ब्लग


हिप्पीकालीन काठमाडौँको कथा: राजा महेन्द्रले अनुमति दिएपछि देवानन्दले बनाएको त्यो सिनेमा

हिप्पीकालीन काठमाडौँको कथा: राजा महेन्द्रले अनुमति दिएपछि देवानन्दले बनाएको त्यो सिनेमा

राजा महेन्द्र र अभिनेता देवानन्दको तत्कालीन तस्बिर


वाशुदेव मिश्र
असार २३, २०८३ मंगलबार ८:८, पोखरा

यो त्यो बेलाको कथा हो, जुनबेला काठमाडौँ र पोखराका गल्लीहरूमा फिरन्ताहरू बेफिक्री डुलिरहेका हुन्थे। अनौठो लवाइ, उस्तै बेपर्वाह चालका उनीहरू सजिलै पाइने गाँजा निस्फिक्री हावामा उडाउँथे।

मदमस्त युवायुवतीको त्यो समूह कहाँबाट आयो? किन आयो? तेह्रथुमबाट पढाइकै लागि काठमाडौँ आएका प्रा.डा. अभि सुवेदी उनीहरूतिर तानिए।

‘काठमाडौँ रित्तो मन लिएर आको। टियू (त्रिभुवन विश्वविद्यालय) भर्ना भएँ। म ब्ल्याङ्क मन लिएर आएँ। त्यो मन केले भर्ने? एक्कासि काठमाडौँमा यस्तो मान्छे आए कि रंगीन पहिरन छ। के-के लगाएका छन्। कोही नाङ्गै खुट्टा हिँडेका छन्। कोही केही छन्। पश्चिमका युवायुवती, ती हिप्पी रहेछन्’, अभिले भुपेन खड्कासँगको एक कुराकानीमा भनेका छन्, ‘तिनीहरूको दुईवटा कुराले मलाई आकर्षिक गर्‍यो। उनीहरूसँग किताब थियो, किताब बोकेका छन्। संगीत थियो। कवि थिए। म तिनीहरूसम्म पुगेँ। उनीहरूको सबै तरिका लिइनँ तर उनीहरूको त्यो कुरा (किताब र संगीत) लिएर म अगाडि बढेँ।’

अभिका अनुसार उनीहरू विरक्तिएर नेपाल पसेका थिए। संगतपछि थाहा भयो- त्यो हुलमा भियतनाम युद्ध लडेर आएकाहरू पनि थिए।

‘त्यतिखेर मैले भेटेका हिप्पीमध्ये एउटाको हात नै नही, एउटाको खुट्टा। उनीहरू भियतनामको युद्धबाट आएका, युद्धबाट बाहिर निस्केका युवा थिए’, सुवेदीले भनेका छन्, ‘मलाई एकदमै उनीहरूको नजिक लग्यो। म नशापट्टि गइनँ। मेरा दाजुहरू साधुसाधु खालका। दाजुहरू पनि त्यस्तै खान्थे। गाँजा मेरा लागि नौलो थिएन। आमाले यसले गाँजा नखाओस् भन्ने थियो। तिनीहरूसँग राम्रो कुरा खोज्न पुगियो। म त्यतापट्टि (गाँजा) लागिनँ।’

अभि त्यो बेला हिप्पीहरूसँग सानो कोठामा घण्टौँ बात मार्दै बस्थे रे! सानो कोठामा गाँजा चल्थ्यो। आफैँले नखाए पनि अभिलाई पनि नशाले छुने नै भयो।

‘घण्टौँ बसेपछि म हाँस्दै निस्कन्थेँ’, उनले भनेका छन्।

सन् १९६० को दशकदेखि नेपाल छिरेका हिप्पीहरूले नेपाली युवाहरूलाई कुलतमा नलगाएको अभिको जिकिर छ।

‘हिप्पीहरूले नेपालका युवाहरूलाई मास रूपले कुलतमा लगाएनन्। काठमाडौँका युवाहरू नेवारहरू थिए। उनीहरू कुलतमा लागेर फिट्टा भएर हिँडेको मलाई थाहा छैन। नेवारी संस्कृतिसँग त्यो (कुलतबाट टाढा हुने) सामर्थ्य छ। झोँसेमा उनीहरूले राखे। त्यहाँका नेवार साहुहरूले मजाले घरको भुइँतलामा डेरामा राखे। उहाँहरूको जिन्दगी आफ्नै थियो। तिनीहरूको आवागमनले उनीहरूलाई खासै प्रभाव पारेन।’

हुलका हुल नेपाल पसेका हिप्पीहरूले तत्कालीन युवाहरूलाई कत्तिको प्रभावित गरे, यो खोजको विषय नै हो। तर, काठमाडौँको झोँसे र पोखराजस्ता पर्यटकीय क्षेत्रमा किताब पसल, बेकरी र संगीतसहितको रेस्टुराँ खुल्नुमा चाहिँ हिप्पीहरूकै योगदान छ।

नेपालमा त्यो बेला गाँजा अवैध थिएन। पसल नै खोलेर बेच्न पाइन्थ्यो। युद्धबाट विक्षिप्त बनेका र मोक्षको खोजीमा भौँतारिएका हिप्पीहरू चिसो र गाँजाको सुगन्धले तानिएर नै नेपाल आएका थिए। यहाँको चिसो मौसम, सजिलै उपलब्ध हुने गाँजा र चरेस अनि सस्तो बसाइले उनीहरूलाई महिनौँसम्म यहीँ रोकेको थियो।

अभिको भनाइमा ‘हिप्पीहरू ‘मोक्ष’को खोजीमा त थिए नै, उनीहरूको आगमनलाई तत्कालीन राजा महेन्द्रले पनि अप्रत्यक्ष रूपले स्वागत गरेका थिए।’

‘राजा महेन्द्रको हिप्पीप्रतिको अनौठो धारणा थियो। त्यो भनेको के भने राजा महेन्द्रले उनीहरूलाई आउन दिए। गेट बनाएर स्वागत गरेनन्। पूरा खुलस्त रूपले। तर, हिप्पीहरू आउँदा अवरोध भएन। त्यस्तो पञ्चायतले शासन गरेको, अटोक्रेटिक राजा। हिप्पीहरूप्रति निरपेक्षता’, उनले भनेका छन्, ‘मस्त आउँथे, जान्थे। रिचर्ड निक्सन (सन् १९६९ देखि १९७४ सम्मका अमेरिकी राष्ट्रपति) को पालामा ब्यान्ड गरेपछि (गाँजालाई लागुपदार्थमा वर्गीकरण गरेसँगै) बल्ल हिप्पीहरूलाई निकाला भयो।’

अभिले भनेको कुरा भारतका सर्वकालीन सुपरस्टार देवानन्द (देव आनन्द) को कुरासँग मेल खान्छ।

देवानन्दले आफ्नो आत्मकथा ‘रोमान्सिङ विद लाइफ’मा लेखेअनुसार तत्कालीन युवराज वीरेन्द्रको बिहे (२०२६, फागुन १६ गते) मा निम्त्याइएका बेला उनी हिप्पीहरूको बाक्लो जमघट हुने ‘द बेकरी क्याफे’ पुगेका रहेछन्।

उनी त्यहाँ पुग्दा लामो कपाल पालेका, सयपत्रीको माला लगाएका र गाँजा तानिरहेका युवायुवतीहरू मस्त थिए। तीमध्ये कोही उपरखुट्टी लगाएर बसेका थिए भने केही ध्यान मुद्रामा आकाशतिर फर्केका। तिनका केटी साथी बेपर्वाह मस्त! उनीहरूको स्कर्ट हावामा फरफराइरहेको थियो। त्यही भिडमा उनले भारतीय मूलकी एउटी युवती देखेछन्। देवानन्दलाई ती भारतीय युवतीको जीवनीमा आधारित सिनेमा बनाउने सोच पलाएछ।

देवानन्दले ती युवतीलाई भेट्छन्। उनको जीवनबारे थाहा पाउँछन् र सिनेमा बनाउने निश्चय गर्छन्। बिहेको सप्ताहव्यापी कार्यक्रमपछि देव आनन्द बिदाइ भेटका लागि दरबार गएछन् अनि राजा महेन्द्रलाई भनेछन्, ‘यदि महाराजले मलाई अनुमति दिनुहुन्छ भने...मसँग एउटा कथा छ र त्यो नेपालमा मात्रै हुन्छ।’

राजा सुन्ने मुडमा थिए।

‘एउटा सिनेमा जसले युवा तथा बिन्दास घटनाको प्रतिनिधित्व गर्छ...।’

‘यसको मतलब हिप्पी?’ 

