ब्लग


यौनको ‘मूल्य’

यौनको ‘मूल्य’

प्रतीकात्मक तस्बिर


रूपबहादुर विश्वकर्मा
चैत ९, २०८१ शनिबार ९:१२, काठमाडौँ

नौ महिनाअघिको कुरा हो। एक ‘भलादमी’ निर्वाचन आयोगको आयुक्त पदका लागि संवैधानिक परिषद्‌बाट सिफारिस भए। उनी संसदीय सुनुवाइ समितिबाट पनि अनुमोदन हुनेमा सम्भवतः दुवै पक्ष ढुक्क थिए। तर समितिले प्रक्रियाबमोजिम उनीविरुद्ध सार्वजनिक उजुरी आह्वान गर्नैपर्ने थियो। गर्‍यो। अनि उनीविरुद्ध यस्तो उजुरी पर्‍यो, जसले उनको नैतिकता र चरित्रमा गम्भीर प्रश्न उठायो। निश्चित रूपमा त्यो यौनसँग सम्बन्धित थियो। 

उजुरीमा उनले गैरसरकारी संस्था (एनजीओ) मा जागिर लगाइदिने प्रलोभनमा पारेर एक महिलालाई महिनौँ ‘यौन शोषण’ गरेको उल्लेख थियो। यो विषय अदालतमा पुगेपछि उनले पीडितलाई १ करोड २५ लाख रुपैयाँ दिएर मिलापत्र गराएको प्रमाणसमेत संसदीय समितिमा पेस गरिएको थियो। 

जसले उनमा संविधानअनुसार निर्वाचन आयुक्त पदका लागि आवश्यक ‘उच्च नैतिक चरित्र’ नदेखिएको प्रमाणित गर्‍यो। सायद संसदीय सुनुवाइ समिति पनि छक्क पर्‍यो। निक्कै दिन निर्णय दिन सकेन। तर आफू अस्वीकृत हुने लगभग पक्का देखिएपछि उनी आफैँले आफ्नो नाम फिर्ता लिए। 

अर्थात्, उही बेला सवा करोड तिरिसकेको त्यो यौनको ‘मूल्य’ उनी फेरि तिर्दै थिए। थाहा छैन, बाँकी जीवनमा पनि अझै त्यसको मूल्य कति चुकाइरहनुपर्ने हो! तर के निश्चित छ भने जतिपटक र जति मूल्य चुकाए पनि अब उनले त्यो ‘नैतिक चरित्र’ यो जुनीमा फिर्ता ल्याउन सक्ने छैनन्।

जीवनमा यौनको ‘मूल्य’ कति चर्काे र दूरगामी हुन्छ भन्ने सन्दर्भमा यो त एउटा सानो उदाहरण मात्र हो। अरू पनि यस्ता र यस प्रकृतिका घटना संकलन गर्ने हो भने कति छन् कति! जहाँ भेटिनेछन्- चर्चित कलाकारदेखि क्रिकेटरसम्म, नेतादेखि न्यायाधीशसम्म। नाम किन लिइरहनु!

यहाँ ‘मूल्य’को अर्थ पैसा मात्र होइन। त्यो मूल्य नैतिक, सामाजिक, पारिवारिक, कानुनी, राजनीतिक, शारीरिक, मानसिक अनेक रूपमा हुन सक्छ। यस्तो ‘मूल्य’ अझ घातक र दीर्घकालीन हुन्छ भन्ने कुरा त सुरुमै उल्लिखित घटनाले प्रस्ट पारिसकेको छ।

विवाहेतर एवं अवैध सम्बन्धले निम्त्याउने हत्या-आत्महत्या होस् वा बलात्कारका कारण हुने जेल र जरिवाना, वा असुरक्षित यौन सम्पर्कका कारण लाग्ने एड्सजस्ता प्राणघातक रोग किन नहोस्- सबै यौनकै ‘मूल्य’का रूप हुन्।

तपाईं जीवनका अन्य सबै पक्षमा जतिसुकै सफल किन नहुनुस्, तर मात्र एउटा कुरा- यौनमा ‘असफल’ हुनुभयो भने लगभग तपाईंको पूरै जीवन असफल हुन्छ, हुने गरेको छ।

आफ्ना प्रेमी वा जीवनसाथीलाई संसारका सारा सुख दिन सक्नुभयो तर मात्र यौन सुख दिन सक्नुभएन भने निश्चित छ, तपाईंको सम्बन्ध धरापमा पर्नेछ। यहाँ धक नमानीकन के भन्नैपर्ने हुन्छ भने वैदेशिक रोजगारी वा अन्य कारण लामो समय टाढा बसेका दम्पतीको विछोड/विखण्डनको मूल कारण पनि यही हो।

चरित्रको प्रश्न
नेपाली शब्दकोशमा ‘चरित्र’ शब्दको अर्थ: १. जीवनी, चरित, २. चालचलन, बानीबेहोरा, व्यवहार आदि उल्लेख गरेको पाइन्छ। यसभित्र मानिसका अनेक गतिविधि पर्ने देखिन्छ। तर हाम्रो समाजमा ‘चरित्र’ भन्नासाथ सर्वप्रथम यौन सम्झिने गरिएको छ भन्दा अत्युक्ति नहोला। किनकि कसैलाई ‘चरित्रहीन’को आरोप लगाउँदा होस् वा कसैको ‘चरित्र हत्या’ गर्दा, अक्सर यौन नै जोड्ने गरिएको पाइन्छ। मानौँ मान्छेको ‘चरित्र’ भनेकै यौनमा हुन्छ। हुन पनि हो, यौनका कारण जीवनमा लाग्ने दाग सितिमिति मेटिँदैन। 

यसैले त हाम्रो समाजले प्रेम र विवाहलाई जीवनको यस्तो ‘परीक्षा’ बनाइदिएको छ, जसमा पहिलो प्रयासमै पास भयो भने भयो, नत्र लगभग एकबारको जुनी खेर गयो! एसईईमा फेल हुँदा कतिपय किशोर-किशोरीले आत्महत्या गरेजस्तो! उनीहरू के बिर्सन्छन् भने एसईईमा अनुत्तीर्ण हुनु नै जीवन सकिनु होइन, जुन परीक्षा पुनः दिन मिल्छ, सकिन्छ। 

त्यसो त जीवनका हरेक परीक्षा पहिलोपटकमै अझ उत्कृष्ट अंकले उत्तीर्ण हुन सकेको धेरै राम्रो। त्यसका लागि आफ्ना तर्फबाट सक्दो प्रयास गर्नु पनि पर्छ। तर सफलता सधैँ कहाँ हाम्रो हातमा हुन्छ र!

यात्रामा दुर्घटना कसले चाहन्छ र? तर नचाहँदैमा दुर्घटना नहुने हो र!

प्रेम वा विवाहलाई पनि जीवनको एउटा परीक्षा वा यात्रा ठान्ने हो भने यसमा पनि मान्छे असफल हुन सक्छ, दुर्घटनामा पर्न सक्छ। अझ जीवन त त्यस्तो सडकमा गुड्ने गाडी हो, जहाँ आफूले मात्र ट्राफिक नियम पालना गर्दैमा दुर्घटनाबाट बच्न सकिन्न।

तर पनि हाम्रो समाज प्रेम वा वैवाहिक असफलता/दुर्घटनालाई जीवनका अन्य असफलता वा दुर्घटनाजस्तो मान्न/ठान्न पटक्कै तयार छैन। किनकि यसमा यौन जोडिएको छ। अनि यौनमा ‘चरित्र’। 

यो यौनवादी मान्यताको सबैभन्दा बढी मारमा परिरहेका छन्- महिला। पुरुष पनि अछूतो छैनन्।

अझै पनि हाम्रा कैयौँ दिदीबहिनी बरु ज्यान फाल्न तयार हुन्छन्, तर सम्बन्ध तोड्न वा तोडिहाले पनि पुन: प्रेम वा विवाह गर्ने आँट गर्दैनन्। जसले गर्छन्, तिनले पनि जिन्दगीभरि सामाजिक/मानसिक हिंसा खेप्नुपर्छ। 

प्रेम वा विवाह जीवनलाई थप सहज, सुन्दर, सुखी र अर्थपूर्ण बनाउनका लागि हो। तर जब यसको उल्टो हात लाग्न थाल्छ र जीवन नै जोखिममा पर्छ, तब त्यस्तो सम्बन्ध तोड्नु नै दुवै पक्षका लागि श्रेयस्कर हुन्छ। तर हाम्रो समाजले के सिकाइदिएको छ भने बरु जीवन सकाऊ तर सम्बन्ध (इज्जत) जोगाऊ! जसले निम्त्याइरहेको छ- आत्महत्यादेखि हत्यासम्म।

यहाँनिर गायिका एलिना चौहानको भनाइ मननीय हुन्छ, ‘कसैले पनि बिहे डिभोर्स हुन्छ भनेर गरेको हुँदैन।..कहिलेकाहीँ कति कुराहरू इच्छा (चाहना) भन्दा पनि जरुरी हुँदोरहेछ। मनमुटाव हुँदाहुँदै पछि ठूलो दुर्घटना भयो भने झन् नराम्रो हुन्छ नि! अहिले त केही बिग्रेको छैन।’

