उज्वेकिस्तानमा हुने महिला एसियन कप छनोटको मिति नजिकिँदै गर्दा राष्ट्रिय महिला फुटबल टोलीको अब बन्ने कप्तानबारे चर्चा बढिरहेको छ। खासगरी उज्वेकिस्तानमा नेपालको प्रदर्शन र नयाँ कप्तानीलाई लिएर खेलकुद वृत्तमा जिज्ञासा बढेको हो।
एसियन कप छनोटअन्तर्गतको पहिलो खेल नेपाली राष्ट्रिय महिला फुटबल टोलीका लागि ऐतिहासिक एक सयौँ खेल हो। ऐतिहासिक खेलका लागि टोली मैदान उत्रिँदै गर्दा कप्तानको ‘आर्म ब्यान्ड’ कसको हातमा होला भन्ने जिज्ञासा समर्थकमाझ छाएको हो।
यसबीचमा महिला टोली उज्वेकिस्तानमा पुगेर प्रशिक्षणमा जुटिसकेको छ। उज्वेकिस्तान जानुअघि अखिल नेपाल फुटबल संघ (एन्फा) ले महिला टोलीलाई विदाइ गर्दा टोलीका मुख्य प्रशिक्षक प्याट्रिक डि वाइल्ड, टिम म्यानेजर वृन्दा देवान र हेड अफ डेलिगेसन सरिला श्रेष्ठ नेपालको झण्डा लिन अगाडि पुगेका थिए।
त्यसो त विदाइ कार्यक्रममा टोली कप्तानले पनि नेपालको झण्डा लिने चलन छ। तर उज्वेकिस्तान जाने टोली घोषणा गर्दा होस् वा विदाइमा एन्जिलाको नाम कहीँ उल्लेख थिएन। यसबाट पनि एसियन कप छनोटमा उनलाई कप्तानी जिम्मेवारीबाट पर राखिएको बुझ्न सकिने जानकार बताउँछन्।
उज्वेकिस्तानमा सफल भए महिला टोलीलाई खुल्नेछ विश्वकप र ओलम्पिक छनोटको ढोका
एन्जिलाले २०७९ भदौमा घरेलु मैदानमा भएको साफ महिला च्याम्पियनसिपबाट नेपालको कप्तानी जिम्मेवारी पाएकी थिइन्।
नियमित कप्तान रेनुका नगरकोटे चोटका कारण टोलीबाट बाहिरिएपछि प्रशिक्षक कुमार थापाले त्यतिबेला एन्जिलालाई कप्तान र अमृता जैसीलाई उपकप्तानको जिम्मेवारी दिएका थिए। तर एसियन कप छनोट खेल्ने टोलीमा अहिलेसम्म कप्तान र उपकप्तान दुवै तोकिएको छैन।
त्यसैले पनि एन्जिलालाई कप्तानी जिम्मेवारीबाट हटाइएपछि अब को बन्ला त नयाँ कप्तान भन्ने उत्सुकता देखिएको छ।
त्यसो त नेपाली फुटबलमा राष्ट्रिय टोलीमा डेब्यु गरेको आधारमा सिनियर मान्दै कप्तानी दिने चलन छ। तर यो पटक महिला टोलीकी नियमित गोलरक्षक तथा कप्तान एन्जिला तुम्बाप्पो सुब्बाले सम्हाल्दै आएको कप्तानी जिम्मेवारी टोलीकै अर्की खेलाडीलाई सुम्पिने तयारीमा मुख्य प्रशिक्षक प्याट्रिक डि वाइल्ड छन्।
यस्तोमा एकपटक कप्तानी सम्हालिसकेकी रेनुकाले पुन: जिम्मेवारी पाए दोहोरिनेछिन्। तर त्यसो नभए महिला टोलीले नयाँ कप्तान पाउनेछ।
यसअघि रमा सिंहले सन् १९८६ देखि ०८७ सम्म नेपालको पहिलो कप्तानी जिम्मेवारी सम्हालेकी थिइन्। उनीपछि सन् १९९० मा कमला हिराचन, १९९९ मा मिरा चौधरी नेपालको कप्तान बने। सन् २०१० देखि २०१२ सम्म् जमुना गुरुङ, २०१३ मा चन्द्रा भण्डारी, २०१६ देखि २०१६ सम्म अनु लामा र २०१७ मा सजना राना मगरले नेपाली टोलीको कप्तानी जिम्मेवारी सम्हालेका थिए।
२०१७ मा रेनुका नगरकोटे, २०१८ मा निरु थापा नेपाली टोलीको कप्तान बने। सन् २०१९ देखि हालसम्म एन्जिला तुम्बाप्पो सुब्बाले नेपाली टोलीको कप्तानी सम्हालेकी छिन्।
Shares

प्रतिक्रिया