ब्लग


काजीको गाउँ

काजीको गाउँ

लीलानाथ गौतम
मंसिर ९, २०८१ आइतबार ९:४६, काठमाडौँ

पूर्वी पहाडको ओखलढुंगामा पर्ने त्यो दुर्गम गाउँ बाह्र वर्षअघि पुग्दा बाटोघाटो खासै थिएन। स्वास्थ्य चौकी पनि टाढै। बिजुलीको तार पोलमा तन्किएर गाउँ उज्यालो पार्ने बल्ब भित्रिएकै थिएन। 

गाउँको एक मात्र प्राथमिक तहको सरकारी स्कुल भने आफ्ना कक्षाकोठाभरि अझ नअटेर ओस्रा र आँगनका डिलसम्मै अटेसमटेस विद्यार्थी राखेर भाषा र गणितका आधारभूत कुराहरू सिकाइरहेको थियो। कनीकनी चिच्याएर पढिरहेका बच्चाका सामूहिक ध्वनिले स्कुल टोल थर्कन्थ्यो, अनि गाउँ जिउँदो रहेको सबुत दिन्थ्यो।

पहाडका ससाना ती घरहरूमा तीनचार पुस्तासम्मका सहोदरहरू अटाइनअटाइ रमाएर बसेका देखिन्थे। गाउँको शिरदेखि पुछारसम्मका खेत, बारी, पाखो बारीसमेतका एउटा कोला र सुर्को पनि बाँझो देखिएको थिएन। बरू ती अन्न ऐश्वर्यले जीवन फुलाइरहेका थिए। वनपाखामा दाउरा घाँस गरिरहेका तरूनी तन्नेरीहरू लोकभाकामा लेकका जङ्गल घन्काइरहेका सुनिन्थे। 

करिब बाह्र वर्षको अन्तरालमा म ससुरालीतर्फको नाता सोझ्याउँदै त्यही रमाइलो पहाडी गाउँको सुन्दर विगतको न्यास्रो मेट्न दसैँको छेको पारेर टीका थापीमाग्न पुगेँ। हिले बाटो पनि ठिकठाक नै देखियो। एकसय पच्चीस सीसीको बाइक ठस ठसाउँदै दौडेकै थियो। अझ राजधानीसँग सिधै नाता गाँसेका सुपर भनिने गरेका बसहरू साँझबिहान धुलो उडाउँदै दौडने गरेका। बिजुलीको त्यान्द्रो लहराएर घरघरमा उज्ज्यालो फ्याँक्न पुगी सकेछन्। गाउँमा थोरै सहरको हावा लागेछ। विकासको सानो पुन्तुरो सुविधा बोकेर गाउँ छिरी सकेछ।

बिजुलीको उज्यालोले गाउँ उजिलिए पनि त्यहाँको वास्तविकताले भने मन बेस्कन अँध्यारियो। बितेका बाह्र वर्षमा त गाउँ धेरै उजाडिएर बिरानो भइसकेछ। भूकम्पपछि बनेका अर्धपक्की कलिला घरहरू मान्छे नपाएर रुग्ण र धरापजस्ता भएका। गाउँभरि घरहरू त थिए तर ती रित्ता र खण्डहर बन्दै रहेछन्। ती घरमा मुसा र माकुराको साम्राज्य फैलिएको पाएँ। सायद मुसा र माकुराहरू आफूलाई ती घरहरूका अकण्टक भोक्ता अझ चक्रवर्ती सम्राट ठान्दा हुन्।  

गाउँमा युवा र स–साना बच्चा जति नै आँखा तन्काएर खोज्दा पनि देखिएनन्। खेतका गह्रा र पाखोबारीका सुर्काहरू धेरैजसो बाँझिएका। कटुस र चिलाउनेका रुख अनि वनमारा घारीले धावा बोलेर कुनै समय अन्न ऐश्वर्य फलाउने ती खेतबारीका पाटाहरू लालपुर्जाको जामा लाएर बाँझै बसिरहेका। 

