हामी सातजना दाजुभाइ। दिदीबहिनी चारजना। जम्मा एघारजना हामी।
यसलाई अलि अगाडिदेखि हेर्ने हो भने हाम्रा हजुरबाहरू सात भाइ। हामी कान्छाका सन्तान। हाम्रा बुवा र काकाका पुस्तामा जन्मिएका छोरा चारजना र छोरी दस बहिनी गरी जम्मा चौधजना। यसमा दुई छोरा र दुई छोरी सानैमा बितेछन्। जीवित सन्तानमा सबैभन्दा जेठो हाम्रो बा र सबैभन्दा कान्छो काका बा। बीचमा आठवटी छोरीको विवाहदान गर्नुभएछ, हजुरबा-हजुरआमाले।
बा पुस्ताका सातजना दिदीको घरमा हामी सबै पुगेका छौँ, रमाएका छौँ। सन्तानको यो परम्परा हामी छोराछोरीले धान्न सकेनौँ। हामी छोराहरूभन्दा दिदीबहिनी अलिक आँटिला देखिए। नत्र माइलो भाइका तीनवटासम्म हुन सके; बाँकी हामी छ भाइका दुई-दुईवटा सन्तान।
हाम्रा आमाहरू दुईवटी। सानैमा बितेकालाई के गणनामा ल्याउनू र! हामी जो हुर्कियौँ र अहिलेसम्म छौँ, एकातिर चार र अर्कातिर सातजना सन्तान हामी। हरेक व्यक्तिको अलगअलग व्यक्तित्व हुन्छ भनेर मान्ने हो भने हाम्रो पुस्तामा एउटा गृहस्थीमा एघारवटा व्यक्तित्व हुर्किँदै थियो।
एउटा घरमा एकै झमटमा एघार भारी घाँसको कल्पना गर्नोस्। एउटा घरको दाउराको खलियोमा एकै दिन एघार भारी दाउरा थपिएको कल्पना गर्नोस्। तर यस्ता कल्पनालाई कल्पनामै छाडिदिऊँ। किनभने, यही एघारजनामै थियो कोही सुकुलगुन्डा, कोही सुइँखुट्टी महाराज, कोही टपरटुँइया, कोही कामचोर, कोही भँडुवा, कोही डुहुरे नेता। यी सबै हाम्रा नाम।
यी नाम आर्जन गर्न विशिष्ट भूमिका सबैले देख्ने गरी निर्वाह गरेको हुनुपर्छ। जस्तो: एउटा भाइ एकपटक हर्पेबाट घिउ झिक्दाझिक्दै रंगेहात फेला पर्यो। उसको हातभरि घिउ लागेको थियो। उसलाई यथास्थितिमा ‘इजलास’मा उपस्थित गराइयो। ऊ आफै पनि मुसुमुसु हाँसेको थियो। भन्दै थियो, ‘तिमीहरूले घिउ चोरेको मैले नदेखेको हो र? नभनेको पो त।’
उसका लागि उचित नाम जुराउन हामी सबैलाई हम्मे भयो। नामका लागि कसैले प्रस्ताव ल्यायो ‘घ्यूचोर।’
यस्तो परम्परागत नाम कसरी स्वीकार हओस्। बहुमतबाट तत्कालै खारेज भयो। अर्कोले प्रस्ताव गर्यो, ‘घ्यूखाउँवा।’
कस्तो बेस्वादको नाम! त्यो स्वीकृत हुने सम्भावनै भएन। अर्कोले अजमायो, ‘लामहाते’। क्या झूर! यो झन् भएन।
यति धेरै मन्थन र अस्वीकृतिपछि त्यसको नाम रह्यो, ‘घ्यूकुमार’। यस नाममा बल्लबल्ल सहमति जुट्यो।
हामी बिहान काममा निस्किनुअघि आमाहरू घरको सबैभन्दा ठूलो भाँडामा सबैभन्दा सजिलो परिकार पकाउनु हुन्थ्यो, जाउलो। धेरै पानीमा थोरै चामल, अलिकति बेसार र नुन हालेर अँगेनामा ओदानमाथि बसाइदिएर आगो दन्काइदिएको केही समयपछि परिकार तयार।
भाँडो जत्रोसुकै होओस्; कहिल्यै उब्रिएन। अझ जाउलोमा थोरै घ्यू पनि हालिएको छ भने त्यो झन् सप्राङसप्राङ।
हरेकका भागमा हालिदिन घिउको मात्रा अलि बढी खर्च हुन्थ्यो। यसको साटो आमाहरू के गर्नुहुन्थ्यो भने पहिले भाँडामा अलिकति घिउ हाल्ने, त्यो खरिएपछि मेथी हाल्ने, मेथी पड्किएपछि चामल ओइरिने। अनि त्यसलाई भुट्ने। पानी, बेसार र नुनको मात्रा त उही हो। यसलाई हामी ‘मेथीजाउलो’ भनेर चिन्थ्यौँ। मेथीजाउलो पकाएको दिन जसले डाडु लिन्थ्यो, आफ्नो भागमा बढी हाल्थ्यो। अनि चल्थ्यो मारामार।
भाग नपाउने सबैले उसको पार्टीका सदस्यमाथि अन्धाधुन्ध मुड्की प्रहार गर्थे। आमाहरू आएर छुट्याउनुहुन्थ्यो। मेथी जाउलो पकाएको दिन कुनै न्यायप्रेमीको आग्रह हुन्थ्यो, ‘आमा आफै बाँडिदिनोस्।’
मेथीजाउलो जति मिठो हामीलाई केही नलाग्ने। मेथीजाउलो खान बसेका भाइबहिनीको टाउकामा ट्वाक्कट्वाक्क हिर्काएर लगत्तै सज्जन वा भलाद्मी हुन अनुकूलता मिलेको छ भने त त्यसको स्वाद केहीसँग तुलना हुनै सक्दैनथ्यो।
मेथीजाउलोको के कुरा? हामीलाई नमिठो नै केही नलाग्ने। जे पनि हारालुछ।
दिदी आफू र मलाई औँल्याएर हिजोअस्ति भन्दै हुनुहुन्थ्यो, ‘दुई-दुई फ्याङ्गा केरा त यसलाई र मलाई खाजा मात्र हुन्थ्यो!’
जाउलोको साटो कहिलेकाहीँ सखरखण्ड उसिनिदिनुहुन्थ्यो आमाले। यो झन् सजिलो! न नुन चाहियो न बेसार। पखाल्नुहुन्थ्यो र सबैभन्दा ठूलो भाँडोमा सखरखण्ड हालिसकेपछि थोरै पानी राखेर अँगेनामा बसाइदिनुहुन्थ्यो।
यो पाकेपछि राम्ररी सेलाउन पाउँदैनथ्यो; भाँडो रित्तिइहाल्थ्यो। सखरखण्ड उसै पनि चल्थ्यो। त्यसमाथि कोही मोहीसँग मुछ्ने, कोही दूधसँग। वास्तवमा सखरखण्ड हाम्रो परिवारमा लोकप्रिय खाजा थियो। यो धेरै उत्पादन हुन्थ्यो पनि।
यो पोलेर पनि खान मिल्ने। तर पोल्न लाग्दा अँगेनामा भुत्भुतेले पुरपार पारेर मात्र नहुने। नपाकुन्जेल रुँगेर बस्नुपर्ने। नत्र अर्कैले दाउ लगाउने। दाउ लगाउनेविरुद्ध एकदुई मुक्का मिल्यो भने मिल्यो, नत्र कुनै कारबाही नहुने। दाउ लगाउनेले जितेको जित्यै हुने।