मान्छे सबै कुरामा सफल हुन सक्दैन। अमेरिकी अर्बपति व्यवसायी इलोन मस्कलाई नै हेरौँ न। टेस्लाका मालिक उनी ‘मानव इतिहासकै धनी व्यक्ति’ हुन सफल भए तर पारिवारिक जीवनमा असफल। अर्थात् उनी पनि ‘डिभोर्सी’ हुन्।

चरित्रको ‘प्रमाणपत्र’ 
माथि नै भनियो, हाम्रो समाजमा मानिसको चरित्रको मूल्यांकन मूलतः यौनका आधारमा गरिन्छ। यसैले उसको प्रेम वा वैवाहिक स्थिति पनि यसको मापदण्ड मान्ने गरिएको छ। जसले गर्दा ब्रेकअप, डिभोर्स, पुन:विवाह गरेकाहरूलाई नकारात्मक नजरले हेरिन्छ। अर्थात् उसको चरित्रमा प्रश्न उठाइन्छ। उसले अन्य क्षेत्रमा सफलता वा प्रगति गर्‍यो भने पनि ‘फलानी/फलानो त यस्तो हो नि’ भनेर उसलाई ‘खत्तम’ चित्रण गर्दै खसाल्न खोजिन्छ। यो प्रवृत्ति हाम्रो राजनीतिक वृत्तमा समेत देखिएको छ।

उसको बाध्यता के थियो, परिस्थिति कस्तो थियो, हामीलाई त्यसमा कुनै चासो हुँदैन। बस्, एउटा कुराको मात्र मतलब हुन्छ- त्यसले किन प्रेमी/जीवनसाथी फेरी/फेर्‍यो! अर्थात् जीवनभर एउटासँग मात्र शारीरिक सम्बन्ध राख्नुपर्ने एकल ‘यौन आचारसंहिता’ किन उल्ल‌ंघन गरी/गर्‍यो?

यौन आनन्द र रोमाञ्चकताकै लागि ‘पार्टनर’ परिवर्तन गर्दै हिँड्ने प्रवृत्ति भने बेग्लै बहसको विषय हो।

नत्र जो जति सार्वजनिक वा औपचारिक रूपमा पहिलो प्रेम वा विवाहलाई नै जीवनमा कायम गर्न (अहिलेसम्म) सफल छन्, तिनको शारीरिक सम्बन्ध त्यही एउटा प्रेमी/जीवनसाथीसँग मात्र सीमित छ भनेर ठोकुवा गर्न सकिएला? सकिन्न भने प्रेम वा वैवाहिक स्थिति नै चरित्रको ‘प्रमाणपत्र’ कसरी हुन सक्ला?

फेरि चरित्रको ‘परीक्षा’ त मान्छे बाँचुन्जेल चलिरहन्छ। जसको उदाहरण हो- हालै सार्वजनिक ८२ वर्षका ज्येष्ठ नागरिक पनि यौन काण्डमा मुछिएको घटना। 

अतः कसैको चरित्र बाहिरी आवरणका आधारमा मात्र निर्क्योल गर्न सकिन्न। खासमा कसको चरित्र कस्तो छ भन्ने कुरा स्वयं उसैलाई बाहेक अरू कसैलाई थाहा हुँदैन। एकपटक आफैँलाई फर्केर हेरौँ न- हामी आफू साँच्चै कति इमान्दार छौँ/हौँ? मानिसले दुनियाँलाई झुक्याउन सक्छ, तर आफ्नै मनलाई कदापि ढाँट्न सक्दैन। 

‘चरित्रवान्’ ठानिएका/भनिएकाहरूको असली रूप सुरुमै प्रस्तुत पात्रको झैँ कुन बेला उदांगिन्छ, कुनै टुंगो छैन। त्यसो त यहाँ कतिपय मानिस सम्पत्ति, शक्ति र सत्ताको बलमा भित्रभित्र अवैध/अनैतिक यौन सम्बन्धको रसास्वादन गर्दै बाहिर भने आफूलाई बडो ‘आदर्शवान्’ पात्रका रूपमा प्रस्तुत गरिरहेका पनि छन्। थाहा छ- तिनको ‘प्रमाणपत्र’ (चरित्र) नक्कली हो तर पनि ‘डाक्टर’ नै मानिदिनुपर्ने बाध्यता छ। 

‘यौन आचारसंहिता’
सम्भवतः यौन आचारसंहितास्वरूप संसारभर अपनाइएको अभ्यास हो-विवाह। वैवाहिक बन्धनमा बाँधिएपछि मानिस यौनमा संयमित, अनुशासित र मर्यादित होला भनेर यो विधि सुरु गरियो सायद। 

‘यौनका सुखदुःख’ पुस्तकमा श्रीरामसिंह बस्नेत लेख्छन्, ‘मानव समुदायमा विवाहको प्रचलन धेरैपछि मात्र प्रारम्भ भएको हो। कहिलेदेखि प्रारम्भ भयो भनेर ठ्याक्कै तिथिमिति तोक्न नसकिए तापनि मानव जातिको सृष्टिदेखि नै विवाह र त्यसका माध्यमबाट परिवार निर्माणको प्रचलन सुरु भएको होइन। मानव सभ्यताको विकासक्रमसँगै स्त्री-पुरुषबीच वैवाहिक सम्बन्ध, परिवार निर्माण र नातागोता सम्बन्धको परिपाटी चलेको हो। तर स्त्री-पुरुषबीच यौन सम्बन्ध र सन्तान उत्पादन भने विवाह र परिवारको प्रचलन आउनुभन्दा धेरै अघिदेखि भएको हो। त्यसैले विवाह र परिवारको परिपाटी सुरु हुनुभन्दा अघि जोसुकै स्त्री-पुरुषबीच पनि यौन सम्बन्ध हुने गर्दथ्यो। यसमा कोसँगको स्वीकार्य र कोसँगको बर्जित भन्ने कुनै स्पष्ट लक्ष्मण रेखा थिएन।’

तर अहिले त स्पष्ट रूपमा यसका सामाजिक तथा कानुनी अनेक सीमारेखा कोरिएका छन्। जसलाई सोझो भाषामा ‘यौन आचारसंहिता’ भन्दा फरक नपर्ला। तर यो पनि विश्वभर एकै छैन। अझ एउटै देशमा समेत धर्म, संस्कृति तथा समुदायपिच्छे फरक-फरक छन्।

नेपालमा जे जस्ता यौन आचरण वा सम्बन्धलाई अनैतिक वा अवैध मानिन्छ, अमेरिकामा यसको परिभाषा फरक हुन सक्छ। हिन्दु धर्मावलम्बीले यौनमा जुन नीति अवलम्बन गरिरहेका छन्, मुस्लिम वा बौद्ध धर्ममा यो अलि भिन्न हुन सक्छ। 

यौन स्वतन्त्रता
पछिल्लो समय यौन स्वतन्त्रताको आवाज पनि उठेको पाइन्छ। तर त्यो स्वतन्त्रता कस्तो होला? यसको खाका कस्तो होला? मलाई लाग्छ- सम्भवत: यौन स्वतन्त्रता माग्नेहरूलाई नै थाहा छैन होला। कि प्रारम्भिक युगतिरै फर्किनुपर्छ भन्न खोजिएको हो? धरोधर्म! म पनि ठूलो ‘कन्फ्युजन’मा छु। 

नत्र हरेक कुराको एउटा विधि, प्रणाली वा संहिता हुन्छजस्तो लाग्छ। जसरी राज्य सञ्चालन गर्न संविधान चाहिन्छ, पार्टी चलाउन विधान। यतिसम्म कि प्रकृति, यो ब्रह्माण्ड पनि एउटा नियममा चलिरहेको छ। पृथ्वीले सूर्यको परिक्रमा गर्दिनँ, मलाई स्वतन्त्रता चाहियो भन्यो भने के होला?

मनले त जे पनि माग्ला, यसको पछि लागेर साध्य होला? जिब्रोले त जेको स्वाद पनि लिऊँ भन्ला, यसका सबै रहर पूरा गर्न थालियो भने स्वास्थ्य के होला? 

भन्न खोजेको- मानिसका इच्छा/चाहनाको त कुनै सीमा छ र? आधारभूत आवश्यकता, एउटा कुरा। तर मान्छेलाई सम्पत्ति कति भएपछि पुग्छ? सुख कति भएपछि पुग्छ? यो बडो जटिल प्रश्न हो। यसभन्दा जटिल प्रश्न हो- यौन सुख कति पाएपछि सन्तुष्ट हुन्छ त मानिस? 

फेरि पुस्तक ‘यौनका सुखदुःख’कै यो अंशः ‘मानव जाति नै सबैभन्दा बुद्धिमान प्राणी हुनु तर सबैभन्दा यौन असन्तुष्ट प्राणी पनि मानव जाति नै हुनु कम आश्चर्यजनक कुरा होइन। यही यौन सन्तुष्टिको अन्त्यहीन खोजीले गर्दा नै मानव जातिमा विभिन्न किसिमका यौन प्रवृत्ति प्रादुर्भाव भएको पाइन्छ।’ 

मानिस अतिरिक्त यौन सुखको खोजीमा झन् ठूलो दुःखको भुमरीमा परिरहेका छन्। दिनदिनैजसो सार्वजनिक हुने यौन जोडिएका अकल्पनीय, डरलाग्दा र दर्दनाक घटना यसैका उदाहरण हुन्। 

त्यही पुस्तकमा लेखक श्रीरामसिंह बस्नेत भन्छन्, ‘सुखद यौन जीवनका लागि प्रमुख आधार हो- मर्यादित यौन आचरण। यौनजन्य दुःख, कष्ट, बेइज्जत, आत्मग्लानि, अपराध, सजाय, तनाव, द्वन्द्व आदि सम्पूर्ण पीडा र बर्बादीको मूल कारण नै अमर्यादित यौन आचरण हो। यौनलाई यदि मर्यादित ढंगले उपयोग गरियो भने यो नै संसारको सर्वश्रेष्ठ आनन्द हो र यो नै सत्यम्, शिवम्, सुन्दरम् हो। तर यदि अमर्यादित ढंगको आचरण गरेमा वा दुरुपयोग गरिएमा यौन नै जीवनका लागि अभिशाप हुन्छ।’

यौनमा पाखण्ड
मानिस यौनले ओतप्रोत छ। किनकि, उसको उत्पत्ति (जन्म) नै यौनबाट भएको हो। यसैले ऊ यौनबाट अलग हुनै सक्दैन। एकछिन कल्पना गर्नुस् त- जीवनबाट यौन झिकिदिने हो भने यो संसार कति उराठलाग्दो हुन्थ्यो होला! स्त्री-पुरुषबीच कुनै आकर्षण वा मायाप्रेम हुन्थ्यो होला त?

तैपनि आफूलाई महान् र धार्मिक ठान्ने केही मानिस यौनलाई बर्जित विषय बनाउने प्रयास गर्छन् र आफू यौन आशक्तिबाट मुक्त रहेको नाटक गर्छन्। यो सरासर पाखण्ड हो। नत्र भारतका कथित आध्यात्मिक गुरु आसाराम बापु, नेपालका ‘बुद्ध’ रामबहादुर बम्जनहरू अन्ततः बलात्कार र यौन शोषणकै मुद्दामा जेल पर्ने थिएनन्। 

अतः यौनलाई निषेध गर्न सकिन्न, व्यवस्थित, अनुशासित र मर्यादित मात्र बनाउन सकिन्छ। 

यौनमा नैतिकता
कानुनले नै निषेध गरेको यौन सम्बन्ध त अनैतिक मात्र होइन, दण्डनीय अपराध नै भइहाल्यो। यसमा बहस गरिरहनै परेन।

तर यसबाहेकको अवस्थामा कस्तो शारीरिक सम्बन्धलाई नैतिक ठान्ने, कस्तोलाई अनैतिक? यो प्रश्न व्यक्तिको इमान्दारितासँग बढी सम्बन्धित देखिन्छ। उदाहरणका लागि पति वा पत्नीले परस्त्री वा परपुरुषसँग यौन सम्बन्ध राख्नुलाई कानुनले अवैध ठाने पनि अपराध नै भने मान्दैन। तर यसलाई सम्बन्ध विच्छेदका लागि ठूलो आधार मान्छ। यसर्थ यो व्यक्तिगत तवरमा अनैतिक सम्बन्ध हो। 

नेपालको कानुनअनुसार प्रलोभनमा पारेर वा झुक्याएर यौन सम्बन्ध राख्नु पनि बलात्कार नै हो। अतः ती ‘भलादमी’ले एनजीओमा जागिर लगाइदिने लोभ देखाएर महिनौँसम्म जुन यौन सम्बन्ध राखे, त्यो अनैतिक मात्र नभएर बलात्कार वा यौन शोषण नै हो भन्ने कुरामा दुईमत हुन सक्दैन। 

लेनिनले भनेका छन्, ‘हजारौँ गोलीका छर्राले नढलेको एक योद्धा यौनको लालसाले ढल्ने गर्छ।’

अतः ‘मौकामा चौका’ हान्नुअघि गम्भीर भएर सोच्नैपर्ने हुन्छ- जीवनमा यो यौनको ‘मूल्य’ कति पर्ला?

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad