अखिल नेपाल फुटबल संघ (एन्फा) निलम्बन भएको खबरले निकै दुःख लाग्यो। यो नेपालको खेल व्यवस्थापन वर्षौंदेखि विकृत हुँदै जाँदाको परिणाम हो।
यसको लागि कुनै एक व्यक्ति वा संस्था मात्र जिम्मेवार छैन। सुरुदेखि हालसम्म संस्थाको नेतृत्व गर्ने अधिकांश पदाधिकारी, राजनीतिक हस्तक्षेप गर्ने शक्ति केन्द्र र भ्रष्ट संस्कृतिले यो अवस्था आएको हो।
विदेश भ्रमणका लागि मरिहत्ते गर्ने, संस्थाको बजेट दुरुपयोग गर्ने, चुनाव जित्न जस्तोसुकै सम्झौता गर्न तयार हुने, योग्यलाई नभई आफ्नालाई अवसर दिने प्रवृत्ति तथा कमिसनमुखी संस्कृतिले नेपाली फुटबललाई दशकौँ पछाडि धकेलेको छ। खेलाडीको भविष्यभन्दा गुट र स्वार्थ ठूलो बन्न पुगेको छ।
अर्कोतर्फ, विश्व फुटबलको सर्वोच्च संस्था फिफाको पनि कमजोरी छ। साना र आर्थिक रूपमा कमजोर सदस्य राष्ट्रहरू उसका लागि भोट बैंक मात्र हुन्। साना राष्ट्रमाथि आफ्नो प्रभाव र राजनीतिक स्वार्थ सुरक्षित राख्न उसले गरेका प्रयासलाई नजरअन्दाज गर्न सकिँदैन। त्यसैले फिफा पनि पूर्ण रूपमा निर्दोष छैन।
तर यसको अर्थ नेपालले अन्तर्राष्ट्रिय फुटबल संरचनासँग टकरावको बाटो रोज्नुपर्छ भन्ने होइन। नेपालजस्तो सीमित स्रोतसाधन भएको देशले फिफासँग अनावश्यक द्वन्द्व सिर्जना गर्नु हुँदैन। बरु फिफाका नियम र अन्तर्राष्ट्रिय मापदण्डभित्र रहेर पारदर्शी सुधार गर्नु नै बुद्धिमानी हुन्छ। भ्रष्टाचार भएको छ भने त्यसको निष्पक्ष छानबिन, दोषीलाई कानुनी कारबाही र संस्थागत सुधार एक साथ अघि बढाउनुपर्छ।
सबैभन्दा ठूलो समस्या हाम्रो प्रणालीमै छ। नेतृत्व फेरिए पनि प्रणाली नफेरिएसम्म समस्या दोहोरिइरहन्छ। त्यसैले एन्फामा वित्तीय पारदर्शिता, पारदर्शी निर्वाचन प्रक्रिया, उमेर समूहदेखि राष्ट्रिय टोलीसम्म छनोट प्रक्रियामा पूर्ण निष्पक्षता, प्रशिक्षक तथा प्राविधिक नियुक्तिमा योग्यता र दीर्घकालीन फुटबल विकास योजनालाई प्राथमिकता दिन आवश्यक छ।
हरि खड्कादेखि विमल घर्तीसम्म उपेन्द्रमान सिंहदेखि किरण चेमजोङसम्म खेलाडीको मूल्याङ्कन गर्ने हो भने नेपालमा प्रतिभाको अभाव कहिल्यै थिएन। अभाव थियो त अवसर, दीर्घकालीन योजना र इमानदार व्यवस्थापनको। यही कारणले धेरै प्रतिभाशाली खेलाडी उचित प्रशिक्षण, पूर्वाधार र व्यवस्थापनको अभावमा हराइरहेका छन्। देशभरका मैदान, एकेडेमी, प्रशिक्षक विकास र ग्रासरुट फुटबलमा पर्याप्त लगानी नगरी राष्ट्रिय टोलीबाट मात्र चमत्कारको अपेक्षा गर्नु हुँदैन।
यसको सकारात्मक उदाहरण नेपाली क्रिकेटले देखाएको छ। केही वर्षयता व्यवस्थापन, योजना, खेलाडी विकास र अन्तर्राष्ट्रिय सहभागितामा आएको सुधारले विश्वसामु नेपालको नयाँ परिचय बनाएको छ। सही नेतृत्व, स्पष्ट नीति र पारदर्शी व्यवस्थापन भए नेपाली खेलकुदले पनि उल्लेखनीय प्रगति गर्न सक्छ भन्ने क्रिकेटले देखाइसकेको छ।
यतिखेर नेपालका लागि सबैभन्दा उपयुक्त तरिका तरिका ‘सर्प पनि मरोस्, लौरो पनि नभाँचियोस्’ भन्ने खालको हुनुपर्छ। त्यसैले फिफासँग सम्बन्ध तोड्नतिर लाग्नु हुँदैन। बरु, उसका नियमहरूको सम्मान गर्दै भ्रष्टाचारका सबै काला चिठ्ठा निष्पक्ष रूपमा सार्वजनिक गरी संस्थागत सुधार अघि बढाउन सकियो भने नेपालले सदस्यता जोगाउन सक्छ। र, अन्तर्राष्ट्रिय समुदायको विश्वास पनि जित्न सक्छ।
Shares

प्रतिक्रिया