गाउँको एक मात्र शिक्षाको केन्द्र प्राथमिक स्कुल अब त तन्नेरी भएर तरुणहरूलाई पढाउने माध्यमिक तहको स्कुल बनिसक्यो होला भन्ठानेको थिएँ। कठै ! बबुरो स्कुल त पढिदिने मान्छे नपाएर सदाका लागि विश्राम लिएर गहिरो निद्रामा सुतेछ। परार सालसम्म शिशुकक्षामा पढ्ने एउटो बच्चो थियो रे ! उसैले स्कुलको घिटिघिटी सास जोगाइदिएको थियो रे ! शिशुकक्षाको दीक्षान्त लिएर ऊ पनि हिडेपछि स्कुलको प्राणपखेरु उडेछ। कुनै समयको सयौँ बच्चाको कोलाहलले जुरुक्कै उचालिने स्कुलको रित्ता कोठा र शून्य आँगन देख्दा मन नराम्ररी रोयो।  

बाँझा खेतबारी र ताला लागेको स्कुल अनि डुब्न लागेको घामजस्ता मानिसहरू मात्र देखिएको गाउँमा दिक्दार भई उराठिएर गाउँ डुल्दै गरेका बेला मैले बाटो छेउमा एउटा जिउँदो युवा देखेँ। मैले काजीलाई देखेँ। बाटो छेउको घरमा आँगनमा बामे सरिरहेका, कोही खेलिरहेका स्कुल जाने उमेर नपुगेका बच्चाहरू देखेँ। ती काजीका छोराछोरी रहेछन्। गाउँमा युवा र बच्चा बल्ल देख्न पाउँदा मन रमायो।

काजी आफ्नो घरको आँगनबाट एक कान्लो माथिको धुलाम्य सडकमा निस्कियो। सडकमा केही थान मान्छे बस कुरेर बसेका थिए। दसैँ मान्न सहर र विदेशबाट बाआमा भएको गाउँमा आएका ती पर्यटकजस्ता मान्छेहरू वृद्धावस्थाका बाउआमाको पसिनाले सकी नसकी उब्जाएका अर्गानिक खाध्य वस्तुको पोको पुन्तुरो बोकेर बस कुरिरहेका थिए। 

त्यो सानोतिनो भिडमा मैले फेरि थप युवा देखेँ, जो गाउँ छोड्न हतारिँदै थिए। एक छिनमा सुपर भनिने गरेको बस माथ्लो गाउँतिरबाट हुँइकिदै आइपुग्यो। काजीले गाउँ छोड्न हतारिएकालाई बसमा चढायो। तिनका सामान छतमा र डिकीमा हालिदियो। बस हिँड्नै लाग्दा कन्डक्टरले उसलाई कमिसनको पैसो दियो। उसले यात्रु र बसका स्टाफलाई शुभयात्राको कामना गर्‍उा् र बिदाइको हात हल्लायो। धुलो उडाउँदै बस गइसकेपछि ऊ मतिर हेरेर फिस्स हाँस्यो।

म उसलाई एकटकले हेरिरहेको थिएँ। ऊ सबैलाई गाडी चढाउँथ्यो तर आफू भने गाउँमै बस्थ्यो। ऊ गाउँको बुकिङ काउन्टर रहेछ। फिस्स हाँसीरहने काजी त्यस्तै वर्ष तिसेकको हुँदो हो। पातलो काँटको लाम्चो अनुहार भएको ऊ गोरो थियो। ऊ बडा मिजासिलो र गफ गर्न पनि सिपालु रहेछ। कुरा गर्दै जाँदा उसले गाउँ समाजको, आफ्नो क्षेत्रको माननीयको, बन्दै गरेको सडकको, सबैको कुरा गर्‍यो। मलाई उसका कुरा रसिला र मीठा लागे। एक घण्टाजति गफिएपछि ऊ खेत जान हतारियो। र, ‘साइँला बाजेको धान काट्नु छ’ भन्दै हिँड्यो।  

त्यो पहाडी गाउँमा नाता पर्ने मान्यजनको हातको टीका थाप्न गएको म साँझ खाना खाने बेला पाहुना लागेको घरमा गफिन थालेँ र कुरै कुरामा सोधेँ, यो काजी भन्ने मान्छे को हो? के गर्छ? कस्तो मान्छे हो? 