‘हो सरकार! यो सिनेमाको गतिलो सोच हो, म यो यहाँ बनाउन चाहन्छु।’

‘अगाडि बढ, तिम्रो स्क्रिप्ट तयार छ?’

‘म पहिले तपाईंको स्वीकृति चाहन्छु।’

‘यो तिम्रो सोच हो, मेरो स्वीकृति किन?’

‘स्क्रिप्ट तयार भएपछि छायांकनको लागि स्वीकृति। स्क्रिप्ट सबै यहाँभित्र छ (दिमागमा औँलाले छुँदै), सरकारबाट प्राप्त प्रोत्साहनले यो कागजमा छिट्टै आउँछ।’

राजा महेन्द्रले देवानन्दलाई स्क्रिप्ट लेख्न पोखरा जान सुझाव दिए। पोखराको फिस्टेल लजमा बसेर देवानन्दले काम सकाए। यो सिनेमा काठमाडौँको गल्लीहरूमै खिचियो। ‘हरे रामा, हरे कृष्णा’ फिल्म ब्लकबस्टर बन्यो। अनि त्यसको एउटा गीत ‘दम मारो दम’ कालजयी! 

हिप्पीकालीन काठमाडौँ 

पहिलो र दोस्रो विश्वयुद्धबाट विरक्तिएका अमेरिकी र युरोपियनहरूले राज्यसत्ताप्रति ‘मौन विद्रोह’ सुरु गरे। उनीहरूले किताब, संगीत र लापर्वाह जीवनलाई आफ्नो ठाने। परम्परागत मान्यताविपरीत अगाडि बढेका उनीहरू विश्वयात्रामा निस्के।

फ्रान्स, नेदरल्यान्ड्सको एम्मरर्डम, युगोस्लाभिया, आइसल्यान्ड, टर्कीको आंकरा हुँदै गाँजा-चरेस पाइने ठाउँहरू इरान, अफगानिस्तानबाट खैवर घाँटी हुँदै पाकिस्तानको लाहोर र त्यसपछि कश्मीर गोवा, दिल्ली अनि काठमाडौँ र पोखरा आइपुग्नेहरू उनीहरू नै थिए।

करिब १२ हजार माइलका यो यात्रा गर्न बसबाट ५० दिन लाग्थ्यो। विद्रोही जीवन बाँच्नेहरू सुरुमा भारत आए अनि चिसो र मिठो गाँजाको चर्चासँगै नेपाल भित्रिए। तत्कालीन काठमाडौँले उनीहरूलाई सहर्ष स्वीकार गर्‍यो। परम्परागत नेवारी बस्ती झोँसे हिप्पीको अखडा बन्यो।

रैथाने नेवारहरू हिप्पीको खातिरदारीमा अगाडि सरे। जात्रा र पर्वहरूमा रम्ने गरेका नेवारहरूले हिप्पीले खोजेजस्ता परिकार बनाउन थाले। कतिपयले हिप्पीबाटै सिके अनि परम्परागत नेवा परिकारको बास्ना आउने काठमाडौँले बर्गरदेखि बेकरीसम्मको स्वाद चखाउन थाल्यो। गाँजा र चरेसमा प्रतिबन्ध थिएन। अतिथिले खोजेको चिज पनि काठमाडौँले टक्र्याइरह्यो। हिप्पीहरू ‘चिलिम’ तानेर ‘मन मगन’ बनिरहे। त्यो बेला सरकारको काठमाडौँमा ३० वटा पसललाई वैधानिक रूपले नै गाँजा बेच्ने अनुमति दिएको थियो।

१३ अगस्ट  १९७३ मा द न्यूयोर्क टाइम्समा छापिएको बर्नार्ड वाइनराउबको समाचारमा त्यो दृश्यलाई यसरी वर्णन गरिएको छ, ‘प्रायः प्रत्येक बिहान हिप्पीहरू रातको ५० सेन्ट मात्र तिरेर बस्ने सस्तो आश्रयस्थल बाट निस्कन्छन्। त्यसपछि उनीहरू नजिकैका आफ्ना जमघटस्थलहरूमा पुग्छन्, जहाँ उनीहरू गफ गर्छन्, रक संगीत सुन्छन् र चुपचाप चिलिमलाई एक जनाको मुखबाट अर्को जनाको मुखमा पास गरिरहन्छन्।’

बनार्डले नेपालमा गाँजा र चरेस प्रतिबन्धित भएपछि झन विरक्तिएका र काठमाडौँमा मुस्किलले रहेका सय जना हिप्पी रहेको बेला यो समाचार लेखेका हुन्।

तर जुन युग प्रा.डा. अभि सुवेदीले देखे- त्यो समय भिन्नै थियो। शरद ऋतुतिर भित्रने उनीहरूको स्वागत गर्न काठमाडौँ तयारीका साथ बस्थ्यो। प्रायः भारतको वाराणसी हुँदै नेपाल भित्रने हिप्पीमध्ये केही पोखरा आउँथे।

सन् १९६० को दशकमा पोखराले सहरको रूप लिएकै थिएन। अहिलेको प्रमुख पर्यटकीय गन्तव्य बैदाम क्षेत्र लेकसाइड बनेकै थिएन। हिप्पीहरू आउन थालेपछि बैदामवासीहरूले पनि आफूलाई बदले। बास माग्न आउनेहरूलाई धनसार र सानो कोठामा परालको डसनामा सुत्ने प्रबन्ध गरिदिए। काठमाडौँजस्तै बैदाम र वरपरका क्षेत्रहरूमा भनेजस्तो गाँजा पाइन्थ्यो।

हिप्पीकालको अन्त्य देखेका र उनीहरूसँगै संगत गरेका पोखराका पर्यटन व्यवसायी गणेशबहादुर भट्टराईका अनुसार हिप्पीहरू त्यो बेला फेवाताल वरपर नै रमाउँथे। कोही तालमा नाङ्गैभुतुङ्गै पनि देखिन्थे।

अघिल्लो पुस्ताले भनेको कुरा सुनाउँदै उनले भने, ‘उनीहरूले खोजेजस्तो गाँजा-चरेस बागलुङ, म्याग्दी र रुकुम-रोल्पाबाट आउँथ्यो। त्यतातिरको गाँजा र चरेसको भाउ पनि अन्यत्रको भन्दा महँगो थियो। कतिपयले आफू चढेर आएको गाडीको अन्तरकुन्तर लुकाएर पछिसम्म पनि त्यताको चरेस लगेका थिए रे!’

अनेक किस्सा, रोमाञ्चक अनुभूति 
हिप्पी युगमा नेपाल आएकाहरू अझै यो धर्तीमै छन्। उनीहरूमध्ये केहीले आफ्नो संस्मरणलाई पुस्तकको रूप दिएका छन् भने केहीले सामाजिक सञ्जालमार्फत ती रोमाञ्चक दिनको स्मरण गरिरहेका छन्।

तीमध्ये एक हुन्- टम बेल। उनले सन् १९७० को दशकमा नेपाल आएको प्रसंग सामाजिक सञ्जालमा यसरी व्यक्त गरेका छन्:

‘मलाई सम्झना छ- सन् १९७० को दशकको मध्यतिर कुनै बेला नेपाल सरकारले सडकभरि खुलेआम लागुऔषधका ठुला साइनबोर्डहरू राखिएका थिए। पछि सरकारले त्यसमा कडाइ गरेपछि काठमाडौँको ‘इडेन ह्यासिस सेन्टर’लाई आफ्नो नाम परिवर्तन गरेर ‘इडेन रग एन्ड आर्ट सेन्टर’ राखिएको थियो। तर, भित्र पस्नेबित्तिकै थाहा हुन्थ्यो कि त्यहाँ बेच्नका लागि न त कुनै गलैँचा थिए न त कुनै कलाका सामग्री।’

अर्का यात्री हेइके ब्लोमले पनि त्यो बेला सम्झँदै भनेका छन्, ‘म १९ वर्षको हुँदा त्यहाँ पुगेको थिएँ। म नेपालसम्म निकै टाढाबाट यात्रा गरेर आएको थिएँ। अहिले मेरो उमेर ६६ वर्ष भयो। मेरा साथीहरू गोवामै बसोबास गर्न थाले। उनीहरू बेकर (रोटी बनाउने) थिए र पूर्णिमाका पार्टीहरूमा उनीहरूले आफूहरूले बनाएको स्वादिलो रोटी बेच्थे। त्यो अनुभव यति अद्भुत थियो कि म त्यसलाई जीवनभर कहिल्यै बिर्सन सक्दिनँ। खुसीको कुरा, ती मानिसहरू अझै जीवित छन्।’

सन् १९७६ मा नेपाल र पोखरा आएकी ट्रिसिया हार्टले पनि नेपालमा बिताएका स्वर्णिम क्षणहरूबारे उस्तै अनुभूति साटेकी छन्।

उनले भनेकी छन्, ‘मेरो यात्रा-साथी र म बैंककबाट हवाईजहाजमार्फत नेपाल आयौँ। त्यसपछि हामीले एक महिना काठमाडौँ र पोखराबिच आवतजावत गर्दै बितायौँ। दक्षिण-पूर्वी एसिया वा अझ स्पष्ट रूपमा भन्नुपर्दा त्यहाँ अत्यन्त कम खर्चमा यात्रा गर्दै बस्ने जीवनशैली मेरो लागि आफैँमा एउटा ठुलो अनुभव थियो। तर नेपाल प्रवेश गरेपछि मलाई लाग्यो, मानौँ म अर्कै संसारमा प्रवेश गरेँ।

काठमाडौँमा बेलाबेलामा हुने लोडसेडिङका कारण सीमित विद्युत् आपूर्ति वा पोखरामा हामी बसेको साधारण माटो-इँटाको कोठामा विद्युत् नै नहुनु, अस्वच्छ जीवनशैली, कमजोर स्वास्थ्य सेवा (हो, म निकै बिरामी पनि परेँ) र खानाका सीमित विकल्प- यी सबै कुरा दक्षिण-पूर्वी एसियामा पाइने स्वादिष्ट र विविध परिकारहरूको तुलनामा निकै भिन्न थिए। मेरो डायरीमा हामी बसेका ठाउँहरूको नाम लेखिएको छैन। तर मलाई सम्झना छ- काठमाडौँमा हामी न्युरोडनजिक, दरबार स्क्वायरबाट केही ब्लक तल एउटा स्थानमा बसेका थियौँ। पोखरामा भने फेवातालको पूर्वी किनारलाई हेर्ने गरी बनेका माटाका साना झुपडीहरूको एउटा पङ्क्तिमा बस्यौँ।

दुर्भाग्यवश! हामी गर्मीयाममा पुगेकाले हिमालहरू अधिकांश समय बादलले ढाकिएका थिए। तर काठमाडौँबाट पोखरातर्फ बसमा यात्रा गर्दा बादल अचानक हटेपछि अस्ताउँदै गरेको सूर्यको गुलाबी आभामा नुहाएका हिमालयका चुचुराहरू पहिलोपटक देखेको दृश्य भने आज पनि मेरो स्मृतिमा अत्यन्त जीवन्त छ। त्यसपछि पोखरामा यति नजिक हुँदाहुँदै पनि हामीले अन्नपूर्ण हिमशृंखलाको कहिलेकाहीँ मात्र दर्शन गर्न पायौँ  र स्वाभाविक रूपमा त्यस्ता क्षणमा मेरो क्यामेरा प्रायः साथमा हुँदैनथ्यो।

तर, नेपालमा हाम्रो अन्तिम रात भने भाग्यले साथ दियो। हामी फेरि पोखराकै त्यही झुपडीमा बसेका थियौँ। अघिल्ला बसाइहरूमा हाम्रो राम्रो चिनजान भएका त्यहाँका युवा व्यवस्थापकले राति अबेर हाम्रो ढोका ढकढक्याउँदै उत्साहित स्वरमा बाहिर आउन आग्रह गरे। हामी बाहिर निस्किएपछि पूर्णिमाको उज्यालोमा स्नान गरिरहेको अन्नपूर्ण हिमशृंखलाको अनुपम दृश्यले हाम्रो स्वागत गर्‍यो। त्यो दृश्य हाम्रो नेपाल यात्राको अविस्मरणीय समापन बन्यो।’

किन प्रतिबन्धित भयो गाँजा, किन धपाइए हिप्पी?

अमेरिकाले हिप्पी संस्कृतिमा नियन्त्रणको प्रयास थाल्यो। उसकै अगुवाइमा सन् १९६१ मार्च (२०१७ साल चैत) मा संयुक्त राष्ट्रसंघीय मुख्यालयमा सम्पन्न सम्मेलनबाट अन्तर्राष्ट्रिय सन्धि ‘द सिंगल कन्भेन्सन अन नार्कोटिक ड्रग्स १९६१’ पारित गरियो। नेपाल पनि सो सन्धिको पक्षधर थियो। अफिमजस्तै गाँजालाई लागुऔषधको सूचीमा समावेश गरियो। नेपालमा पञ्चायती शासन सुरु भएको बेला थियो।

सन्धिमा हस्ताक्षर गरे पनि राजा महेन्द्रले हिप्पीको प्रिय गाँजा र चरेसमा प्रतिबन्ध लगाएनन्। तर, राजा वीरेन्द्रको राज्याभिषेक (२०३१ फागुन १२) को बेलामा मात्र नेपालले हिप्पीहरूविरुद्ध कडाइ गर्‍यो। अन्तर्राष्ट्रिय पाहुनाको अगाडि नेपालको बेइज्जत नहोस् भन्नाका खातिर त्यो बेला हिप्पीहरूको कपाल काट्नेजस्ता कदम पनि चालिए। 

संयुक्त राष्ट्रसंघ नेपालले गाँजामा पूर्ण प्रतिबन्ध लगाउन सहयोग नगरेकामा असन्तुष्ट थियो। अमेरिकाले निरन्तर गाँजामा प्रतिबन्धको दबाब दिइरह्यो। राजा वीरेन्द्रले त्यो दबाब खेप्न सकेनन्। २०३३ सालमा लागुऔषध (नियन्त्रण) ऐन जारी भयो।

गाँजाको खेती, उत्पादन, खरीद-बिक्री, निकासी, पैठारी, सञ्चयमा प्रतिबन्धपछि काठमाडौँमा रहेका आक्रोशित हिप्पीहरूको भावना समेटेएिको बर्नार्ड वाइनराउबको समाचारमा भनिएको छ, ‘वर्षौंसम्म अन्तर्राष्ट्रिय हिप्पी यात्राको लगभग राजधानी रहँदै आएको काठमाडौँ अहिले भने कडा र तनावपूर्ण बन्दै गएको छ। तीन साताअघि नेपाल सरकारले राजधानीको लागुऔषध बजार बन्द गर्ने तथा गाँजा, ह्यासिस र कडा किसिमका लागुऔषधको बिक्रीमा प्रतिबन्ध लगाउने निर्णय गरेपछि पश्चिमी मुलुकबाट आएका ‘यात्रीहरू’बिच चिन्ता र असहजता फैलिएको छ। ह्यासिसको मूल्य त यसबिच दोब्बर भइसकेको छ।

‘अविश्वसनीय’, ‘इट एट जोज’ नामक रेस्टुरेन्टमा बसेकी एक अस्ट्रेलियाली युवतीले भनिन्।

इक्लिप्समा भेटिएका सान फ्रान्सिस्कोका २८ वर्षीय र्‍यान्डीले काँध उचाल्दै भने, ‘उनीहरूले यसलाई कसरी रोक्न सक्छन्? के उनीहरूले समुद्रतिर बग्ने पानी रोक्न सक्छन्?’

यद्यपि ‘डोप’ (लागुऔषध) सेवन अझै सामान्य नै छ र अहिले पनि काठमाडौँमा ह्यासिस भेट्टाउन खासै गाह्रो छैन। तथापि हिप्पीहरू भित्रभित्रै चिन्तित छन्, किनभने सरकारको नयाँ आदेशले नेपाल अब लागुऔषधविरुद्ध कडा नीति अपनाउने दिशामा अघि बढेको स्पष्ट संकेत दिएको छ।

यसैसँगै सरकारले सन (हेम्प) र अफिम (पप्पी) जस्ता बोटबिरुवाको खेतीसमेत छिट्टै निषेध गरिने जानकारी दिएको छ। साथै नेपालले अब भिसाका लागि आवेदन दिने तथा आफ्नो बसाइ अवधि थप्न चाहने व्यक्तिहरूप्रति अझ कडाइका साथ निगरानी गर्ने संकेत पनि दिएको छ।

समाचारमा तत्कालीन परराष्ट्रमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले भनेका छन्, ‘हामी उनीहरूलाई निरुत्साहित गर्न खोजिरहेका छौँ, तर हामीसँग केही समस्या छन्। उनीहरूले कपाल काट्छन्, राम्रो लुगा लगाउँछन् र भिसा पाउँछन्। तर यहाँ आएपछि फेरि लामो कपाल पाल्न थाल्छन्।’

गाँजा खेतीका लागि जुर्मुराएको गण्डकी 

हिप्पी युग सकिएको छ। तर नेपालमा गाँजा खेती पुन: सुरु गर्ने बहस सतहमा आएको छ। गण्डकी सरकारले त औषधीय प्रयोजनमा उपयोग गर्ने गरी गाँजा खेतीलाई वैधानिकता दिने विधेयक नै तयार पारेको छ। गण्डकीको विधायन समितिले हालै यो विधेयक पारित गरेको छ।

विधेयकको मस्यौदाले गाँजा खेतीलाई औषधीय प्रयोजनमा सीमित गर्न खोजेको छ भने कारोबारलाई नियन्त्रण गर्नका निम्ति शक्तिशाली र स्वायत्त ‘गाँजा नियमन बोर्ड’को प्रस्ताव गरेको छ।

मुख्यमन्त्रीद्वारा नियुक्त कार्यकारी निर्देशकको अध्यक्षतामा रहने यो बोर्डलाई गाँजा खेतीका लागि क्षेत्र तोक्ने, अनुमतिपत्र जारी तथा खारेज गर्ने, उत्पादित गाँजाको न्यूनतम समर्थन मूल्य तोक्न सरकारलाई सिफारिस गर्ने र कानुन उल्लंघन गर्नेलाई कारबाहीको दायरामा ल्याउने अधिकार दिइएको छ। विधेयकमा कतिवटा बोट गाँजा रोप्ने र कहाँ रोप्ने, कतिबेला उत्पादन लिनेजस्ता प्रावधान राखिएको छ।

किसानले उत्पादन गरेको गाँजा सिधै बजारमा लगेर बेच्न नपाउने व्यवस्था पनि विधेयकमा राखिएको छ। गाँजा खेती गर्ने र किन्नेले अनुमतिपत्र लिनुपर्छ भने विधेयकले गाँजालाई वैज्ञानिक आधारमा वर्गीकरण गरेको छ। १ प्रतिशतभन्दा बढी नशायुक्त तत्त्व भएकोलाई ‘गाँजा’ र सोभन्दा कम भएकोलाई ‘भाँगो’ मानिएको छ। हरेक किसान र व्यवसायीले उत्पादन र बिक्रीको विस्तृत अभिलेख राख्नुपर्नेछ भने १८ वर्षमुनिका व्यक्तिलाई कारोबारमा संलग्न गराए अनुमतिपत्र स्वतः खारेज हुनेछ।

अनुमतिबिना खेती वा कारोबार गर्नेलाई ३ वर्षसम्म कैद र ६ लाख रुपैयाँसम्म जरिवाना हुन सक्ने कडा कानुनी व्यवस्था छ। गण्डकी सरकारले कानुन बनाउने तयारी गरे पनि लागुऔषध (नियन्त्रण) ऐन, २०३३ का गाँजा खेती र कारोबारलाई अपराध मान्ने विभिन्न दफा निस्तेज नभएसम्म खेती सुरु हुने सम्भावना छैन। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad