काठमाडौँको कोलाहल, कङ्क्रिटको जङ्गलको निसास्सिँदो वातावरण र आधुनिक जीवनशैलीको अनवरत दौडधूपबाट थकित आँखाहरू जब कतै शान्तिको खोजीमा भौँतारिन्छन्, तब मेरो मानसपटलमा एउटा यस्तो तस्बिर आउँछ– जहाँ समय रोकिन्छ। जहाँ हावाले पनि भगवान् शिवको नाम सुसाउँछ। जहाँ हिमालहरूले धर्तीलाई अङ्गालो हालेजस्तो भान हुन्छ। यो कुनै सपना वा परिकल्पना होइन। यो त सुदूरपश्चिमको दार्चुला जिल्लामा अवस्थित, प्रकृतिको सबैभन्दा पवित्र र कुमारी सिर्जना ‘अपि बेसक्याम्प’ हो।
भर्खरै मात्र प्रधानमन्त्री बालेन शाहले सामाजिक सञ्जालको भित्तामा यस क्षेत्रको एउटा मनमोहक, साझा गरेका छन्। ओझेलमा परेको यस स्वर्गको चर्चा त्यसपछि रातारात बढेको छ। सुदूरपश्चिमको सिमानामा लुकेर बसेको यो दिव्य गन्तव्य अब एउटा पदमार्ग मात्र होइन, पर्यटनको नयाँ हब र नेपालकै उत्कृष्ट ‘हिल स्टेसन’ बन्ने सम्भावना छ।
प्रकृतिको जीवन्त क्यानभास र आध्यात्मिक चेतना
अपि बेस क्याम्पको यात्रा आफैँभित्रको आध्यात्मिक चेतनालाई ब्युँझाउने र प्रकृतिको जीवन्त क्यानभासभित्र लीन हुने एउटा अलौकिक अवसर हो। जब कोही यो मार्गमा अगाडि बढ्छन्, तब आधुनिक संसारका कृत्रिम कोलाहलहरू क्रमशः हराउँदै जान्छन्। चमेलिया नदीको सुसाइ, चराचुरुङ्गीको चिरबिर र रूखका पातहरूसँग ठोकिँदै बहने लेकाली हावाको सङ्गीतले मन आकर्षित हुन्छ।
बाटोभरि देखिने हरियाली, कञ्चन पानीका मनमोहक छाँगाछहरा र आँखै लोभ्याउने विशाल पाटनहरूले पदयात्रीको गोडाका ठेला र शरीरको सारा थकानलाई क्षणभरमै अमृतमा बदलिदिन्छन्। यहाँका प्रत्येक झरनाहरू देख्दा लाग्छ, यी हिमालका आँसु होइनन्, बरु धर्तीलाई शीतलता प्रदान गर्न बगेका दिव्य धारा हुन्।
जब पदयात्री अनेकन् उकाली–ओराली पार गर्दै अन्ततः बेस क्याम्पको विशाल प्राङ्गणमा पुग्छन्, त्यहाँको दृश्यले जोकोहीलाई निःशब्द र भावुक बनाउँछ। आँखाको ठिक सामुन्ने लहरै उभिएका सेताम्मे हिमशृङ्खलाका पंक्तिहरू काँइयाकोर, अपि (७,१३२ मिटर), नाम्पा, र जेठी बहुरानी मुस्कुराइरहेका देखिन्छन्।
त्यहाँ अवस्थित कालीढुङ्गा तालको निलो र कञ्चन पानी नियाल्दा मनमा एउटा गज्जबको सन्नाटा र शान्ति छाउँछ। सूर्यको पहिलो किरण ती हिमालमा ठोक्किएर कालीढुङ्गा तालको छातीमा प्रतिबिम्बित हुँदा देखिने हिमालको छाया सायद संसारको कुनै पनि कुनासँग तुलना हुन सक्दैन। रिङ्गदेपानी ताल र सुदूरपश्चिमकै लाइफलाइन मानिने चमेलिया नदीको मुहान क्षेत्रमा पुग्दा धार्मिक र आध्यात्मिक मनहरू स्वतः श्रद्धाले नतमस्तक हुन्छन्।
संस्कृति र आतिथ्य : मल्देशी पहिचान र डेउडाको सुमधुर भाका
यहाँको रैथाने मल्देशी संस्कृति, उनीहरूको मौलिक भेषभूषा र परम्परागत जीवनशैलीले यात्रालाई एउटा छुट्टै सांस्कृतिक उचाइ दिन्छ। हिमाल हेर्न निस्केको यात्रीले यहाँका मानिसहरूको आँखामा हिमालभन्दा सफा र कञ्चन स्नेह पाउन सक्छ। साँझपख जब चिसो लेकाली हावा चल्न थाल्छ, तब स्थानीय होमस्टेहरूमा दाउराको आगोको राप ताप्दै, कोदोको रोटी र स्थानीय सिस्नोको सुपको स्वाद लिँदै गुन्जिने छलिया नृत्य र डेउडाभाकाले पदयात्रीको सारा शरीरको थकान मेटाइदिन्छ।
९ दिने बेस क्याम्प यात्रा तालिका
अपि बेस क्याम्पको यो रोमाञ्चक, सुरक्षित र व्यवस्थित यात्रालाई सहज बनाउनका लागि ९ दिनको एउटा यात्रा तालिका यहाँ प्रस्तुत गरिएको छ।
दिन १ र २ : काठमाडौँदेखि मकरीगाड
सडक मार्ग : काठमाडौँको बसपार्कबाट प्रस्थान गरी नारायणगढ, कोहलपुर हुँदै कैलालीको अत्तरिया पुगिन्छ। अत्तरियाबाट उकालो लाग्दै बैतडीको गोकुलेश्वर हुँदै दार्चुलाको मकरीगाडसम्म गाडीको यात्रा गर्न सकिन्छ। यो यात्रा अलि लामो भए पनि नेपालको भौगोलिक विविधता बुझ्नका लागि उत्कृष्ट छ।
हवाइ मार्ग : समय बचाउन र सहज यात्रा गर्न चाहनेहरूका लागि काठमाडौँबाट धनगढीसम्मको उडान र त्यहाँबाट निजी वा सार्वजनिक गाडीमार्फत सिधै चमेलियाको किनारै–किनार मकरीगाड पुग्न सकिन्छ। मकरीगाड नै यो पदयात्राको औपचारिक प्रस्थानविन्दु अर्थात् प्रवेशद्वार हो, जहाँबाट चमेलिया नदीको वास्तविक सुसाइ सुरु हुन्छ।
दिन ३ : मकरीगाडदेखि सिती गाउँ
पैदल यात्रा अवधि : ६ देखि ७ घण्टा।
मकरीगाडबाट झोला भिरेर पाइला अगाडि बढाउँदा चमेलियाको सुसाइ र वरपरका पहाडहरूले स्वागत गर्छन्। बाटोमा रमणीय र सांस्कृतिक रूपमा धनी घुसा गाउँ पार गर्दै यात्रीहरू सिती गाउँ पुग्छन्। बाटोभरि पहाडी जनजीवन र साना–साना झरनाहरूले आँखालाई आनन्द दिइरहन्छन्। सिती गाउँका स्थानीय होमस्टेहरूमा रात्रीकालीन बास हुन्छ। यहाँ स्थानीय रैथाने अन्न र सागसब्जीबाट तयार पारिएका परिकारले यात्रीको स्वागत गरिन्छ।

दिन ४ : सिती गाउँदेखि अपि बेस क्याम्प
पैदल यात्रा अवधि : ९ देखि १० घण्टा।
यो दिनको यात्रा अलि लामो र शारीरिक रूपमा चुनौतीपूर्ण भए तापनि दृश्यका हिसाबले सबैभन्दा रोमाञ्चक र अविस्मरणीय हुन्छ। यो समयमा सिती गाउँ–खैकोट–चिर्चिरे–सिमर–भल्याखोला–धौलिओडारसम्म हिँड्न सकिन्छ। जति–जति उचाइ थपिँदै जान्छ, जङ्गलको रूप फेरिँदै जान्छ। सल्ला, धुपी र लालीगुँरासका रूखहरूले घेरिएको बाटो, अनगिन्ती साना–ठूला पानीका प्राकृतिक मुहानहरू, र पहाडको छाती चिरेर बगेका झरनाहरू पार गर्दै जाँदा थकानको आभास नै हुँदैन। धौलिओडारमा होटल तथा टी–हाउसहरूमा रात्रिकालीन खाना र बस्नका लागि उचित व्यवस्था उपलब्ध छ।
दिन ५ : बेस क्याम्पको जादुमयी संसारको अन्वेषण र धौलिओडार फिर्ता
यो अपिको काखमा सुस्ताउने र प्रकृतिको पूजा गर्ने दिन हो। बिहानै अपि, नाम्पा र जेठी बहुरानी हिमालमा सूर्योदयको सुनौलो किरण परेको अलौकिक दृश्यको साक्षी बन्ने। त्यसपछि पवित्र कालीढुङ्गा ताल र रिङ्गदेपानी तालको भ्रमण गरी हिमालको छाया र निलो पानीको सङ्गम नियाल्ने। चमेलिया नदीको उद्गमस्थल पुगेर चिसो र पवित्र पानीले हत्केला भिजाउने। दिनभरिको अभूतपूर्व दृश्यावलोकन र आनन्दपछि, हिमाली जादुलाई मनमा साँच्दै साँझपख ओरालो झरेर धौलिओडार पुगिन्छ।
दिन ६ : धौलिओडारदेखि घुसा गाउँ
पैदल यात्रा अवधि : ९ देखि १० घण्टा।
बेस क्याम्पका यादहरूलाई क्यामेरा र मनमा कैद गर्दै खैकोट र सिती गाउँ हुँदै पुनः घुसा गाउँतर्फको ओरालो यात्रा हुन्छ। ओरालो झर्दा बाटो हिजोको भन्दा फरक र अझ सुन्दर देखिन्छ। घुसा गाउँका होमस्टेमा बास बस्न सकिन्छ। यहाँ पुनः एकपटक स्थानीय संस्कृति, डेउडा र आत्मीयताको स्वाद लिन पाइन्छ।
दिन ७ : घुसा गाउँदेखि मकरीगाड र गोकुलेश्वर
घुसा गाउँबाट २–३ घण्टाको सहज र रमाइलो ओरालो पैदल यात्रा गर्दै मकरीगाड पुगिन्छ। मकरीगाड पुगेपछि पैदल यात्रा समाप्त हुन्छ र त्यहाँबाट गाडी चढेर दार्चुला र बैतडीको सीमानामा रहेको सुन्दर बजार गोकुलेश्वरतर्फ प्रस्थान गर्न सकिन्छ।
दिन ८ र ९ : गोकुलेश्वरदेखि काठमाडौँ फिर्ता
गोकुलेश्वरबाट अत्तरिया हुँदै काठमाडौँका लागि दिवा वा रात्री बसको यात्रा, अथवा गोकुलेश्वरबाट धनगढीसम्म गाडी र धनगढीबाट हवाइजहाजमार्फत छोटो समयमै काठमाडौँ फिर्ता हुन सकिन्छ। काठमाडौँ फर्कंदा यात्रीको मनमा अपिको सुन्दरता बसिरहेकै हुन्छ।
अपि नै किन?
नेपालका अन्य प्रख्यात पदमार्गहरू जस्तै एभरेस्ट बेस क्याम्प, अन्नपूर्ण सर्किट वा मनास्लु ट्रेक आजका दिनमा अत्यधिक महँगा, व्यावसायिक र भिडभाडयुक्त छन्। त्यहाँ प्रकृतिको मौलिकता हराएजस्तो र व्यापार हाबी भएजस्तो भान हुन्छ। तर, ती सबै स्थापित क्षेत्रको तुलनामा अपि बेस क्याम्प पदयात्रा अत्यन्तै सस्तो, सहज र प्रकृतिको शुद्ध रूप हो।
यस मार्गको सबैभन्दा ठूलो विशेषता भनेको पानीको उपलब्धता हो। यात्राका क्रममा हरेक केही मिनेटको दूरीमा शुद्ध, कञ्चन र प्राकृतिक हिमाली पानीका मुहानहरू छन्। पदयात्रीले महँगो बोतलको पानी किन्नु पर्दैन, मुहानबाटै तिर्खा मेटाउन सकिन्छ।
विगतमा जस्तो यो क्षेत्रमा क्याम्पिङ सामग्री, पाल र धेरै भारी बोकेर हिँड्नुपर्ने बाध्यता अब पूर्ण रूपमा हटेको छ। बाटोभरि पर्याप्त र व्यवस्थित होमस्टे तथा स्थानीय होटलहरू स्थापना भइसकेका छन्। यहाँ न्यूनतम खर्चमा अर्गानिक स्थानीय खाना, रैथाने स्वाद र न्यानो ओछ्यान पाइन्छ, जसले गर्दा यो यात्रा हरेक वर्गका व्यक्तिका लागि किफायती बनेको छ।
सुदूरपश्चिमको आगामी पर्यटन हब र उत्कृष्ट ‘हिल स्टेसन’
अहिलेसम्म सुदूरपश्चिम भन्नेबित्तिकै राष्ट्रिय स्तरमा खप्तडको पाटन वा शुक्लाफाँटाको जङ्गलको मात्र चर्चा बढी हुने गरेको थियो। दार्चुला र अपि हिमाल सधैँ भूगोलको दूरदराजमा राष्ट्रको नजरबाट अलि टाढा रहे। तर, भौगोलिक विविधता, पर्यावरण–पर्यटन, धार्मिक आस्था र साहसिक पर्यटनको दृष्टिकोणले अपि बेस क्याम्प अब सुदूरपश्चिमको मात्र नभएर सिङ्गो देशकै प्रमुख पर्यटन हब र एक अद्वितीय ‘हिल स्टेसन’ बन्न सक्ने पूर्ण आधार बोकेको क्षेत्र हो।
यो क्षेत्रलाई वसन्त वा शरद ऋतुको मौसमी पदयात्रामा मात्र सीमित राख्नु हुँदैन। यसलाई बाह्रै महिना आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न सक्ने गरी पूर्वाधारको थप वैज्ञानिक विकास गर्न आवश्यक छ। प्रधानमन्त्रीले भिडिओ सेयर गरिदिएपछि यो क्षेत्र राष्ट्रिय चासोको केन्द्रमा आएको छ। अब यो सुनौलो अवसरलाई नीतिगत रूपमै समात्नुपर्छ।
ऐतिहासिक र भौगोलिक रूपमा लामो समय ओझेलमा परेको ‘सुदूर’ लाई अब सधैँका लागि ‘दूर’ राखिरहनु हुँदैन। यो क्षेत्र केवल नेपाली पर्यटकका लागि मात्र होइन, सीमापारि रहेका छिमेकी मुलुक भारतका धार्मिक तथा साहसिक पर्यटक र विश्वका अन्य मुलुकका पाहुनाहरूलाई समेत स्वागत गर्न पूर्ण रूपमा तयार भइसकेको छ। छिमेकी राष्ट्र भारतको उत्तराखण्ड र उत्तर प्रदेशसँगको भौगोलिक सामीप्यका कारण भारतीय पर्यटकका लागि यो छोटो र सुलभ हिमाली गन्तव्य बन्न सक्छ भने साहसिक पर्यटनका पारखी विदेशी नागरिकका लागि अपि र नाम्पा जस्ता गगनचुम्बी टाकुराहरू हिमाल आरोहणको नयाँ र रोमाञ्चक केन्द्र बन्न सक्छन्।
विश्वभरका आरोहीहरूलाई आमन्त्रण गर्दै अपिको दुर्गम जगलाई सुगम पर्यटकीय पूर्वाधारले जोड्न सके सुदूरको यो हिउँ–स्वर्गले देशकै अर्थतन्त्रमा नयाँ आयाम थप्नेछ।
पदयात्रामा सबैभन्दा सहज र सस्तो गन्तव्य नरोजे कसलाई रोज्ने? यदि तपाईं हिमालसँग साउती मार्न चाहनुहुन्छ, निलो तालको ऐनामा आफ्नै आत्मा र अस्तित्वलाई नियाल्न चाहनुहुन्छ भने यो उत्कृष्ट गन्तव्य हो। स्वर्ग कस्तो हुन्छ र कहाँ छ, त्यो कसैलाई थाहा नहोला। तर अपि बेस क्याम्पमा बसेर जब तपाईं सामुन्नेको हिमाल नियाल्नुहुनेछ, तब तपाईंलाई पक्का विश्वास हुनेछ– स्वर्गको अर्को नाम नै अपि रहेछ!
(लोकेन्द्रबहादुर विष्ट अपिहिमाल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हुन्)
Shares

प्रतिक्रिया