काजीको अलि अघिसम्म गाउँको सिरानमा जङ्गल नजिकै घर थियो। अहिले जग्गाको भाउ सस्तिएपछि गाउँको माझमा बाटो छेउमा सानोतिनो घर हालेर बसेको छ। बडा मिहिनेती छ बिचरा ! बिहान एकछिन् बसको टिकट काट्छ, मान्छेलाई बस चढाएर खेतबारीमा काम गर्न जान्छ। आफ्नो थोरै जमिन भएको ऊ प्राय अरुकै खेती ठेक्का÷बटिया गरेर बाँच्छ। ऊ आफू पनि बाँच्छ र हामीजस्तालाई पनि बचाउँछ। के गर्नु गाउँका लाठेहरूलाई सहर र विदेशले तानिहाल्यो। अहिले गाउँमा ऊ बाहेक उतिसारो युवा नै छैनन्। उसले जति भ्याउँछ गरेकै छ। अहिले गाउँ उसैले त धेरथोर थेगेको छ नि। 

काजीको बारेमा यति कुरा सुनिभ्याउँदा काजीप्रतिको मेरो सम्मान झन् चुलिँदै गयो। मलाई काजी हिरोजस्तो लाग्न थाल्यो।

दुई दिन बसेर गाउँबाट हिँड्ने बेला काजीसँग बिदाइ भेट गर्न मन लाग्यो। म उसको टोलतिर उक्लिएँ। बाटामा फेरि त्यही ताला लागेको प्राणशून्य स्कुल। स्कुल नजिकै खेलिदिने मान्छे नहुँदा निस्ताएका रोटेपिङ र लिङ्गेपिङ भेटिए (जो तीनै पाँच दिन दसैँ मान्न गाउँ आएकाहरूले बनाएर दसैँ नसकिँदै अलपत्र पारेर हिँडेका थिए)। म काजीको दैलोअघि पुगेँ र उसलाई बोलाउन थालेँ। भित्रबाट बुढो आवाज सुनियो। सायद काजीका बाउ होलान्। बुढाले भने, काजीका जोइपोइ त बिहानै बस गइसकेपछि घिमिरेका खेततिर लागेका छन्। धान भित्र्याउनु छ भन्दै थे। 

आफूले नायक ठानेको मान्छेलाई छुट्टिने बेला भेट्न नपाउँदा मन खिस्रिक्क भयो। यसो आँगनतिर नजर पुगेछ, आँगनमा काजीको छोरो भाँडाकुटी खेलिरहेको थियो। पिँढीनजिकैको झोलुङ्गोमा अर्को नानी हो या बाबु मस्त निदाइरहेको। आँगनमा खेलेका र झोलुङ्गोमा निदाइरहेका यी दुई निकट भविष्यका गाउँका ज्योतिलाई एक नजर देख्न पाउँदा पनि मन खुसी भयो। 

ठानेँ, अब अर्को वर्षदेखि काजीको बच्चा स्कुल जाने हुन्छ र त्यो गाउँको प्राथमिक स्कुलले एउटा बच्चा पाएसँगै स्कुल बौरिन्छ कि? अर्को सालदेखि निस्ताएको लिङ्गेपिङमा काजीको छोरोले चचहुइ खेल्छ कि? मनमा केही आशा र संशय बोकेर फेरि पनि यो गाउँ भेट्न आउने बाचा आफैँसँग गर्दै म गाउँबाट तलतल बाइकमा हुइकिन थालेँ, आफ्नै थातथलोतिर। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad