, नयाँ हुने, भरोसायोग्य हुने कुरा निर्णय, काम, प्रस्तुति र विचारबाटै प्रमाणित हुनुपर्छ। नेतृत्व यसप्रति सचेत छ भन्नेमा आशावादी हुन सकिन्छ।
इतिहासको अफ्ठ्यारो हामीले बिर्सेका छैनौँ। सात सालको क्रान्तिपछि मोहन शमशेरको नेतृत्वमा बनेको संयुक्त सरकारमा बीपी कोइराला गृहमन्त्री थिए; सुवर्ण शमशेर र गणेशमानसिंह पनि मन्त्रिमण्डलमा थिए। बिस्तारै त्यही सरकार र खासगरी क्रान्तिकारी कदम चालेका बीपी तथा कांग्रेसका मन्त्रीहरूविरुद्ध नै कांग्रेसको त्यसबेलाको नेतृत्व लाग्यो, र त्यहीँबाट एउटा विग्रह सुरु भयो। दुर्भाग्यवश बीपी कोइरालाविरुद्ध मातृकाप्रसाद र सुवर्ण शमशेरविरुद्ध महावीर शमशेर तथा महेन्द्रविक्रम शाह उभिन पुगे।
तर कांग्रेसका कार्यकर्ता र जनतालाई यो थाहा थियो- क्रान्तिपुरुषका रूपमा, मूल पदमा नबसेरै पनि, क्रान्तिको वास्तविक नेतृत्व र कांग्रेसको भविष्य बीपी कोइराला, सुवर्ण शमशेर र गणेशमानसिंह नै थिए। यो प्रसंग महत्त्वपूर्ण किन छ भने विग्रहले हिजो पनि कमजोर बनाएको थियो, एकताले बलियो। पार्टी नेतृत्वको अन्तिम प्रयत्न पार्टीलाई कमजोर हुनबाट रोकेर ब्युँताउनतिर हुनुपर्छ।
२. निर्वाचन मुड
एक वाक्यमा भन्दा प्रदेशसभा र स्थानीय तहको आगामी चुनावको तयारी गर्न कांग्रेसलाई ढिलो भइसक्यो। सिंगो पार्टी निर्वाचन-मुडमा नउत्रे आगामी चुनाव थप कठिन साबित हुनेछ। आन्तरिक चुनावको चापले बाह्य चुनावको चाप महसुस गर्नै नपाउने हो कि भन्ने शंका छ। दुवै चाप उत्तिकै पेचिला छन् र हामीसँग फेरि पनि समय छैन। प्राइमरीको विस्तृत विवेचना र कार्यविधि अझै बाहिर आएको छैन; यसको जोखिम केलाएर, अन्य मोडेलिङबाट सबैभन्दा योग्य उम्मेदवार अघि सार्ने रूपरेखा पनि देखिँदैन। चुनावकेन्द्रित तयारीमा तुरुन्तै जुट्नु पर्नेछ, ढिलो जति भयो, अफ्ठ्यारो उति नै हुनेछ र अन्ततः हाम्रा हातमा रेडिमेड जवाफ मात्र बाँकी रहनेछ: ‘यस्तो गर्न सकिन्थ्यो, यस्तो गर्नुपर्थ्यो, तर समय पुगेन।’
निर्वाचनमा पार्टीको भिजनसँगै उम्मेदवारको व्यक्तित्वले पनि उत्तिकै फरक पार्छ। हाम्रो मिश्रित निर्वाचन प्रणालीमा पार्टी-केन्द्रित र उम्मेदवार-केन्द्रित मत दुवै महत्त्वपूर्ण हुन्छन्। पार्टीप्रतिको इमानदार मत, उम्मेदवारको व्यक्तित्वको मत र नीति-कार्यक्रमको मत। यी तीन वटा मत भारले निर्वाचनको नतिजा तय गर्छ। गएको निर्वाचनदेखि कांग्रेसले ‘प्रतिज्ञापत्र’ भन्न थालेको छ; आगामी निर्वाचनका लागि सहभागितामूलक छलफल, सबै प्रदेश-भूगोलमा पुगेर जनताको मनोविज्ञान र स्रोत-साधनको सूक्ष्म विश्लेषण गरी विज्ञ सम्मिलित समितिबाट नयाँ प्रतिज्ञापत्र तयार गर्नु जरुरी छ। परम्परागत अभ्यासको पुनरावृत्तिले ठोस नतिजा दिन सक्दैन भन्नेमा सचेत रहनुपर्छ।
आगामी प्रदेश र स्थानीय तहको चुनावमा दुई तर्कको फेरि सामना गर्नुपर्नेछ। पहिलो, प्रदेश सरकारको विगतको प्रदर्शन, सरकार फेरबदलको दुश्चक्र र भागबन्डालाई देखाएर पुराना दलले प्रदेशलाई अनुत्पादक र कार्यकर्ता-व्यवस्थापनको भाँडो बनाए भनिनेछ। दोस्रो, स्थानीय सरकारका गएका दुई कार्यकाल असक्षमहरूले चलाए र भ्रष्टाचारकै केन्द्र बने भन्दै गैरदलीय वा नयाँ विकल्पतिर हेर्न आह्वान हुनेछ। नयाँ पार्टीहरूको यो आरोप विगतको भन्दा झन् चर्को रूपमा उठ्नेछ। सँगै हुनेछ ‘पैँतीस वर्षमा केही भएन’ भन्ने भनाइ।
कांग्रेसले राजनीतिक-वैचारिक कार्यक्रमसँगै मिथ्या सूचना, झुटा आरोप, निराधार हल्ला र लोकतन्त्रका लागि आफ्नो योगदानको अवमूल्यनको मुकाबिला ठीक माध्यम, ठीक तरिका र ठीक तर्कले गर्नुपर्छ। जनतालाई सार्वजनिक बहस र डिजिटल माध्यमबाट सुसूचित र आफ्नो धारणा सम्प्रेषण गर्न नसके अल्गोरिदमलाई दोष दिएर बस्नुको अर्थ रहँदैन। कांग्रेस निर्वाचन-मुडमा गएको घोषणा अहिल्यै हुनुपर्छ, यसका लागि महाधिवेशन कुर्नु पर्दैन, किनभने पार्टी भनेकै संस्थागत निरन्तरता हो जुन महाधिवेशनपछि पनि रहनेछ। निर्वाचन-मुडको कांग्रेसले मात्र यो अभियान उठाउन र आफ्नो उपस्थिति कायम राख्न सक्नेछ।
(ई अमृत ज्ञवाली कांग्रेस महासमिति र नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका सदस्य हुन्)
Shares

प्रतिक्रिया