माइलो भाइ जाउलो खाँदैनथ्यो। घिउ हालिदिए पनि नखाने। मेथीजाउलो पनि नखाने। जाउलो खाँदै नखाने। जाउलो मात्र होइन, गिलो भात पनि नखाने। अहिले पनि खाँदैन ऊ। हामी दाजुभाइमा पाक्कलामा निपुण उही। बरु ऊ सातु खाने, सखरखण्ड खाने, फापरको रोटी खाने तर जाउलो नखाने। हामीले कोदो र मकैको परिकार खासै खान पाएनौँ। खेतमा झरिने भएकाले हामीकहाँ मकै केही हुन्थ्यो। पोलेर, उसिनेर र भुटेर खान ठिक्क। कुनै साल सातु बनाउन पनि पुग्थ्यो; त्यति हो।
बरु तितेफापर उत्पादन हुन्थ्यो। यसको रोटी खान्थ्यौँ हामी। चिनीभन्दा सख्खर चलनचल्तीमा हुन्थ्यो। कि सख्खर कि नुन हालेर फापरको भुक्के रोटी पकाइन्थ्यो। दसैँ सकिएपछिका केही दिनसम्म चिउरा पनि हुन्थ्यो। चिउरा फुक्लै पनि चल्ने। भुटेर पनि चल्ने। सख्खर वा चिनीसँग पनि चल्ने। मोही, दूध र दहीसँग त झन् मज्जाले चल्ने। दही, चिउरा र केरा त हाम्रो फस्टक्लास खाजा।
घरनजिकै पसल र होटल नभएको ठाउँ र समयमा हुर्कियौँ हामी। ती दिनमा सिन्धुली माडीभन्दा हाम्रो नजिकको बजार हो, भिमान। अझ ठूलो बजारमा जानुपर्नेछ भने जनकपुर, वीरगन्ज र काठमाडौँ पुग्नुपर्थ्यो। भिमानबाट मोटर चढेर लालगढ वा बर्दिवास पुग्नुपर्थ्यो।
भिमानभन्दा सिन्धुली अपायक पर्ने हामीलाई। जिल्ला सदरमुकाम भएकाले सिन्धुलीमाढीले पटकपटक तान्थ्यो पनि। घरबाट यात्रामा निस्किँदा बाटामा खान भनेर बाआमाले केही सुहाउँदिलो खाजा बनाइदिनुहुन्थ्यो। यस्तो खाजामा प्रायः हुन्थ्यो, ढकने। घरबाट छलिनु के थियो, कसैले तत्वज्ञान प्राप्त गर्थ्यो र भन्थ्यो, ‘यो अतिरिक्त भारी बोकिहिँड्नुको कुनै तुक छैन। खाजा यहीँ खानुपर्छ।’
हामी यसरी खान सक्थ्यौँ, यति खान सक्थ्यौँ।
हामीकहाँ हाटबजार नाइँ। कतै कुनै चाडपर्वको सन्दर्भमा काटिन्थ्यो खसी। खसी काट्नुअघि कसले कति मासु उठाउने भन्ने टिपोट हुन्थ्यो र सबै मासु बिक्रीको मोटामोटी खाका निर्माण भएपछि मात्र खसी काटिन्थ्यो। यस्तोमा हाम्रो भागमा प्रायः रहन्थ्यो, दुई धार्नी। थोरै मासु हाम्रो परिवारमा भाग लगाउनै नपुग्ने। बा आफै पकाएर सबैलाई बाँडचुँड गर्नुहुन्थ्यो।
मूलघरबाट छुट्टिई भिन्न भएपछि दसैँमा धेरै वर्षसम्म दुइटा खसी काट्यौँ हामीले। दसैँका यी दिनमा एउटा भाइ खसीको बोसेआन्द्रा टन्न खान्थ्यो र अमन हुन्थ्यो। दसैँका बाँकी दिन ऊ मासु छुँदैछुँदैनथ्यो।
हजुरबा-हजुरआमा खेती उठाउने समयमा सिराहा जिल्लामा पर्ने बाखड जानुहुन्थ्यो र फर्किदा जनकपुर हुँदै फर्किनुहुन्थ्यो। अनि आफ्नो ठाइँला दाजुको जनकपुरको किशोरीनगरस्थित घरमा केही दिन बस्नुहुन्थ्यो। यहाँ बस्दाबस्दै दिनहरू हप्ता, हप्ताहरू महिना र महिनाहरू महिनौँ बनेर बित्न पनि सक्दथे।
ती दिनमा कपडा पसलका सन्दर्भमा जनकपुरमा माडबारी दाजुभाइ राधा र रामजीको राम्रो साख थियो। यी दुवैसँग हजुरबाको राम्रो चिनजान र सुदीर्घ कारोबार। यहीँ हुन्थ्यो घरायसी प्रयोजनका कपडाहरूको किनमेल। हामीलाई थानका थान कपडा चाहिने। त्यही परिमाणमा यिनै पसलमा कपडा किनिन्थ्यो। थानका कपडा सिलाउने समयमा मात्र टुक्रा पारिन्थ्यो। कपडा छेकाउन सुरु हुन्थ्यो, सबैभन्दा सानोबाट। त्यो क्रम माथिसम्म आउँथ्यो र केही कपडा उब्रिन्थ्यो। अनि एकै रङका हुन्थ्यौँ हामी। बोर्डिङ स्कुलले युनिफर्म सिलाउन सके हामीलाई हेरेर सिकेका हुन्।
नयाँ लुगा लगाउन पाउनु कम्ती रमाइलो विषय थिएन। जसको कपडा जसलाई पनि ठिक्कजस्तै हुन्थ्यो। अलिकति ठूलोसानो भए पनि लगाउनै नमिल्नेचाहिँ हुन्थेन। अझ रमाइलो त्यतिबेला हुन्थ्यो, जब कसैले आफ्नो होइन कि सुकिलो कपडाको खोजी गर्थ्यो। उसलाई सुकिलो भए पुग्यो, जसको भए पनि भयो।
संयोगवश दुई जोर सुकिला फेला परे भने एकजोर लगायो, अर्को जोर भकारीको कुनामा लुकायो। पछिलाई पनि भयो। यति भनेपछि भनिरहनैपरेन, माथिका नामहरूमा सुकुलगुन्डा ऊ छाडेर अरु को हुन सक्थ्यो र?
भकारीको कुनामा लुकाएको कपडामा केही दिनपछि मुसाले घरजम गर्थ्यो र बचेरा हुर्काउँथ्यो। अनि हामीबीच हाम्रो ‘सुकुलगुन्डा’ हाँसू कि रोऊँको अवस्थामा देखिन्थ्यो।
हिजोअस्ति सानु भन्दै थियो, ‘हामीलाई सन्तान पुगेनन्। थोरै भए। हाम्रा सन्तान पुलपुलिए। लाडप्यार बढी भयो यिनीहरूलाई। यिनीहरूले हामीले जस्तो परिवारभित्र विविध रङ देख्न/भोग्न पाएनन्। यिनीहरूलाई हामीले त्यो दिनै सकेनौँ। यिनीहरूसम्म आई नै पुगेन त्यो इन्द्रेणी। बेफ्वाँकमा डराएछौँ हामी। उसैउसै ‘उचित किसिमले हुर्काउन सक्दैनौँ’ भन्ने लागेछ। हामी हुर्कियौँ त! हाम्रा सन्तानमा खोइ हाम्रोजस्तो संघर्षशीलता। खोइ त्यो जुझारुपन? यिनीहरू दहजस्ता भए, कल्कलाउँदै बग्नुको स्वाद खोइ यिनीहरूको भागमा?’
हामी जो ठूलो जहानका बीच हुर्कियौँ, एक फरक स्वादसहित हुर्कियौँ।
Shares

प्रतिक्रिया